• १५ मंसिर २०८१, शनिबार

फोर्चे ठाँगाको मेजमानी

blog

ठिक २ बज्दा फोर्चे छोडेका थियौँ हामीले । बिहानभरि हिँडेको बाटो फोर्चेको गाउँभरि छरिएथ्यो । गाउँ पस्दै, निस्कँदै फेरि मूल बाटो आइपुग्यो । जोडिनु र चुँडिनुको अर्को नाम नै बाटो रहेछ । बिहानभरि हामीसँग डोरिएर आएको बाटोलाई उकालोमा उकालेँ, ओरोलामा ओरालेँ । अहिले त गाउँ भित्रिएलगत्तै मबाट चुँडिएर अन्तै गएथ्यो ।

म सोध्दै खोज्दै डोले, पाङ्बोचे जाने दोबाटोको पहेँलो सूचनापाटी हेरिरहँदा फेरि त्यहीँबाट आइपुगेथ्यो । रुखमुनिको घुम्ती भएर उत्तरतिर बाटो गयो । अर्को दक्षिणतिर दगु¥यो । पूर्वबाट आएको फराकिलो सडक पाङ्बोचे र डोले लेखिएतिर घुमिरह्यो ।

पूर्वी कुनामा अलिक धुवाँइरहेको फराकिलो घर थियो ।

“खाना खाने भए यता छ !” हामीले खानाबारे कुरा गरिरहेको सुनेपछि रातो लट्टे धागोले कपाल बाँधेकी शेर्पिनीले चासो राखिन् । “भनेको त हो तर... ।” हामीले उस्तै उस्तै खालका कुरा ग¥यौँ । अघि ल्हाक्पाले अमरलाई भातभान्साको उर्दी लगाएपछि धुवाँइरहेको घरकी शेर्पिनीको कुरा त्यत्तिकै सेलायो ।

कोरोनाले थला परेको समयकाल थियो । बल्लतल्ल हिजोआज तङ्ग्रिएर मुन्टो उठाउन खोज्दै थियो । फोर्चे पनि त्यही थलिएको अनुहारले थिरी थिरी गरिरहेथ्यो । त्यहीबेला हामी पुगेथ्यौँ फोर्चे । गाउँमा कोही नयाँ मान्छे टुप्लुकिए चुलो बाल्न लगाउलान् । दाउरा ठोस्न लगाउलान् वा भाँडोमा चामल हाल्न लगाउलान् कि भन्ने आशा पलाउने स्थिति थियो ।

“न रिल्दुक खाइयो ।”

“न खाप्से खाइयो ।”

“न सेक्पा खाइयो ।”

“फोर्चेबाट त्यत्तिकै बिदा भइयो त,” मैले ओरालीमा पुगेर भनेँ । मेरा छेउमा बिरु मगर थिए ।

“के घिउ लाने त ?” मगरले सोधे ।

हामी ओरालोतिर बत्तिएर गएको बाटोमा छौँ । ढुङ्गा र सुरिला बुट्यान बाटैभरि भेटिन्छन् । ढुङ्गाबाट हुत्तिए बुट्यान समाएर अडियोस् भनेर यस्तो विधि गरेको आँखाले ठान्दै छु । बाटो मोडिएर थोरै दक्षिणतिर लाग्यो । अलिक पाखो जस्तोमा आठ/नौ वटा याक र नाक चरिरहेथे । एउटा तन्नेरीले पाँच वटा जोप्क्योमा टन्नै भारी बोकाएर मास्तिर आएको थियो ।

ओरालोमा उभिएर तल तलको सङ्लो खोला हेरिरहेथेँ । अघि बाटोमा गोक्यो ताल जानेतिर यतै तेर्सिएथ्यो । पर पर एकान्त, खोँच, खोलाका बगर देखेर मनमनै गोक्यो लेक नाघेर हामी जाने रै’छौ कि जस्तो भइरहेथ्यो । अलिक कुइनेटोबाट देखियो फोर्चेको गुम्बा । 

पानी बिर्बिराइरहेको थियो । छिटो हिँड्ने हतारोमा अगाडि जानेहरूले उघारेका थिएनन् छाता । म त बेला बेला हिँडाइ घटाएर रोकिन्थेँ । अनि हत्केला आकाशतिर फर्काइदिन्थेँ । खोबिल्टोमा भेला भएको पानीले निधार र आँखा पुछ्थेँ ।


“यो मेरो चोखो कमाइ हो,” मेरा कुरा सुनेर बिरु पक्क पर्थे । बाटो ओरालो त थियो नै, त्यो ओरालोले मेरो छेपारीको जाँचसमेत गरिरहेथ्यो । त्यो जाँच विचार गरी नदिए मेरो खैरियत रहनेवाला थिएन । मसिना ढुङ्गामा खुट्टा सिलित्त सिलित्त चिप्लिन्थे । तीभन्दा झन् अप्ठ्यारा र डरलाग्दा लाग्थे मान्छेले टेकेर चिप्लिएका फग्लेँटाहरू । सजिलो होला भनेर टेकेलगत्तै फग्लेँटाबाट पिलित्त पिलित्त पैताला एक हात पर पुगेका थिए ।

वरिपरि हेरिरहेको छु । गजबले छरिएको छ हरियोपरियो । चारैतिर हरियालीबाहेक अरू देख्न गाह्रो परेको छ । छाता सानो छ तर टाउको र जुत्ता बचे, अरू मलाई पीर छैन । निकै दिन हिँड्नुपर्ने जुत्ता र सबै संसार सोच्ने टाउको पानीबाट बचे मलाई पुग्यो अहिलेलाई । यत्ति दुई कुरा खेलेका छन् मनमा ।

पानीले पखालेका पात चुँड्छु, गालामा दल्छु, “पातको थेरापी गरेको ।” संसार हेरिरहेका परेलीका सुकिला र चोखा पात दल्दा एउटा अनौठो भाव सर्सराउँछ नसा नसामा । मैले त्यही फरक स्वाद मुटुमा उम्रियोस् भनेर यसो गरेको थिएँ । फ्यात्त परेको रुख आयो । मैले त्यसका पात चुँडेर निधार पुछपाछ गरेँ । उनले हेरे मात्र । पात टिपेनन् ।

निकै तल पुगेर मैले पूर्वतिर देखिएको फोर्चेलाई फेरि हेरेँ । अलिक वरसम्म देखिएका उज्याला र सेता घर अहिले फेरि जङ्गलले छेक्यो । बरु च्याङ्ग्राका एक हुल र जोप्क्यो बथान मास्तिर दगुरेका देखिए । ती सँगै झ्याप्ले कुकुर अघिपछि लम्केका थिए ।

भित्तोबाट उछिट्टिएको ठुलो ढुङ्गा बाटोतिर हामफाल्न आइपुगेछ । त्यही बडो ढुङ्गोमा अडेसिएर एक जना धुम्म बसेर माला जपिरहेका भेटिए । म पनि पारि देखिएका घरले तानिएर रोकिएँ ।

त्यहीबेला तीन जना तरुनी टाउकोमा भारी बोकेर उक्लिए हाम्रैछेउ भएर । २५ देखि १८–२० वर्षका हुँदा हुन् ती तिन्टी ।

“सालीहरू कता हो ?” माला जपिरहेका 

भिनाजुले सोधे ।

“आलु लिएर आ’को ।” अलिक सानीले भनी ।

“अघि नै आलु उसिनेर रिल्दुक बनाउनुपर्ने । यो भिना खानलाई आइपुग्थ्यो,” उसले माला जप्तै सोध्न छोडेन ।

“ढिलो गर्दै नगरी सिधै गएर आलु उसिनिहाल । म यसो घुमेर आइपुग्छु,” भिनाले यतिन्जेलमा माला जपेर एक फन्को लगाइसकेथ्यो । जेठी अहिले फन्केर बोली, “आलु त त्यस्तै हो, बोक्रा पाउला ।” उनीहरू उकालो लाग्दै गर्दा मैले अधबैँसेलाई हेरेँ राम्रोसँग । ऊ आफ्नै तालमा फेरि माला जप्दै थियो । “यी सबै मेरा मित सालाका बहिनी हुन्, साली भन्छु म,” ऊ आनन्दले बोलिरहेथ्यो ।

“तपाईंले खुम्बिला देख्यो नि ? खुम्बिला हाम्रो भगवान् हो । खुम्बिलाले दुई जनासँग बिहे गरेथे । म जेठी, माइली, कान्छीलाई बिहे गरुँला भइहाल्छ नि । मान्छे भएपछि भगवान्भन्दा एक पाइला अघि हिँड्नु पर्छ,” अधबैँसे भिनाजु बोलिरहेथ्यो । मलाई उसका अरू कुराले छोएनन् ।

“मान्छे भएपछि भगवान्भन्दा एक पाइला अघि हिँड्नु पर्छ । मान्छेका शत्रु धेरै हुन्छन् । भगवान्का थोरै । धेरै शत्रु मिलाउन थोरै बिहेले पुग्दैन,” यो कुराले खुबै छोएथ्यो । म यी कुरालाई ओल्टाइपल्टाई, तलमाथि, देब्रेदाहिने र भित्रबाहिर सबै कुनाबाट पढ्न खोजिरहेको थिएँ ।

अलिक तल पुगेपछि बिरु हाँसे, “एउटीले त कन्सिरी र टुप्पी उखेल्न खोज्ने । तीन वटी नै ल्याउने रे... ।”

बिरु मेरा लागि अनौठा । म उनका लागि त्यत्तिकै अनौठो । धेरै वर्ष हिमाल उक्ले, चढे उनी । उनका कुरा आएपछि म चिउँडोमा हात राखेर सुन्थे । उनी हिमाल चढ्दा चढ्दा थाकेर अहिले काठढुङ्गाका काम गर्थे ।

हामी ओर्लिएको ओरालो खोलातिर झरिरहेको छ । खोलाका वारि र पारि घरको लस्कर देखिन्छ । वारिभन्दा पारि अलिक बढ्तै छन् जस्ताछाने घर ।

“यो कुन होला ?”

“गोक्यो तालबाट निस्केको खोला यो,” मगरले भने ।

त्यसो त अलिक अघि पश्चिमबाट अर्को गडगडाएर खसेको नदी थियो । खोल्सो जस्तो भए पनि खोलाभन्दा कमजोर थिएन तर गोक्यो लेकबाट निस्केको नदी भव्य, डरलाग्दो र छालैछालले भरिएको थियो । गर्जन पनि चर्कै, वेग पनि चर्कै र लहर पनि चर्कै देखिन्थ्यो ।

खोला तर्नुअघि उज्यालो घर टुप्लुकियो । यतै पो भातभान्साको तयारी होला भन्ठान्दै थिएँ । हामीलाई डाक्न भित्रबाट फुत्त निस्केलान् अमर सोच्दै थिएँ तर चालचुल देखै परेन ।  मुख पर्पराउँदै बोल्न थालेँ, “हिमाल चाहिँ कत्तिको जानुहुन्थ्यो ।” 

“कत्ति कत्ति । गन्ती गर्नै सक्तिनँ । गाउँबाट लुक्ला आउँदा एयरपोर्टमा कुइरेका ताँती हुन्थे । भारी बोक्यो कुदिहाल्यो । एकै दिनमा नाम्चे पुगिन्थ्यो । किलोका हिसाबले भारी बोकिन्थ्यो । धेरै भारी भए जाती लाग्थ्यो । सुरु सुरुमा कपडा, लुगा होला भनेर बोकियो । पछि पछि त मासुका पोका भन्ने थाहा पाएपछि रमाइलो लाग्थ्यो,” मगर सुनाइरहेथे ।

“सगरमाथाका आधार शिविरसम्म गइयो दुई÷चार पटक । हिँड्ने मान्छेलाई हिँड्न नपाउँदा बिरामी भए जत्तिकै हुने नि । सुरु सुरुमा रहर भयो, पछि त करैको नि ।”

बिरुले भनेको सुनिरहेथेँ, “सगरमाथा एकोहोरो चम्किरह्यो । सगरमाथा उक्लिन थालेपछि मात्रै अरू हिमालको नाम आउन थाल्यो नि । मैले धेरैपछि मात्र आमादब्लम, पुमोरी, गोक्यो रि, थामसेर्कु, कोङ्दे, मेहरा पिक, मेछरमो पिक, निरेखा पिकको नाम सुनेको हुँ ।” “लोबुचे, नुप्से, ल्होत्से पनि पछि चम्केका हुन् । म बेस क्याम्पमा जाँदा अरू हिमालको नामै सुन्दिनथेँ ।”

मगरले गोक्यो खोलातिर हेरेर भने, “कुइरेका भारी बोक्यो एभरेस्ट एभरेस्ट, बेस क्याम्प बेस क्याम्प भन्यो । हत्तारिएर गयो अनि झटारिएर फर्कियो । नाम्चेमै बस्यो । त्यसै गरी बर्सौं बिते । पछि पछि पो लुक्लाबाटै आएका भरिया पनि बाटाबाटै छरिएर अरू हिमालतिर जान थाले । सुरु सुरुमा त म लुक्लाबाट नाम्चे पुगेर भारी बिसाउँथेँ अनि फेरि फर्किहाल्थेँ लुक्ला । दुई/चार पटक मास्तिर जाँदा पनि अरू हिमालको चासो कसैले दिएनन् पनि । हामीले पनि नबताएको हो कि ?”

खोलापारिबाट बुढाले हात हल्लाए । पानी अलिक बाक्लै छिट्यायो । दक्षिणबाट सेताम्मे छाल बोकेर उर्लिएको गोक्यो ताल, नदी उल्कैको थियो । 

पुल त¥यौँ । पुलका किनार भएर दक्षिणतिर गोक्यो लेक जाने बाटो अनकन्टार भिरतिर लम्कियो । त्यो बाटोसँगै मेरो मन पनि गयो । त्यसपछि पूर्वउत्तर गएको सुलुलु गोरेटोतिर लागेँ । मन पनि लुरु लुरु लर्कियो ।

पुल तरेर गोरटो लाग्दा पनि ठुलठुला ढुङ्गाको भित्तो भेटियो । खोलाछेउको भिरमा चिसा र कडा चट्टानले बाटो छेकुँला गरिरहेथे । “यो फोर्चे ठाँगा,” बिरुले ठाउँ चिनाए ।

हामी लम्किँदै झ्याम्म झ्याम्म रुखका हाँगा टेक्दै लम्किरह्यौँ । सुकिला सुकिला चार÷पाँच घरका लस्कर आए । गोरेटो पूर्वतिर हुत्तिइरह्यो । बाटोमास्तिरको भित्तो च्यापेर बनेका घर, पाखा र बारीमा फाट्टफुट्ट मान्छे टुप्लुकिन थाले ।

खोला देख्नेबित्तिकै पानी खान थालेको भए भुँडी त चिसोले डुमडुम्ती सुन्निथ्यो होला । त्यो चिसोले पेटभरि हावा नै हावा भयो होला । अनि मेरा लागि कष्टसाध्य हुन्थ्यो ।

खोला अलिक पर पर फिँजारिएर गयो । खोलाको तिरमा गरैगरा थिए । गरैपिच्छे चोठा उखेलिरहेका, आलु खनिरहेका तरुनातरुनी थिए । अलिक पर त बुढाबुढी पनि सुचिया खाँदै थिए ।

आलु खन्नेहरू अघि अघि थिए । तिनका पछि पछि थिए खनेका खेतका किरा फट्याङ्ग्रा खाइरहेका डाँफे मुनालका जोडी । अहो ! गजबले रत्तिएछन् मान्छेसँगै चराचुरुङ्गी पनि । नमारे, नझम्टे, नखेदे त तिनले नि मान्छेबाट पर पर पो किन हुनु छ र !

“भान्से पनि छुट्यो, भान्सा पनि छुट्यो कि ?” अमरले सम्झेर भने । किनभने खाना पकाउन लगाउँछु भनेर ऊ चम्केर गएको पनि निकैबेर भएथ्यो । कतै तुवालैपारिका घरमा खान र फर्किनु प¥यो भने अर्को हैरान हुन्थ्यो ।

एउटा ठुलो ढुङ्गामाथि छाता थियो । त्यसमुनि केही कुर्सी थिए । घर जाने मुखैमा बनेको सानो छाते रेस्टुराँ हेरेर रोकिएँ । “कतै त्यतै पाक्यो कि हाम्रो खाना,” नाकले सुघ्न खोजेँ । कानले कुनै कल्याङमल्याङ होला कि भनेर जान्न खोजेँ । आँखाले कुनै चालचुल छ कि भनेर बुझ्न खोजेँ । 

खोला झन् नजिकिएछ । मन फुकालेर कराइरहेथ्यो । उसको गर्जन मात्र थियो यहाँ तर खोलाका पिरेम, खोलाका आँसु, खोलाका पसिना, खोलाका वेदना र खोलाका सङ्घर्षका कुरा पनि त हुँदा हुन् नि यो झरझरभित्र, यो गडबडभित्र, यो छङछङभित्र ।

तल पसल र भान्सा रै’छ । मास्तिर ती भान्साका परिकार सजाउने र खाने तला रहेछ । सबै माथ्लै तलातिर लाग्यौँ । झोला बिसाएँ । ढाडको चिसो लुगा निचोरेँ । एक गिलास तातो पानी हातमा लिएर पारि हेर्न थालेँ । बिहान राम्रोसँग नदेखिएको अहिले रूप, यौवन र सौन्दर्यले सिँगारिएर देखा प¥यो । सेतैसेता, अग्ला, राम्रा, सुकिला र निकै भव्यताको ताँतीमा धनीमानी गाउँ भएर टुप्लुकियो फोर्चे । गाउँभरि लुङतर फिरफिराइरहेथे । राता, सेता, पहेँला, निला, हरिया रङ्गीबिरङ्गी लुङतर हावामा फर्फराएको देख्दा मनमा उज्यालो पोखियो ।

“आज के पाक्छ ?”

“भेजलाई च्याउ, ननभेजलाई लोकल भालेको सुकुटी,” अमरले उत्तर दिए । उनले चुलोमाथिका त्यान्द्राङतुन्द्रुङ याकका सुकुटी तल झारेर अर्को कराहीमा ओइरिन् । एक घण्टाभित्र भात पाकेपछि मास्तिरको टेबुलमा लहरै आएर सजिए– दाल, साग, च्याउ, भाले सुकुटी, चिज र सेर्कम । च्याउ, दाल र भात हालेँ मेजमानी परिकार । एउटा अकबरे खुर्सानी क¥याप्प टोकेर गाँस निलेँ फटाफट । 

“मुङ्ला पुग्न दुई घण्टा लाग्छ । त्यही सम्झेर खानु होला,” अमरले त्यसो भनेर भातका चपरी थपिरहे । सिमसिमे पानीले धोइरहेको र भुइँ कुहिराले छोपछाप पारिरहेथ्यो फोर्चे ठाँगालाई ।” 

  

Author

युवराज नयाँघरे