• १३ मंसिर २०८१, बिहिबार

परराष्ट्रमन्त्री डा. राणा चीन प्रस्थान

blog

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चीन प्रस्थान गर्नुहुँदै । तस्बिर : परराष्ट्रमन्त्रीको सचिवालय

काठमाडौं, मङ्सिर १३ गते । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा बिहीबार चीन प्रस्थान गर्नुभएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि उहाँ आज मध्याह्न त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

डा. राणा नेपालको परराष्ट्र मन्त्रीमा नियुक्त भएपछि पहिलो पटक चीन भ्रमणमा जानुभएको हो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर रा र मन्त्रालयका अधिकारीहरुले बिदाइ गर्नुभएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।

यस भ्रमणका क्रममा मन्त्री डा. राणाले चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ । सो भेटवार्ता शुक्रबार चीनको सिचुआन प्रान्तस्थित छेन्दु सहरमा हुनेछ ।  

चीनको औपचारिक भ्रमणका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भ्रमणको तयारीस्वरुप उहाँ चीन जानुभएको हो । प्रधानमन्त्री ओली अर्को साता चीन भ्रमणमा जाँदै हुनुहुन्छ ।

परराष्ट्रमन्त्री डा. राणा यही मङ्सिर १५ गते शनिबार नेपाल फर्कनुहुनेछ ।