बुलबुले समाचारदाता
सुर्खेत, मङ्सिर १२ गते । जाजरकोटदेखि जुम्ला जोड्ने सुरुङमार्ग निर्माणको काम अघि नबढ्ने भएको छ । दुरीका हिसाबले लामो र धेरै लागत लाग्ने भएपछि निर्माणको काम अघि नबढाउने निर्णयमा पुगिएको हो ।
यसअघि सुरुङमार्गको प्री–फिजिविलिटी अध्ययन गरिएको थियो । उक्त अध्ययनले थप काम गर्न उपयुक्त नभएको देखाएको छ । जाजरकोटदेखि जुम्लासम्म सुरुङमार्गको १० किलोमिटर दुरी छ । दुरीका हिसाबले लामो र लागत धेरै लाग्ने भएपछि काम अघि बढाउन समस्या भएको गुणस्तर तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
तत्काल थप प्रक्रिया अघि नबढाइने केन्द्रका इन्जिनियर प्रदीप भण्डारीले बताउनुभयो । उहाँका अनुसार गरिएको प्री–फिजिविलिटी अध्ययनले २९ अर्बको प्रारम्भिक लागत अनुमान निकालेको छ । सो लागत अनुरूप प्रतिफल नआउने भएपछि थप प्रक्रिया अघि नबढाइने उहाँले जानकारी दिनुभयो ।
१० किलोमिटर दुरी हुँदा काम अघि बढाउन थप समस्या भएको उहाँको भनाइ छ । सरकारले नै लामो दुरीमा रहेका सुरुङमार्ग निर्माणको काम अघि नबढाउन भनेको छ । लागत धेरै र न्यून प्रतिफल हुने भएपछि अध्ययनको काम अघि नबढ्ने भएको हो ।
करिब एक वर्ष लगाएर आयोजनाको ‘प्री–फिजिविलिटी’ अध्ययन गरिएको थियो । उक्त अध्ययनले काम गर्न उपयुक्त नभएको देखाएको छ । २०८० जेठमा सुरुङमार्ग निर्माणका लागि प्री–फिजिविलिटी अध्ययनको काम सुरु गरिएको थियो । २०७८ मा सुरुङमार्ग निर्माण गर्ने योजना अघि सारिएको थियो । सडक डिभिजन कार्यालय चौरजहारी रुकुमपश्चिमले त्यसका लागि स्थानसमेत उपयुक्त रहेको भन्दै फाइल खडा गरेको थियो । त्यतिबेला सामान्य अध्ययनका काम भएका थिए ।
विभागले २०८० जेठमा इटिको–टिएमएस–रेज जेभीसँग सुरुङमार्गको प्री–फिजिविलिटी अध्ययन सम्झौता गरेको थियो । अहिले उक्त अध्ययनको अन्तिम रिपोर्ट आएको छ । उक्त रिपोर्टले काम गर्न उपयुक्त नभएको देखाएपछि अन्य काम अघि बढ्ने छैनन् । सरकारले कुनै विकल्प देखाएर काम अघि बढाउन सक्ने छ । तत्काल भने काम अघि नबढ्ने भएको हो ।
करिब २९ अर्ब लागत अनुमान
जाजरकोट साङ्टाबाट र जुम्लाको इमिल्चाघारीसम्मको लम्बाइ करिब १० किलोमिटर छ । पर्यटन प्रवर्धन गर्ने उद्देश्य राखेर सुरुङमार्ग निर्माणको काम थालिएको थियो । प्री–फिजिविलिटी अध्ययनको काम सकिएको छ । अध्ययनको अन्तिम रिपोर्ट अनुसार करिब २९ अर्ब लागत अनुमान छ । अब सुरुङमार्ग निर्माणको बाँकी काम अघि बढ्ने छैन ।
प्रस्तावित सुरुङमार्गले जाजरकोटको कुसे गाउँपालिका–८, साङ्टादेखि जुम्लाको तातोपानी गाउँपालिका–८, इमिल्चाघारी जोड्ने लक्ष्य राखिएको थियो । सुरुङमार्ग निर्माण भए लुम्बिनी, दाङ, सल्यान, जाजरकोट, जुम्ला हुँदै रारा जोड्ने छोटो सर्किट अपेक्षा राखिएको थियो । गौरवको आयोजनाका रूपमा सुरुङमार्ग निर्माण योजना अघि सारिएको भएपछि अध्ययनले काम गर्न उपयुक्त नभएको देखाएको छ ।
दुरी र व्यापारका हिसाबले सुरुङमार्ग नै उपयुक्त विकल्पका रूपमा लिइएको बताउने गरिएको छ । कर्णाली प्रदेशको पर्यटन प्रवर्धनका लागि उक्त सुरुङमार्ग निर्माण थालिए पनि लामो दुरीका कारण काम अघि नबढ्ने भएको हो ।
सडकको दुरी छोट्याइ इन्धन बचत गर्ने, भौगोलिक रूपमा कठिनाइ र पहिरोको जोखिम भएका ठाउँमा सुरक्षित हुने भएकाले जाजरकोट–जुम्ला सुरुङमार्ग निर्माण थालिएको थियो तर सुरुकै अध्ययनले उपयुक्त नभएको देखाएको छ । सुरुङमार्ग निर्माणसँगै कर्णालीको व्यापारमा वृद्धि हुने अपेक्षा राखिएको पूर्वसांसद तथा माओवादी नेता नरेश भण्डारी बताउनुहुन्छ ।
दुरी लामो भए पनि खण्ड खण्डमा गरेर उक्त काम अघि बढाउनुपर्ने उहाँको भनाइ छ । यसबारेमा सरकारलाई पुनः अवगत गराउने उहाँले बताउनुभयो । रिपोर्ट अनुसार दुरी लामो भएर समस्या भएको भए पनि दुरी घटाएर काम गर्न सकिने उहाँको भनाइ छ ।