बुलबुले समाचारदाता
सुर्खेत, मङ्सिर १४ गते । कर्णाली प्रदेश सरकारले सबै पालिकालाई सडक सञ्जालमा जोड्ने लक्ष्य राखेको छ । अहिलेसम्म प्रदेशका ७९ वटा पालिकामध्ये ७५ वटा पालिका मात्र सडक सञ्जालमा जोडिएका छन् । चार वटा पालिका अझै सडक सञ्जालसँग जोडिएका छैनन् ।
सरकारले सबै पालिकालाई सडक सञ्जालमा जोड्न लागेको छ । चालु आर्थिक वर्षमा प्रदेशभरका सबै पालिकामा सडक पु¥याउने लक्ष्य अघि सारिएको छ । चालु आवको नीति तथा कार्यक्रम र बजेटमा समेटर सडक विस्तारको कामलाई प्राथमिकतामा राखिएको हो । कर्णाली प्रदेशभित्रका हालसम्म पनि सडक सञ्जालमा जोडिन बाँकी पालिकालाई सडक सञ्जालमा जोड्ने लक्ष्य सरकारले राखेको छ । आवश्यक बजेटको व्यवस्था गरेर पालिका केन्द्रसँग जोड्ने सडकलाई प्राथमिकतामा राखिएको प्रदेश सरकारले जनाएको छ ।
प्रदेश सरकारको २० प्रतिशत र विश्व बैङ्कको ८० प्रतिशत सहयोगमा सडक सञ्जाल विस्तार गर्न लागिएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जनाएको छ । चालु आवमा ठेक्का सम्झौता गरेर काम सुरु गरिने मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले बताउनुभयो । उहाँका अनुसार चार वटा पालिकामा सडक विस्तार हुन सकेको छैन । यो वर्ष सरकारले पालिका केन्द्रसम्म सडक विस्तार गर्न लागेको हो । कालीकोटको महावै गाउँपालिका, डोल्पाको छार्काताङ्सोङ् गाउँपालिका, डोल्पोबुद्ध गाउँपालिका र मुगुको कार्मारोङ गाउँपालिका सडक सञ्जालमा जोडिएका छैनन् ।
सरकारले चालु आवको नीति तथा कार्यक्रममै समेटेर सडक विस्तारको काम अघि बढाएको प्रदेश सरकारले जनाएको छ । बजेट अभाव, भौगोलिक विकटताका कारण चार पालिका सडकको पहुँचमा पुग्न नसकेका हुन् । सडक निर्माणको काम प्रादेशिक तथा स्थानीय सडक सुधार आयोजनाले गर्ने छ ।
दुई वटा पालिकामा यो वर्ष नै ठेक्का सम्झौता गरेर काम सुरु गरिने आयोजना प्रमुख हरिबहादुर ओलीले बताउनुभयो । उहाँका अनुसार कालीकोटको महाबै गाउँपालिका, डोल्पाको छार्काताङ्सेङ गाउँपालिकामा सडक विस्तार गर्न लागिएको हो ।
कालीकोटको महाबै गाउँपालिकाले यसअघि नै परियोजना विस्तृत प्रतिवेदन निर्माण गरिसकेको छ । उक्त प्रतिवेदनमा आयोजनाले अध्ययन गरिरहेको प्रमुख ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश सरकारको २० प्रतिशत र विश्व बैङ्कको ८० प्रतिशत लगानीमा सडक निर्माण गर्न लागिएको हो । उक्त पालिका केन्द्रसम्म पुग्ने सात किलोमिटर सडक निर्माण हुने छ । प्रदेश सरकारको एक करोड र विश्व बैङ्कको पाँच करोड बजेटमा सडक निर्माण गर्न लागिएको उहाँको भनाइ छ ।
यसै गरी पूर्वाधार विकास कार्यालय डोल्पाले समेत परियोजना विस्तृत प्रतिवेदन निर्माण गरेको छ । डोल्पाको छार्काताङ्सेङ् गाउँपालिका केन्द्रसम्म जोड्ने सडक परियोजना विस्तृत प्रतिवेदन निर्माण गरेको हो । प्रदेश सरकार र विश्व बैङ्कको संयुक्त लगानीमा पालिकासम्म जोड्ने सडक निर्माण गर्न लागिएको आयोजना प्रमुख ओलीले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाको केन्द्रसम्म जोड्ने करिब २२ किलोमिटर सडक निर्माण गर्न लागिएको हो । प्रदेश सरकारको एक करोड र विश्व बैङ्कको पाँच करोड रुपियाँमा सडक निर्माण गर्न लागिएको हो ।
यसैबिच कर्णाली प्रदेश सरकारले प्रादेशिक सडकको गुरुयोजना निर्माण गर्न लागेको छ । चालु आवको नीति तथा कार्यक्रम र बजेटमा समेटेर सडक गुरुयोजना निर्माणको काम अघि बढाउने भएको हो । विकासको मेरुदण्डका रूपमा रहेको पूर्वाधारलाई सन्तुलित, व्यवस्थित, प्रभावकारी, दिगो, भरपर्दो र सुरक्षित बनाउन पहिचान भएका प्रदेश लोकमार्ग तथा मार्गहरूको प्राथमिकीकरणसहित प्रादेशिक सडक गुरुयोजना निर्माण गर्न लागिएको हो ।
चालु आव २०८१/८२ को नीति तथा कार्यक्रम र बजेटमा समेटेर योजना कार्यान्वयन गर्न लागिएको सरकारले जनाएको छ । गुरुयोजना तयार गर्नका लागि चालु वर्षमा २५ लाख रुपियाँ बजेट विनियोजन गरिएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जनाएको छ । यो वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर योजना ल्याइएको मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले बताउनुभयो ।
प्रादेशिक सडकको गुरुयोजना बनाएपछि सडक पूर्वाधार निर्माण तथा मर्मतसम्भारका लागि प्रदेशको प्राथमिकता तय हुने सुवेदीले बताउनुभयो । प्रादेशिक सडकलाई व्यवस्थित गर्नका लागि गुरुयोजना बनाउन लागिएको उहाँको भनाइ छ । सडक निर्माण, मर्मत, सुधार, स्तरोन्नति तथा यातायात पहुँचको अवस्था र पुनर्निर्माण गर्नुपर्ने सडकको माग सङ्कलन, सडक यातायातसँग सम्बन्धित आवश्यक सेवा तथा सुविधाका लागि गुरुयोजनाले सहयोग पुग्ने प्रवक्ता सुवेदीले जानकारी दिनुभयो ।