• १८ मंसिर २०८१, मङ्गलबार

सिङ्गो गाउँ नै व्यावसायिक तरकारी खेतीमा

blog

पित्लेक नमुना कृषि गाँउ । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे
वालिङ, मङ्सिर १४ गते ।
पछिल्लो समय गाउँको खेतबारी बाँझै राखेर बजार झर्ने पद्धतिको विकास भइरहेको छ । गाउँमा भएको प्रसस्त जग्गा बाझै राखेर बजारको घरमा कौसी खेती गर्नेहरुको पनि कमी छैन ।

स्याङ्जाको वालिङ नगरपालिका–५ पित्लेकको भने फरक अवस्था छ । यहाँका स्थानीयवासी व्यावसायिक तरकारी खेतीमार्फत गाउँलाई नै नमुना बनाएका छन् । पित्लेकका नागरिक गाउँमा नै मौसमी तथा बेमौसमी तरकारी खेतीमार्फत मनग्य आम्दानी गर्न सफल भइरहेका छन् ।

२०५० सालमा यज्ञप्रसाद लामिछानेको करेसाबारीबाट सुरु भएको तरकारी खेतीले अहिले गाँउलाई नै तरकारीको नमुना गाउँका रुपमा परिचित बनाएको हो ।

२०७६ सालबाट गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ घोषणासँगै तरकारी उत्पादन तथा यसमा लाग्ने कृषकको सङ्ख्या पनि बढ्दै गएको कृषक रामप्रसाद लामिछाने बताउनुभयो । लामिछाने व्यावसायिक तरकारी खेती गर्दै आउनुभएको छ ।

कृषकहरुले जनकल्याण कृषि सहकारी संस्था स्थापना गरी सामूहिक उत्पादन र बजारीकरणको क्षेत्रमा काम गर्दै आइरहेकाछन् । १४२ घरधुरी सहकारी सदस्यमध्ये ७२ घरधुरीले पूर्णरुपमा व्यावसायिक तरकारीखेती गर्दै आएका संस्थाका प्रबन्धक हुमनाथ लामिछानेले जानकारी दिनुभयो ।

गाउँमा पानीको सहज उपलब्धता छैन तर पनि गाउँका स्थानीयवासीको मुख्य आम्दानीको स्रोत नै तरकारीखेती हो । विशेष गरी गोलभेंडा, बन्दा, काउली, सिमी, बोडी, अदुवालगायतका तरकारी यहाँका मुख्य उत्पादन हुन् ।

गाउँभरि टनेल मात्रै देखिन्छन् । टनेलभित्र मौसमी तथा बेमौसमी तरकारी फलिरहेका छन् । व्यापारीहरु तरिकारी लिनका लागि गाउँमा नै आइपुग्छन् । गाउँका ७२ घर परिवारले न्यूनतम वार्षिक एकसय क्विन्टलभन्दा बढी तरकारी उत्पादन गरी बिक्रीवितरण गर्ने गरेका छन् ।

गाउँबाट सहकारीमार्फत वार्षिक ७० मेट्रिक टनभन्दा बढी मौसमी तथा बेमौसमी तरकारी वालिङ, गल्याङ, स्याङ्जासँगै पोखरा तथा बुटवलमा खपत हुने गरेको प्रबन्धक लामिछानेको भनाइ छ । एक कृषकहरुले बार्षिक रुपमा कम्तीमा ६ देखि १५ लाखसम्म कमाउने गरेका छन् । कारोवारको हिसाबमा करोडौंको तरकारी बजारसम्म पुग्ने व्यवस्थापक लामिछानेको भनाइ छ । पित्लेकमा मात्रै वार्षिक रुपमा पाँच करोडभन्दा धेरै रकम भित्रिने उहाँले बताउनुभयो ।

तरकारी उत्पादन भए बजारको समस्या नरहेको कृषकको भनाइ छ । कृषक रामप्रसाद लामिछाने भन्नुहुन्छ, “उत्पादन भएका तरकारी नजिकैको वालिङ बजार तथा अन्य स्थानीय बजारमा खपत हुने गरेको छ, जागर हुनुपर्‍याे बजारको कुनै समस्या छैन ।”

पानीको अभावका कारण बाह्रैमास तरकारी लगाउन सकिने अवस्था नभएको कृषकको गुनासो छ । लिफ्टिङ गरिएको पानीले मान्छेका लागि खान तथा गाईवस्तुलाई खुवाउनका लागि ठिक्क छ, तरकारीमा सिँचाइ गर्न त निक्कै कठिनाइ छ तर पनि हामी गरिरहेका छौं कृषक भन्छन् ।

बजारसम्म पुग्नका लागि पक्की सडक निर्माण गरिएसँगै तरकारीको ढुवानीमा सहज भएको छ भने बिना विद्युतीय ग्राभिटी रोपवेले पनि ढुवानीमा सहजता भएको सहकारीका प्रबन्धक लामिछानेले बताउनुभयो ।