• १८ मंसिर २०८१, मङ्गलबार

'तीन तहको सरकारले बजेट विनियोजन गर्दा सुधार गर्नुपर्ने'

blog

कैलालीमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसको भवन शिलन्यास तथा स्मारिका विमोचन कार्यक्रममा मनतब्य राख्दै मुख्यमन्त्री शाह । तस्बिर : चाँदनी आचार्य

चाँदनी आचार्य

घोडाघोडी(कैलाली), मङ्सिर १४ गते । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले तीनै तहको सरकारले बजेट विनियोजन गर्दा सुधार गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसको शैक्षिक भवन शिलन्यास तथा स्मारिका बिमोचन कार्यक्रममा बोल्दै उक्त कुरा बताउनुभएको हो ।

स्पष्ट नीति र मापदण्ड नभएका कारण विभिन्न समस्याहरु आउने भएकाले स्पष्ट मापदण्ड, नीतिको आवश्यक रहेको मुख्यमन्त्री शाहको भनाइ थियोे । उहाँले स्पष्ट मापदण्ड र नीतिकालागि सबै तहका सरकारहरु जिम्मेवार हुनुपर्ने बताउनुभयो । सुदूरपश्चिम प्रदेश सरकारले स्पष्ट नीति र मापदण्डका लागि वित्त आयोगसँग समन्वगरी शुक्रबारमात्र उच्च स्तरीय आर्थिक सुझाव तथा समस्या समाधान समिति निर्माण गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “माध्यामिक तहसम्मको पालिका र उच्चशिक्षा प्रदेश सरकारलाई अधिकार दिएपनि स्पष्ट नीति र मापदण्ड नभएका कारण शिक्षा क्षेत्रबाट आउने धेरै समस्या समाधान गर्न सकिएको छैन ।”

प्रदेश सरकारले विनियोजन गर्ने बजेट आवश्यकता नभएको ठाउँमा विनियोजित हुदा आवश्यकता भएका योजना छुट्न गएको उल्लेख गर्दै मुख्यमन्त्री शाहले आगामी दिनमा बजेट विनियोजन आवश्यकताका आधारमा विनियोजन गरि सुधारेर लैजाने स्पष्ट पार्नुभयो ।

सुदूरपश्चिम प्रदेशका छवटा सामूदायिक क्याम्पसलाई आंगिक बनाउने सन्दर्भसमेत बजेट विनियोजन नभएका कारण हुननसकेको मुख्यमन्त्री शाहले बताउनुभयो ।

विश्वविद्यालय अनुदान आयोगको तीन करोड अनुदान सहयोगमा निर्माण हुने शैक्षिक भवनको मुख्यमन्त्री शाहले शिल्यान्यास गर्नुभएको छ । साथै उहाँले घोडाघोडी बहुमुखी क्याम्पसको मुखपत्र स्मारिकाको आठौं अंकको विमोचन समेत गर्नुभएको छ । 

कार्यक्रममा क्याम्पस प्रमुख लक्ष्मीप्रसाद भट्टराईले क्याम्पसका विभिन्न समस्या उजागर गर्दै मुख्यमन्त्री शाहलाई ज्ञापन पत्र बुझाउनुभएको छ । 

क्याम्पस सञ्चालक समिति अध्यक्ष विष्णुप्रसाद सापकोटाको सभाअध्यक्षतामा भएको कार्यक्रममा घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडकबहादुर रावत, उपप्रमुख गुलियाकुमारी चौधरी, वडाध्यक्षहरु, विभिन्न राजनीतिक दलका प्रतिनीधिलगायतको उपस्थिति थियो ।