• १८ मंसिर २०८१, मङ्गलबार

वर्ल्डलिङ्कमा फिनल्यान्डको सरकारी कम्पनीको लगानी

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर १४ गते ।  इन्टरनेट सेवाप्रदायक वर्ल्डलिङ्क कम्युनिकेसन्सले फिनल्यान्डको सरकारी फन्डिङ कम्पनीको लगानी भित्र्याएको छ । 

फिनल्यान्डको सरकारी कम्पनी फिनफन्डले वर्ल्डलिङ्कमा करिब एक अर्ब ४० करोड रुपियाँ (एक करोड युरो) लगानी गरेको हो । 

राजधानीमा बिहीबार आयोजित एक कार्यक्रममा वर्ल्डलिङ्कका अध्यक्ष दिलीप अग्रवाल र फिनफन्डका तर्फबाट वरिष्ठ लगानी प्रबन्धक, डिजिटल इन्फ्रास्ट्रक्चर र समाधान पोर्टफोलियो प्रमुख कुट्टी किल्पेलेइनले लगानी सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । थपिएको लगानी फाइबर नेटवर्क विस्तारमा प्रयोग गरिने वल्र्डलिङ्कले जनाएको छ । 

त्यस्तै डेटा सेन्टर निर्माणको लक्ष्यलाई पनि यो सम्झौताले सहयोग पुग्ने कम्पनीले जनाएको छ । कम्पनीका अध्यक्ष अग्रवालले नेपालको हरेक कुनामा तीव्र इन्टरनेट पु¥याउने योजनामा फिनल्यान्डको लगानी महत्वपूर्ण कोसेढुङ्गा साबित हुने बताउनुभयो । उहाँले भन्नुभयो, “फाइबर नेटवर्क विस्तार गर्ने र विश्वस्तरीय डेटा सेन्टर स्थापना गरेर डिजिटल विभेद हटाउने लक्ष्यमा पनि यो सहयोगी हुने छ ।”

फिनफन्डका वरिष्ठ लगानी प्रबन्धक किल्पेलेइनले वर्ल्डलिङ्कको इन्टरनेट सेवा विस्तार गर्न नोकियाको उन्नत प्रविधि प्रयोग गर्ने बताउनुभयो । फिनिस प्रविधि तथा उपकरण निर्माता नोकिया र वर्ल्डलिङ्कको सहकार्यले कम्पनीका ग्राहकलाई मात्र नभई अन्य इन्टरनेट सेवाप्रदायकहरू, टेलिकम र सार्वजनिक तथा निजी क्षेत्रका संस्थालाई पनि फाइदा पुग्ने उहाँको भनाइ थियो ।

वर्ल्डलिङ्कले यसअघि पनि ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्ट (बिआइआई) र डोल्मा इम्प्याक्ट फन्ड (डिआइएफआइआई) मार्फत विदेशी लगानी भित्र्याएको थियो । विदेशी लगानी भित्र्याउने वल्र्डलिङ्क एउटा मात्र इन्टरनेट सेवाप्रदायक हो ।