राममणि दाहाल
हेटौँडा, मङ्सिर १३ गते । स्थानीय तह उपनिर्वाचन २०८१ अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नं. १२ मा हुने उपनिर्वाचनको क्रममा प्रचारप्रसारको अन्तिम दिन उम्मेदवार र राजनीति दलहरू मत माग्न व्यस्त छन् ।
दलहरूका उम्मेदवार, नेता, कार्यकर्ता र शुभचिन्तकसहित बिहानैदेखि घरदैलो, भेटघाट र कोणसभालाई तीव्रता दिएका छन् ।
यही मङ्सिर १६ गते हुने उपनिर्वाचनमा मत माग्न बागमती प्रदेशका पूर्व मुख्यमन्त्रीदेखि केन्द्रीय नेतासम्मको लस्कर चलेको छ ।
उपनिर्वाचनका लागि उम्मेदवारहरूले आफू निर्वाचित भएपछि गर्ने कामहरूको प्रतिबद्धतासहित वडाको टोल बस्तीमा पुगेर मतदातासमक्ष मत मागिरहेका छन् ।
प्रचारप्रसारको अन्तिम समयमा आइपुग्दा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लगायतका दलहरूले निर्वाचनको माहौल बनाउन र जनमत आफ्नो पक्षमा पार्न घरदैलो, कार्यकर्ता परिचालन, प्रचारप्रसारलगायतका चुनावी रणनीति अपनाएको देखिन्छ ।
उम्मेदवार र दलहरूले निर्वाचनमा आफूले जित्ने दाबीसहित प्रचारप्रसारमा लाग्दा वडा नं. १२ सँगै हेटौँडा उपमहानगरका चिया पसल र चौताराहरुमा चुनावी मत परिणामको आकलनसहित जोडघटाउ भइरहेको छ ।
स्वतन्त्रसहित १२ जना उम्मेदवार वडाबाट प्रवाह हुने सेवा सुविधालाई प्रभावकारी बनाउने र विकास निर्माणका मुद्दा अगाडि सारेर चुनावी मैदानमा होमिएका छन् ।
दल र उम्मेदवारहरूले चुनाव चिह्न, दलको झन्डा, माइकिङसहितका प्रचार सामग्री प्रयोग गरी ठुलो सङ्ख्यामा कार्यकर्ता उतारेर शक्ति प्रदर्शन गरिरहेका छन् ।
वडाको चोक, सडक र कतिपय घरहरू दलहरूको चुनाव चिह्न, दलको झन्डालगायतका प्रचार सामग्रीले रङ्गिएका छन् ।
मकवानपुरमा जिल्लामा एउटै वडामा मात्र निर्वाचन हुन लागेकाले बिहानैदेखि हिँड्ने कार्यकर्ताको खाना, खाजा, प्रचारप्रसारका कारण यो निर्वाचन अन्य आवधिक निर्वाचनभन्दा खर्चिलो हुने देखिएको छ । निर्वाचनमा सहभागी सबै दलहरू र उम्मेदवारहरूले सम्पर्क कार्यालय स्थापना गरी कार्यकर्ता परिचालन गरेका छन् ।
हेटौँडा उपमहानगरपालिका १२ को वडाध्यक्ष पदमा हुने उपनिर्वाचनमा आठ हजार ५३ मतदाता छन् ।
वडा नं. १२ मा प्रतिभा मावि सिक्रेनी र विष्णु ज्योति आधारभूत विद्यालय भोर्लेमा गरी दुई मतदान स्थल र मतदान केन्द्र नौ वटा रहेको छ ।
उपनिर्वाचनमा नेपाली कांग्रेसका अर्जुनप्रसाद तिवारी, नेकपा एमालेका राजेश नगरकोटी, नेकपा माओवादी केन्द्रका रविकुमार प्रधान, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रेमबहादुर भोलन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का आशावीर बल, जनता समाजवादी पार्टी नेपालका छविलाल वाइबा, नेकपा एकीकृत समाजवादीले बलराम बल, मङ्गोल नेपाल अर्गनाइजेसनका दीपा लामा र नेपाल मजदुर किसान पार्टीका फूलमाया तितुङ वडाध्यक्ष पदमा चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडाध्यक्ष पदमा चुनावी प्रतिस्पर्धामा स्वतन्त्र रूपमा अर्जुन घलान, गीताकुमारी नेवार र छत्रप्रकाश अधिकारी चुनावी प्रतिस्पर्धामा रहनुभएको छ ।
२०७९ वैशाखमा भएको निर्वाचनमा वडा नं. १२ को वडाध्यक्ष माओवादी केन्द्र, कांग्रेस र एमालेबिच तीव्र प्रतिस्पर्धा भएको थियो । यो पटक पनि यी तीन दलबिच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
वडाध्यक्षमा माओवादी केन्द्रबाट निर्वाचित ललितबहादुर घलानको एक हजार ३७१ मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिस्पर्धी कांग्रेसका अर्जुनप्रसाद तिवारीको एक हजार ३४०, एमालेका राजेश नगरकोटीले एक हजार ३२५ मत प्राप्त गर्नुभएको थियो । यस्तै राप्रपाका वडाध्यक्षका उम्मेदवार सरन सिं थिङको १८३ मत ल्याउनुभएको थियो ।
२०७९ वैशाखमा भएको निर्वाचनबाट वडाध्यक्षबाट निर्वाचित नेकपा माओवादी केन्द्रका ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष बन्नुभएपछि रिक्त हुन गएको वडाध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो ।