• १४ मंसिर २०८१, शुक्रबार

पदमार्ग निर्माण भएपछि सहज

blog

मञ्जुश्री गुफा, गुफा जाने पदमार्ग र हलेसी क्षेत्र । तस्बिर : राजकुमार भट्टराई

राजकुमार भट्टराई

खोटाङ, मङ्सिर १४ गते  । हलेसी क्षेत्रमा रहेको मञ्जुश्री गुफामा जाने पदमार्ग निर्माण गरिएको छ । त्रिधार्मिक स्थल हलेसीनजिकै रहेको मञ्जुश्री गुफामा जाने पदमार्ग निर्माण भएपछि भक्तजनलाई सहज भएको छ ।  

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७, महादेवस्थानमा अवस्थित त्रिधार्मिक स्थल हलेसी हिन्दु, बौद्ध र किराँत धर्मको आस्थाको केन्द्र हो । हलेसीमा दर्शन गर्न एवं अवलोकन गर्न विश्वका तीर्थालु पर्यटक आउने गरेका छन् । हलेसीसँगै नजिकै रहेका विभिन्न गुफामा पनि भक्तजन पुग्ने गरेका छन् । मञ्जुश्री गुफा जाने बाटो अत्यान्तै अप्ठ्यारो थियो । हाल पदमार्ग निर्माण भएसँगै यात्रा गर्न सहज भएको भक्तजनले बताएका छन् । मञ्जुश्री पदमार्ग आकर्षक निर्माण भएपछि उक्त क्षेत्र जाने पर्यटकको पनि वृद्धि हुने हलेसी तुवाचुङ नगरपालिकाले विश्वास लिएको छ । 

विशेष गरी हलेसीमा आएका बौद्ध धर्मावलम्बी अनिवार्य मञ्जुश्री गुफा जाने गरेका छन् । गुफा जाने बाटो अप्ठ्यारो हुँदा कैयौँ पटक भक्तजनलाई लडेर चोटपटक लागेकाले पदमार्ग निर्माण गरिएको नगरपालिकाका प्रमुख  विमला राईले बताउनुभयो । पदमार्गले हलेसी क्षेत्रको पर्यटन प्रवर्धनमा पनि मद्दत गर्ने उहाँको भनाइ छ । आकर्षक मञ्जुश्री पदमार्गमा फोटो, भिडियो खिच्नका लागि मात्रै पनि पर्यटक पुग्ने गरेको नगरप्रमुख राईले बताउनुभयो । आकर्षक ढुङ्गा बिछ्याएर ३६० मिटर लामो पदमार्ग निर्माण गरिएको छ । आकर्षक ढुङ्गाकै पर्खालसमेत लगाइएको छ । दुई मिटरदेखि पाँच मिटरसम्मको चौडाइ रहेको पदमार्ग टाढाबाट हेर्दा पनि आकर्षक देखिन्छ । 

मञ्जुश्री पदमार्गसँगै तुवाचुङ पदमार्ग, माङ्खिम घर निर्माणलगायतको संयुक्त साढे पाँच करोडको ठेक्काबाट मञ्जुश्री पदमार्ग निर्माण भएको हो । मञ्जुश्री पदमार्गको करिब ९५ प्रतिशत काम सम्पन्न भएको छ । हाल सोही पदमार्गबाट भक्तजन एवं पर्यटक आवतजावत गरिरहेका छन् । संयुक्त निर्माणको जिम्मा पाएको कर्णेल समृद्धि जेभीका प्रतिनिधि ध्रुव थापाका अनुसार तुवाचुङ पदमार्ग निर्माणको काम पनि धमाधम भइरहेको छ । माङ्खिम घर निर्माणको काम भने सुरु भएको छैन । सोही ठेक्काबाट वसाहथान खेल मैदानमा पर्खाल लगाउने काम पनि भएको उहाँको भनाइ छ ।