मकवानपुर समाचारदाता
हेटौँडा, मङ्सिर १४ गते । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले खानेपानीलाई नागरिकको स्वास्थ्यसँग जोडेर योजना निर्माण गर्नुपर्ने बताउनुभएको छ । बागमती प्रदेशको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको आयोजनामा बिहीबारबाट हेटौँडामा सुरु भएको दुईदिने खानेपानी, सरसफाइ तथा स्वच्छता योजना तयारीसम्बन्धी प्रदेशस्तरीय अभिमुखीकरण गोष्ठीको उद्घाटन गर्दै उहाँले खानेपानीको स्वच्छता र गुणस्तरीयताका लागि स्वास्थ्यसँग जोडेर योजना निर्माण गर्नुपर्ने बताउनुभएको हो ।
उहाँले गुरुयोजनाबिना खानेपानीका योजना बन्दा यसले समस्या निम्त्याउने भन्दै विगतमा खानेपानीको उच्च माग रहेकोमा अहिले सडकको माग हुन थालेको बताउनुभयो । विगतमा चुनाव आयो कि खानेपानीका लागि पाइप मागिन्थ्यो, घरको बुइगलमा खानेपानीको पाइप भए पनि दिनैपर्ने अवस्था थियो, मुख्यमन्त्री लामाले भन्नुभयो, “नागरिकका लागि स्वच्छ खानेपानीको व्यवस्थापन गर्नु सरकारको जिम्मेवारी पनि हो । एक घर, एक धाराको नीतिप्रति प्रदेश सरकार प्रतिबद्ध छ र यसलाई कार्यान्वयन गर्छौं ।” उहाँले स्थानीय तहले खानेपानी आयोजनाको कामलाई प्राथमिकतामा राख्नुपर्ने र यसमा प्रतिबद्धता आवश्यक भएको भन्दै बजेट र योजना छरेर मात्र काम नहुने बताउनुभयो ।
उहाँले खानेपानीलाई स्वास्थ्यसँग नजोड्दा खानेपानीको गुणस्तरीयतामा प्रश्न आउने भन्दै सहरी क्षेत्रका खानेपानी लाइनको काम गर्दा सडक, टेलिकम, ढललगायतलाई एकीकृत गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्यामबहादुर खड्काले नागरिकलाई स्वच्छ खानेपानीको व्यवस्था गर्नु अनिवार्य भएको बताउँदै सङ्घीय ससर्तका योजना काटिएपछि त्यसको मार प्रदेशमा आएको बताउनुभयो । उहाँले योजनाहरू निर्माण र कार्यान्वयनमा तिनै तहको सरकारबिच समन्वय नरहेको भन्दै प्राथमिकता निर्धारण गरेर काम गर्नुपर्ने स्पष्ट गर्नुभयो । प्रदेश नीति तथा योजना आयोग बागमती प्रदेशका उपाध्यक्ष गङ्गादत्त नेपालले यसअघि बनाइएका खानेपानी, सरसफाइ तथा स्वच्छता योजनाको अवस्था नाजुक रहेको बताउँदै गत असोजमा गएको बाढीपहिरोले प्रदेशभित्रका खानेपानी आयोजनामा ठुलो क्षति पुगेको बताउनुभयो ।
बागमती प्रदेशका प्रमुख सचिव हरिप्रसाद लम्सालले स्थानीय तहले समयमा नै खानेपानी, सरसफाइ तथा स्वच्छता योजना बनाउनुपर्नेमा जोड दिँदै आफूसँग भएको स्रोतसाधनको अधिकतम प्रयोग गर्दै विकास आयोजना सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा मकवानपुरका जिल्ला समन्वय समितिका प्रमुख ललित घलान, अमेरिकाका लागि पूर्वनेपाली राजदूत डा. अर्जुन कार्की, प्रदेशको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयका सचिव मोहनकुमार शाक्यलगायतले प्रदेशको खानेपानीको अवस्थाको बारेमा चर्चा गर्नुभएको थियो । गोष्ठीमा रजित ओझा र नवीन अधिकारीले खानेपानी, सरसफाइ तथा स्वच्छता योजना र खानेपानी तथ सरसफाइको वर्तमान अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । शुक्रबारसम्म चल्ने गोष्ठीमा बागमती प्रदेशको मकवानपुरगढी, बकैया, कैलाश, तामाकोशी, गल्छी, गोदावरी, महाभारत, मेलुङ, गोदावरी, राक्सिराङलगायतका २२ स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीको सहभागिता रहेको छ ।