• १३ मंसिर २०८१, बिहिबार

धार्चेमा आधारभूत अस्पताल सञ्चालनमा

blog

उत्तरी गोरखाको धार्चे गाउँपालिका – ७ खोर्लाबेशीमा सञ्चालनमा आएको पाँच शय्याको आधारभूत अस्पताल । तस्बिर : गुणबहादुर रोका

गुणबहादुर रोका
सुलीकोट, मङ्सिर १३ गते ।
उत्तरी गोरखाको धार्चे गाउँपालिका – ७ खोर्लाबेंसीमा पाँच शय्याको  आधारभूत अस्पताल सञ्चालनमा आएको छ । सामान्य बिरामी हुँदा समेत गोरखा सदरमुकाम र आरुघाट झर्नुपर्ने बाध्यता अन्त्य गर्न धार्चे गाउँपालिकाको खोर्लाबेंसीमा आधारभूत अस्पताल सञ्चालनमा ल्याइएको हो ।

देशभरका सबै पालिकाहरुमा आधारभूत अस्पताल बनाउने सरकारको योजना अनुरुप धार्चे गाउँपालिका– ३ स्थित खोर्लाबेंसीमा अस्पताल निर्माण भएको हो । धार्चे गाउँपालिकाको ४० प्रतिशत र स्वीजरल्याण्डको अर्थ सी नामक संस्थाको ६० प्रतिशत लागत साझेदारीमा अस्पताल बनेको हो, प्रमुख प्रशासकिय अधिकृत काजीमान सुनारले भन्नुभयो, “आधारभूत अस्पतालमा कुल लागत दुई करोड २८ लाखमा निर्माण सम्पन्न भएको हो ।”

अस्पताल निर्माणका लागि २०७६ साल असोज १२ गते छायाँ नेपाल र गाउँपालिकाबिच सम्झौता भएको उहाँले बताउनुभयो । उहाँका अनुसार भवन निर्माण कार्य गत वर्ष नै सम्पन्न भएता पनि अस्पतालका लागि आवश्याक उपकरण खरीद र जडान गर्ने काम बाँकी नै रहेकाले अहिले भने अस्पतालमा आवश्याक सबै उपकरण व्यावस्थापन गरिएको धार्चे गाउँपालिकाले जनाएको छ ।

अहिले उक्त अस्पतालमा बुधबारबाट २४ घण्टा इमरजेन्सी सेबा, सामान्य चिकित्सक सेबा, ओपिडी सेबा, ल्याब सेवा, प्रसुति सेबा, दन्त सेवा, भ्याक्सिन सेवा, इसिजी एक्सरे सेवा, भिडियो एक्सरे सेवा तथा फार्मेसी सेबव दिँदै आएको बताइएको छ ।

उक्त अस्पतालमा जनशक्तिको रुपमा दुई जना मेडिकल अफिसर, तीन जना स्टाफनर्स, तीन जना हेल्थअसिसेन्ट, एक जना रेडियो ग्राफर, एक जना फार्मेसी असिसेन्ट, एक जना ल्याब टेक्निसियन, एक जना डेन्टल हाईजनिक, चार जना कार्यालय सहयोगी सेबा दिँदै आएको धार्चे गाउँपालिकाको अध्यक्ष लक्ष्मण गुरुङले बताउनुभयो ।

आधारभूत अस्पताल सञ्चालनमा आएसँगै धार्चे गाउँपालिका र चुमनुब्री गाउँपालिकाका स्थानियहरुलाई पनि स्वास्थ्य सेवा लिन निकै नै सहज भएको धार्चे गाउँपालिका – ७ का स्थानिय युवा राज गुरुङले बताउनुभयो । अस्पताल निर्माण सम्पन्न नहुँदासम्म धार्चे गाउँपालिकाका स्थानियहरुले स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य ईकाइबाट सेबा लिँदै आउनुभएकोमा अहिले भने पाँच शय्याको अस्पतालबाट सेवा लिन पाउँदा धार्चेवासी निकै खुशी भएको स्थानिय युवा गुरुङको भनाइ छ ।

‘‘उत्तरी गोरखाको धार्चे र चुमनुब्रीवासी नागरिकहरुलाई सबैभन्दा मुख्य समस्या बिरामी पर्दा सामान्य उपचार समेत गर्नका लागि लाखौ रुकम तिर्दा समेत हेलिकोप्टर समयमै आउन सक्ने अवस्था थिएन,’’ अध्यक्ष गुरुङले भन्नुभयो, ‘‘अब यो आधारभूत अस्पातल सञ्चालनमा आएसँगै उपचारमा आवश्याक सबै उपकरण व्यावस्थापन गरिएकाले पनि धेरै उपचार यहि अस्पतालमा सम्भव हुने विश्वास लिइएको छ ।”

यो अस्पताल बनेसँगै उत्तरी गोरखाबासी नागरिकहरुको समयमै उपचार र सामान्य उपचारका लागि हेलिकोप्टर झिकाएर बिरामी लिएर जानुपर्ने समय अन्त्य भएको धार्चे गाउँपालिकाले जनाएको छ ।