तम्घास समाचारदाता
तम्घास, मङ्सिर १४ गते । गुल्मीको मुसीकोट नगरपालिका–१ मा वडाध्यक्षको उपनिर्वाचन मङ्सिर १६ गते हुँदै छ । जसका लागि आठ जना उम्मेदवार चुनावी मैदानमा छन् । दलहरूले आफ्नो पक्षमा मतदान गर्न मतदातालाई आग्रह गर्दै घरदैलो अभियानलाई तीव्रता दिएका छन् । उनीहरूले गाउँको विकासभन्दा पनि राजनीति गर्ने र व्यक्तिगत स्वार्थमा लाग्ने गरेको बताएका छन् ।
स्थानीय मतदाता ३६ वर्षीय मीना सुनारले अहिले राजनीतिक दलभन्दा पनि व्यक्तिलाई हेरेर मतदान गर्ने बताउनुभयो । वडाको विकास गर्ने योग्य उम्मेदवार छनोट गर्न नसक्दा समस्या आउने गरेको बताउँदै यस पटक गाउँको विकास गर्नेलाई भोट दिने उहाँको भनाइ छ ।
यस्तै स्थानीय ५८ वर्षीय बुद्ध घिमिरेले जसलाई भोट दिए पनि उस्तै त हो नि भन्दै राजनीतिप्रति आक्रोश व्यक्त गर्नुभयो । निर्वाचनको उत्साह नभए पनि गाउँको विकास र दलभन्दा माथि उठेर काम गर्नेलाई मतदान गर्ने उहाँले बताउनुभयो । मुख्य तीन दलका उम्मेदवारले आफूले निर्वाचन जित्ने दाबी गर्दै आएका छन् । नेपाली कांग्रेसका उम्मेदवार आनन्द श्रेष्ठले निर्वाचन जित्नेमा आफू ढुक्क भएको जिल्ला पार्टी सभापति खिलध्वज पन्थीको दाबी छ ।