• १५ मंसिर २०८१, शनिबार

ढोका अझै बन्द नै छ (कथा)

blog

निस्किन त म घरबाट निस्केँ तर म निकै दोधारमा छु– जाउँ कि हतार गरेर वा अहिले नै नजाउँ । जुन ठाउँमा मान पाइने हो या तिरस्कार पाइने हो थाहा छैन, त्यो ठाउँमा जान सजिलो नहुँदोरहेछ । जाउँ, नजाउँको दोधारमा नै पनि मेरा पाइला अघि बढ्दै गए । हुन त त्यहाँ एक चोटि जानु मेरो दायित्व नै हो नैतिक दायित्व तर जो मान्छेले नैतिकताको परिभाषा नै राम्ररी बुझेको छैन । उसलाई यस्ता दायित्वको के नै अर्थ हुन्छ र ? जे होस्, म जानै हिँडेकी हुँ एक चोटि पुगेरै फर्किन्छु ।

बाटोमा मान्छेको ओहोरदोहोर राम्रै थियो । हिँड्दै जाँदा मेरो आँखा एउटी यौवनामा पुगेर टक्क रोकियो । शृङ्गार र आधुनिक पहिरनले उसलाई वास्तवमै निकै राम्री देखाएको थियो । मैले पनि आफ्ना जमानीका दिन सम्झिन पुगेँ । म पनि राम्री नै छु भन्थे सबैले जवानीमा । सोह्रसत्र वर्षको त्यो उमेर, पढाइ पनि राम्रै थियो । सोह्र वर्षमा नै उमेर ढाँटेर एसएलसी पास गरी म क्याम्पस गइसकेको थिएँ । टोलमा म सुन्दरतामा र पढाइमा चर्चाको विषय बनेको कुरा मलाई धेरै साथीहरूले सुनाउँथे । लिपस्टिक, स्नो पाउडर लगाउने रहर मलाई पनि लाग्थ्यो, जिन्सको टाइट पाइन्टको सपना मैले पनि देखेकी थिएँ तर मेरो बुवालाई त्यस्तो उत्ताउलो भएर हिँडेको विल्कुलै मन पर्दैन थियो र म त्यस्ता सम्पूर्ण शृङ्गार र पहिरनबाट प्रतिबन्धित थिएँ । त्यतिबेला मैले बुबाको वास्तविकतालाई महसुस गर्नै सकिन छु । एउटा खरदारको जागीरले घर चलाउने कि, छोरी पढाउने कि, शृङ्गारका सामग्री किन्न पैसा दिई छोरी सिँगार्ने ? यो बाध्यता मैले बुझ्नै नसकेको कुरा धेरैपछि मात्र मैले महसुस गरेँ । दिक्क लाग्छ आफ्नै सोचाइप्रति । 

क्याम्पसमा पनि, मेरो सादा लवाइखवाइ देखे पनि, मेरो रूप देखेरै मलाई पछ्याउने धेरै थिए । उनीहरूको बिज्ने हेराइ, सस्तो व्यवहार देख्दा त कहिले काहीँ पढाइ नै छोडिदिउँ झैँ लाग्थ्यो । तर पढ्नुबाहेक मसँग कुनै विकल्प नै थिएन । एउटा भएको दाजु पनि स्वास्नीको फरियामा बेरिएर आमाबुवा चिन्नै छोड्ने भएको थियो । बाआमाको पूरा आशा ममा नै केन्द्रित थियो । त्यसैले मलाई पच्छ्याउने आँखा, मलाई मन परेका आँखा, मेरो मनमा अटेका साथी सबैलाई नै बिर्सिएर, मनबाट हटाउन खोजेर, त्यो उमेरमा मनमा उम्लिने चाहना बैँसका ज्वारभाटालाई मनमै दबाएर म पढाइतिरै केन्द्रित भइरहँ । समय बित्न के बेर, मैले आइए सेकेन्ड डिभिजनमा पास गरेँ र बिए पढ्ने विचारमा थिएँ तर बुवाले यो कुरा मान्नु भएन र भन्नु भयो मैले तेरा लागि भनेर दुःखजिलो गरेरै पनि केही पैसा जोगाएर राखेको छु । अब तँ जवान भइसकिस् । मेरो पैसाले कि त तेरो पढाइ धान्न सक्छ कि त तेरो बिहे उतार्न सक्छ । म अब तेरा लागि केटा खोज्छु, खोज्न थाल्छु, तँ अब यसो घरको कामहरू आमासँग सिक्दै गर्नु, यत्रो उमेर यो पुल्पुलिएरै बित्यो अब व्यावहारिक बन्न सिक । 

मैले बाको कुरालाई काट्न सकिनँ । घरको हाम्रो आर्थिक अवस्था मैले पनि बुझेकै थिएँ । मैले बिए पढ्ने सपना देख्नै छोडिदिएँ । मन त रोयो आफ्नो बाध्यतामा तर मनलाई थाम्नुबाहेक अन्य केही विकल्प पनि त मसँग थिएन ।

एक दिन बाले मलाई बोलाउनुभयो कोठामा, त्यहाँ आमा र बाको पहिले नै केही कुरा भइसकेको मलाई आमाको अनुहारमा देखिएको चमकबाट नै अन्दाज भयो । बाले सिधा नै मैले तेरा लागि एउटा केटा खोजेको छु । चित्त बुझ्दो छ । सामाजिक, आर्थिक सबै दृष्टिले हाम्रो परिवारसँग मिल्दोजुल्दो छ । आज बेलुका तँलाई हेर्न आउने कुरा भएको छ । तँ अलि शृङ्गार गरेर बस्नू, यो केटा उम्काउनु हुन्न । मन एकदमै सम्म हुन पुग्यो । किंकर्तव्यविमूढ मैले केही बोल्न सकिनँ र नचाहेरै पनि सामान्य शृङ्गार गरेर बसिरहेँ । केटाको थरी थरीका अनुहार कल्पना गरेर । 

केटो भनाउँदा आयो, केही अरू पनि साथमा थिएँ । बाआमासँग के के कुरा गरे मैले सुनिनँ, सुन्न चाहेको पनि थिइनँ । मलाई बोलाइयो म मूर्तिवत्, कोठामा लागिएँ । हेर्ने हेराउने काम भयो । मैले केटालाई सामान्य रूपमा एक चोटि सरसर्ती हेरेँ । मनमा रोमाञ्चकता जन्माउने अनुहार पनि थिएन भने छिः नराम्रो भन्ने पनि लागेन । कुनै केटा मेरो सपनामा नभएको हुँदा पनि होला मैले त्यतिको मान्छेलाई नाइँ भन्न नै सकिनँ र उसले पनि मलाई राम्री नै देखेछ क्यारे हुन्छ भनी त्यतिखेर नै स्वीकृति जनाएछ । हेरेको पन्ध्र दिनभित्रै हाम्रो बिहे भयो । केही आफन्त बोलाइयो, उसका पनि केही मान्छे आएका थिए । गुह्येश्वरीको मन्दिरमा टीकाटालो गरी हाम्रो बिहे गराइयो ।

सुरुका दिन त रामाइलै लागेको थियो । मलाई निकै माया गरेकै थियो । जाँडरक्सीको कुनै कुलत थिएन । चार जना नन्दहरू पनि मसँग रिझिएका थिए । नौलो छँदा नौ पुला गाँस भने झैँ विस्तारै घरमा म बेढङ्गकी कोर्काली ठहरिँदै गएँ । दाइजो केही पनि ल्याइन । छोरीलाई बावु–आमाले रित्तो हात अन्माएछन्, रद्दी ठाउँ परेछ भन्ने हल्ला चलेको चाहिँ गाइँगुइँ सुनेकी थिएँ । नन्दहरूको कोठामा ठुलो ड्रेसिङ टेबल थियो र त्यहाँ शृङ्गारका लागि लिपपोत गर्ने धेरै सामग्रीहरू थिएँ । म पनि यौवना नै थिएँ । त्यही ड्रेसिङ, टेबलका सामान म पनि शृङ्गारका लागि प्रयोग गर्ने गर्थे । मेरो कोठामा भने शृङ्गारका लागि केवल स्नो, पाउडर र लिपस्टिकबाहेक केही थिएन । एउटा भित्तामा टाँसिएको ऐनमा हेरी मैले त्यही मात्र प्रयोग गर्न सक्थे । म नन्दहरूको कोठामा गएको कुरा नन्दहरूलाई चित्त बुझेको रहेनछ । मलाई कसैले केही भनेन प्रत्यक्षतः तर उनीहरूले मेरो उहाँलाई र सासूससुरालाई यो मान्छे हाम्रो कोठामा आउँछे, यताउता अघिनेर हेर्छे, शृङ्गारका सामान सबै चलाइदिन्छे, लिपस्टिक जुठो पारिदिन्छे यस्तो व्यवहार त रोक्नुप¥यो भनी भित्रभित्रै आगो सल्काएका रहेछन् । एक दिन नन्दहरू कलेज पढ्न गएको बेला नन्दहरूको कोठामा ताल्चा मारेको देखेर म अचम्ममा परेँ र सासूज्यूलाई मैयाँहरू कहाँ जानु भयो ? ढोकामा नै ताल्चा मारेर पो जानु भएछ त भनी सोधेँ । उहाँले के गर्ने ताल्चा नमारेर ? तिमी कोठाभित्र गएर छामछाम छुमछुम गर्ने, शृङ्गारका सामान यताउता पार्ने, लिपस्टिक जुठो बनाइदिने अनि के गरुन् त ? झैझगडा गर्ने कुरा आउँदैन, त्यसैले मैले नै बाहिर जाँदा ताल्चा लगाएर जाओ भनेका हुँ भनी एकदमै कपोलकल्पित एवं एकदमै परचव्रmी व्यवहार देखाउनुभयो । म भित्रभित्रै निकै मर्माहित भएँ । साहै्र चित्त दुख्यो, निकै रोएँ म कोठामा आएर । घरप्रति जति नै समर्पित भए पनि अर्काकी छोरी, अर्काकी छोरी नै ठानिँदो रहेछ । मन यति बिझाएको थियो कि जति नै नरोऊँ भने पनि मन दुःखी नै रह्यो र आँसु झरि नै रह्यो । बेलुका उहाँ आएपछि मैले दिउँसोको घटना उहाँलाई सुनाएर झन् भक्कानिएँ । उहाँले फकाउनु होला भन्ने ठुलो आशा मनमा थियो । तर उहाँले केवल तिमी बहिनीहरूको कोठामै किन जानु त, अब पाइलै नराखे भइगयो नि भनी सहजै विषयलाई टुङ्ग्याइदिनुभयो । उहाँको त्यो व्यवहार देखेर मलाई उहाँसँग कुनै विवाद गर्न र कुनै प्रतिव्रिmया देखाउन मन लागेन । मनमनै सोचेँ, म यो घरकी केही होइन, पराइकी छोरी पो हुँ किन म यो घरलाई मेरा घर झैँ ठान्छु ? त्यो दिनदेखि आफूलाई म एक्लो छु भन्ने लाग्दै गयो ।

त्यसपछिका दिनहरूमा नन्दहरूसँग बोलचाल नै बन्द प्रायः भयो । चाहिने कुराबाहेक अन्य कुरा हुनै छोड्यो । पहिला हुने झैँ घण्टौँका हाँसख्यालठट्टा हामीबिच ठ्याक्कै बन्द भयो । कोठामा ताल्चा मार्नुले नियमितता पायो । ससुरा दिनदिनभर साथीहरू कहाँ कौडा खेल्न जाने, सासू कोठामा बसेर रामनाम जप्दै बत्ती काटिरहने र श्रीमान् दिनभर अफिस जाने म त्यत्रो परिवार भएको घरमा नितान्त एक्लो अनुभव गर्न थालेँ । एक दिन सासूलाई म पनि हजुरसँगै बसेर बत्ती कात्छु नि भन्दा हुँदैन, तिमीले कातेको बत्ती मोटो हुन्छ । मलाई मोटो बत्ती मन पर्दैन भनी ठाडै इन्कार गरिदिनुभयो । जब कि उहाँले मैले कातेको बत्ती देख्नु नै भएको थिएन । उहाँको छोरीहरूप्रतिको पूर्वाग्रह स्पष्ट झल्किथ्यो, उहाँको बोलाइमा ।

घरदेखि मनै आत्तिइसकेको थियो । त्यसैले एक बेलुकी मैले उहाँसँग आफू घरदेखि आत्तिइसकेकी कुरा, आपूmले पनि कतै जागिर खाने विचार गरेको कुरा बनाउँद सहयोग गर्न अनुरोध गरेँ । मेरो यो कुरा सुनेर मसँग उल्टो जङ्गिन पो थाल्नु भयो । यत्रो घर छ, यतिका परिवार छन्, सबलाई रिझाएर बस्न नसक्ने तिमी जागिर खाएर के पो लछाछ्र्यौ र ? तिमीले गर्दा आमा, बहिनीहरू पनि टाढा हुन लागिसके । बस्न मन छ भने सबैलाई रिझाएर, सबैसँग झुकेर घरकी बुहारी नै बनी बस, नत्र तिमीलाई यही घरमा बस्नुपर्ने बाध्यता छैन । निर्णय तिम्रो हो, तिम्रो निर्णप्रति मलाई कुनै आपत्ति हुने छैन । 

उहाँको जवाफले म आकासबाट एकै चोटि पातालमा खसे झैँ भएँ । आँखा अगाडि अन्धकार नै छायो । खै के पाप गरेछु मैले केही बुझ्नै सकिनँ । त्यो रात रोएरै बित्यो । भोलिपल्ट घरमा केही नबोली बिहानै म माइती पुगेँ । आमाबासँग सबै दुःख पोखेर बेसरी रोएँ । आमा पनि रुनुभयो, बाको अनुहार पनि अँध्यारो भयो र जब मैले श्रीमान्ले यो घरमा बस्न सक्दिनस् भने छोडेर जा भन्नुभएको र त्यो घरमा म एक्लिएको वृत्तान्त उहाँहरूलाई सुनाएँ । उहाँहरू पनि स्तब्ध हुनुभयो । मेरो कुरा सुनेपछि बुवाले आफ्नो निर्णय सुनाउँदै भन्नुभयो, एक दुई महिना यहीँ आएर बस तर ज्वाइँलाई फकाउन चाहिँ फका बिहे भइसके कि छोरी माइतीमा धेरै बस्नु हुँदैन । समाजले कुरा काट्छ र समाजसँग त डराउनै पर्छ । उहाँको भनाइबाट म अब त्यहाँ धेरै बस्न नमिल्ने कुरा स्पष्ट बुझिन्थ्यो । म घरको न घाटको भन्ने अवस्थामा पुगेकी थिएँ ।

जसले जे भनून् मैले माइतीमा नै केही दिन बस्ने विचार गरेँ । उहाँ अवश्य मलाई कहाँ फर्काउन आइहाल्नु हुन्छ र त्यही बेला सामान्य घुर्की देखाई घुर्काई फर्किउँला भन्ने सोचमा थिएँ । दस, पन्ध्र, बिस गर्दै दिनहरू बित्दै गए । उहाँ आउनुभएन । दाजुभाइ नहुनुको पीडा त्यतिखेर अनुभव भयो । भइदिएको भए जाओ न, कुरा बुझी आओ न भन्न सकिन्थ्यो । डराई डराई मैले बिस्तारै बालाई एक चोटि यसो कुरा बुझ्ने हो कि भनी भने । बाको जबाफ सुनेपछि भने म एक्कासि छानाबाट खसे झैँ भए । म तेरो घरमा चाहिँ जान्नँ, त्यो घरले मेरो धेरै चित्त दुःखाएको छ । धेरै वचन लगाएको छ । तैँले चित्त दुखाउलिस् भनेर मैले भनेको थिइनँ । बाले आँखामा टलपल आँसु लिँदै भन्नुभयो । तेरो बिहेमा मैले चाँदीको खड्कौलो, चाँदीको करुवासम्म नहाली गोडा धोँए रं । सम्धी सम्धिनीलाई भेटमा पनि सानो तिलहरी र दुई चार जोर लुगामा मात्र मैले सम्धिनी भेट सकेँ रे । सुकी जत्रो असर्फी हालेर सम्धीको अपमानित गरेँ  रे । सामान्य खाट, सोफा, दराजले मात्र दाइजो टारेँ रे । न टिभी, न फ्रिज यो त माग्नेको छोरीको बिहे झैँ पो भयो, बेइज्जती जस्तो भयो । त्यो परिवार हाम्रो योग्य नै रहेनछ भन्ने जस्ता यावत हल्ला आफन्त समाजमा फैलाइएको रहेछ । म भने यो सब कुरासँग अनभिज्ञ, पूर्णत अनभिज्ञ नै थिएँ । त्यति सुनेपछि मलाई बुझ्न गाह्रो भएन कि किन नन्दहरूले कोठामा ताल्चा लगाएका हुन् ? किन सासूज्यूले मलाई बत्तीसमेत कात्न नदिएकी हुन्, किन सासूले घरमा हुँदा पनि मिठा कुरा नगरेकी हुन् र श्रीमान्ले पनि किन घरमा बस्न मन नभए जा भन्ने जस्ता व्यवहार गरेका हुन् । परिवारलाई मभन्दा पनि बढी सजावट र सम्पत्तिको खाँचो रहेछ । 

त्यसको अगाडि भर्खरकी केटीको भावनाको कुनै कदर नै रहेनछ भन्ने स्पष्ट बुझे । जब त्यति बुझेँ म पनि त्यो घरसँग कुनै सम्बन्ध नराख्ने र आत्मसम्मानका साथ बाँच्ने निर्णय गरी जागिर खोज्नेतिर लागेँ । मैले आफ्ना चिनेजानका सबैसँग सकभर यथायोग्य व्यवहार गरेकै कारण टोलका किरण सुवेदी दाइले मलाई मासिक तिस हजार दिने गरी उहाँकै स्कुलमा कक्षा ४ सम्मलाई सबै विषय पढाउने जागिर दिनुभयो । त्यस दिनदेखि म स्कुलकी म्याडम भनिन थालेँ । उमेरले त २५÷२६ वर्ष मात्र भए पनि मेरो सिउँदोमा सधैँ टल्किने त्यो रातो सिन्दुरले मलाई जवानीमै पनि मिस हुन दिएन, जवानी त के हो के मैले राम्ररी चिन्न बुझ्न नै पाइनँ, जब कि मैले पनि जवानी भोगेकै हुँ । जवानी सुलभ कति सपना आँखामा थिए, मुटुमा यौवनका कैयौँ ज्वारभाटा थिए । ती सम्झँदा मनभित्रभित्रै कल्पिन्छ । आँखा रसाउँछन् तर जीवन सोचेको झैँ हुँदैन भन्ने सत्य पनि मलाई समयले चिनाइसकेको छ र म सपनामा भन्दा यथार्थमा चित्त बुझाउने भइसकेकी छु । त्यसपछि डेरामा सरेकी म घर र माइती दुवैबाट टाढै छु ।

सायद म प्रसङ्गबाट केही टाढिएँ क्यारे, म धेरै वर्षपछि ठुलीमाइजू मरेको खबर सुनेर किरियापुत्री भेट्न हिजो भुरुङखेल जाँदै थिएँ । रक्तकाली मन्दिरको छेउमै मैले एक जना अपरिचित मान्छेले उहाँलाई मात्तिएर हिँडेको अवस्थामा समात्दै हिँडाए झैँ देख्न पुगेँ । पहिले त विश्वास नै लागेन, टक्क अडेर नै हेरेँ । नभन्दै उहाँ नै हुनुहुँदो रहेछ त्यो पिएर मात्तिएको  मान्छे । दाह्री धेरै दिनदेखि काटिएको थिएन । दुब्लाएर गाला स्याप्पै नै भासिएको थियो । मान्छे पनि चिन्न सक्ने अवस्थामा हुनुहुन्थेन । न समाउन जानु न छोडेर हिँड्नु, म रणभुल्लमा परेँ । बेसुरकी भई अलि होसमा आउँदा उहाँहरू टाढा पुगिसक्नुभएको थियो । म कसरी मामाघर पुगेँ, के कुरा गरेँ र कसरी आफूलाई सामान्य बनाउन खोजेँ, त्यो नै मलाई राम्ररी सम्झना छैन ।

कोठामा आएपछि मलाई भोक पटक्कै लागेन । सम्झनाभरि उहाँ मात्र आइरहनुभयो । अरूले चुरोट, खैनी गुड्खा खाँदा पनि नरुचाउने मान्छे खै कसरी रक्सी खाने आँट गर्नुभयो, त्यो पनि टिल्ल भएर । के गरे ती बहिनीहरूले एउटै मात्र दाइका लागि ? के गरिन्, ती आफूलाई धर्मात्मी देखाउन दिनभर भगवान्को नाममा बत्ती काट्ने आमाले ? कौडा र पासामा दिन बिताउने बाबुको आँखा जुवाको खालबाहेक कहिले छोराको अनुहारमा परेन ? म आठ÷नौ वर्षसम्म टाढा बसेर पनि उहाँकै याद र उहाँकै मायामा बाँचिरहेँ, त्यो सिउँदोको सिन्दुर सम्झी रहेँ र हिजो मेरो त्यो सिन्दुर र मैलिन लागेको देख्दा आत्मा पनि मलिन झैँ लागिरहेको छ । म नचाहेर नै पनि रातभर रोइरहेँ । जागिर के गरे होला ? कसले पकाएर खुवाउँछ, होला न भोकभोकै नै सुत्छ कि जस्ता शङ्काका किराहरू मनभरि सल्बलाई रहे । जे होस् गल्ती मेरै होस् वा परिस्थितिको, म उहाँकहाँ बिहानै जाने निर्णय गरी हिजोको रात त्यतिकै अनिन्द्रामै बिताएँ । अहिले म करिब करिब उहाँको घरको ढोकामै पुगेकी छु । ढोका बन्द छ, ढकढक्याउने हिम्मत जुटाउन सकिरहेकी छैन । धेरै सम्भावित घटनाको कल्पनाले आतिरहेकी छु । 

उहाँले बहिनीहरूकै र आमाको कुरा अझै सुन्दै गरेको भए त त्यहाँ किन आइस् मेरो जिन्दगी बिगार्ने तै होस् भनी मलाई मात्तिएको सुरमा हातपात पनि गर्न सक्नु हुन्छ । टोलमा बेइज्जती पनि हुन सक्छ । होइन यो पनि मेरी स्वास्नी हो, यसको मानसिकता मैले नबुझेका कारण आज यो मसँग ज्यादै चित्त दुखाई टाढा जाने परिस्थिति जन्माइदिएको कि पनि हुन सक्छ । या उहाँको म निःसन्तान नै घरबाट निस्किन पुगेकी हुँदा अर्कै कुनै केटीसँग नै बिहे भइसकेको पनि हुनसक्छ । अर्कै छोरा छोरी पनि हुन सक्छन् । 

बहिनीहरूको बिहे नभएको पनि हुन सक्छ । उनीहरूले अर्को रडाको मच्चाउने सम्भावना पनि टाढा छैन । आठ÷नौ वर्षसम्म न उहाँले केही खोजखबर लिनुभयो न त मैले नै अपहेलित हुन र एक्लै बाँच्न बाध्यतामा पुगेको आवेगमा केही खबर बुझ्न आवश्यक ठानँे । यसरी दुवै पक्षबाट गल्ती भएको नै हो र त्यही जानी नजानी गरेको भूलको सजाय आज हामी दुवै पक्ष भोग्न बाध्य भयौँ । 

विवश छौँ, विगत सच्चिने अवस्था पनि छैन । मन एकदमै आत्तिइसकेको छ । छिमेकका कोही मान्छे भेटे पनि हुन्थ्यो नि भन्ने आशाले धेरै चोटि वरिपरि हेरिरहेँ । अहँ कोही देखिँदैनन् । म एकतमासको मन लिएर ढोकामा उभिरहेकी छु । यो त्रास कहिलेसम्म मनमा रहने हो र म उभिएर कतिबेर पछि हिम्मत जुटाउने हो ? ढोका अझै बन्द नै छ । मधुपर्क