• २४ मंसिर २०८१, सोमबार

अर्गानिक मल उद्योग सञ्चालन

blog

भैरहवा समाचारदाता

भैरहवा, मङ्सिर १५ गते । रुपन्देहीमा अर्गानिक मल उद्योग स्थापना भएको छ । मल अभावलाई कम गर्ने उद्देश्यसहित रोहिणी गाउँपालिकाको छिपागढमा अर्गानिक मल उद्योग स्थापना भएको हो । उद्योगले आफ्नो उत्पादन सुरु गरिसकेको छ ।

करिब ३० करोड लगानीमा उद्योगी सिद्धार्थ अग्रवालले रत्नम दानेदार अर्गानिक मल उद्योग स्थापना गर्नुभएको हो । ग्रो मोर फर्टिलाइजर एन्ड केमिकल प्रालि उद्योग स्थापना गरी उत्पादन गरिएको मल बजारमा आएको छ । 

हरेक वर्ष अन्नबाली लगाउने समयमा किसानले मल नपाउने गुनासोलाई आफ्नो उद्योगबाट उत्पादित मलखादले केही हदसम्म भए पनि सम्बोधन गर्ने उद्योगी अग्रवालको दाबी छ । माटोको उर्वराशक्ति बढाउन नाइट्रोजन, फस्फोरस र पोटासियम मुख्य तत्वसहितको मल उत्पादन गरी बजारमा ल्याएको उहाँले बताउनुभयो । पाँच बिघा क्षेत्रफलमा फैलिएको उद्योगमा दैनिक दुई सय मेट्रिक टन उत्पादन क्षमताको प्लान्ट जोडिएको छ । मलको गुणस्तर परीक्षण उद्योगको आफ्नै ल्याब र सरकारको आधिकारिक ल्याबमा पनि हुने गरेको अग्रवालले बताउनुभयो ।

नेपालसँगै भारतमा समेत निर्यात हुन थालेको बताउँदै उहाँले हाल बागमती, गण्डकी र मधेश प्रदेशमा मलको माग आइरहेको उल्लेख गर्नुभयो । हाल उद्योगमा ४० जना स्थानीय युवाले रोजगार पाएका छन् ।