• १५ मंसिर २०८१, शनिबार

जलविद्युतकाे लगानी स्वीकृत

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर १५ गते । लगानी बोर्डको बिहीबारको ६० औँ बोर्ड बैठकले बुढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारमा सम्पन्न बैठकले ३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् परियोजनाका लागि रु ७० अर्ब, १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् परियोजनाका लागि रु २३ अर्ब ५९ करोड र २१० मेगावाट क्षमताको चैनपुर सेती परियोजनाका लागि रु ४७ अर्ब ५४ करोड लगानी स्वीकृतिको निर्णय गरेको हो ।

यसै गरी बैठकले ३२७ मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी र सम्राट् सिमेन्ट कम्पनी प्रालिको म्याद थप गरेको छ भने पश्चिम सेती जलविद्युत् परियोजनाको क्षमता ७५० मेगावाटबाट बढाएर आठ सय मेगावाट बनाउने गरी म्याद थप तथा चार किल्ला जडित क्षेत्रको अनुमतिपत्र संशोधनको निर्णय गरेको छ । साथै माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको सेयर परिवर्तन र सम्झौतापत्र संशोधनको निर्णय गरिएको छ ।

बैठकमा प्रधानमन्त्री ओलीले सम्बन्धित निकायले समन्वयात्मक रूपमा काम गरी मुलुकमा लगानीको उचित वातावरणा सिर्जना गर्न र समृद्धिको यात्रामा तदारुकताका साथ काम गर्न आग्रह गर्नुभयो । बैठकमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले यसअघिको असोज २२ गतेको निर्णयका आधारमा बोर्डको रणनीतिक तथा व्यावसायिक योजनाको मसौदा तयार गरी सरोकार भएका पक्षसँग छलफल भइरहेको जानकारी गराउनुभयो ।