• १८ मंसिर २०८१, मङ्गलबार

महिला हिंसाविरुद्धको कथा मञ्चन

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर १४ गते । महिला हिंसाविरुद्धको १६ दिने अभियानको सन्दर्भमा कथाघेरा कौसी थिएटरले ‘ठिकै छ तर... वट वी राइज’ शीर्षकको नाटक मञ्चन गरेको छ । आकाङ्क्षा कार्की र सुदाम सिकेले निर्देशन गर्नुभएको उक्त नाटक विश्वका महिला (वाउ) अभियानले राजधानीमा आयोजित सांस्कृतिक र कला उत्सव कार्यक्रममा मञ्चन गरिएको हो । 

ठिकै छ तर.., नाटकले  समाजमा महिलाभित्रको पनि शारीरिक  अपाङ्गता, दृष्टिसम्बन्धी, होचापुड्का, कम श्रवणशक्ति भएकादेखि यौनिक अल्पसङ्ख्यकसम्मका कलाकार र अन्य कलाकारलाई समेटेर प्रशिक्षण दिई अवसर पाए जुनसुकै अवस्थामा पनि आवाज बुलन्द पार्दै अगाडि बढ्न सकिने दृष्टान्त देखाइएको छ । 

नाटकका निर्देशक आकाङ्क्षा कार्कीले विविधतायुक्त नेपाली समाजमा सवलाङ्गले मात्र होइन, अवसर पाए सबैले आआफ्नो क्षमतालाई प्रस्तुत गर्न सक्छन्, त्यस्तो अवसर पनि दिनुपर्ने बताउनुभयो । उहाँले कुनै पनि बहानामा हिंसा माफ हुन्न, हरेकले आफूलाई प्रमाणित गर्न, अवसर मञ्च भने आवश्यक हुन्छ भन्नुभयो । 

सो  नाटकमा कलाकारहरू शर्मिला विश्वकर्मा, सरिता थुलुङ, सुन्दरी मिश्र, शिल्पा ढुङ्गेल, निर्मला भण्डारी, पूजा अधिकारी, पूजाकुमारी वैश्य, अलिशा बादी श्रेष्ठ, नुशा लिङ्देन, भूमिका थारू, ऋच्मा गुरुङ, निहारिका काफ्लेले अभिनय गर्नुभएको थियो । सो नाटकका लागि कथाघेरा कौसी थिएटरका निर्देशक आकाङ्क्षा कार्की र सुदाम सिकेलाई लिथुबानियाका नागरिक लौरा कुटकाइटले पनि सघाउनुभएको थियो । कलाकार शर्मिला विश्वकर्माले एकमहिने नाटक कार्यशालामा नाटक विधा, अभिनय, कथाबारे धेरै कुरा सिक्न, नयाँ विधामा काम गर्ने अवसर मिलेको बताउनुभयो । 

नाटकले महिला तथा अपाङ्गता भएका, सीमान्तकृत वर्गका महिलाले भोग्न परेको कठिनाइ र चुनौतीलाई प्रस्ट पारेको छ । नाटकलाई आगामी दिनमा पनि विभिन्न समारोह र अवसरमा मञ्चन गर्ने कथाघेरा कौसी थिएटरले जनाएको छ ।