• ११ मंसिर २०८१, मङ्गलबार

राजमार्गका पुल निर्माण अन्तिम चरणमा

blog

मदन भण्डारी राजमार्गमा निर्माण गरिएको पुल । तस्बिर : तिलाचन पाण्डे

तम्घास समाचारदाता 

तम्घास, मङ्सिर ११ गते । मदन भण्डारी राजमार्गका खोलामा लामो समयसम्म पुल नहुँदा वर्षामा सवारीसाधनले खोला तर्न समस्या हुने गरेको थियो । अहिले ती खोलामा पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । 

तम्घासदेखि सिमलटारीसम्मका चार स्थानमा पक्की पुल निर्माण अन्तिम चरणमा पुगेको हो । जिल्ला सदरमुकाम तम्घासबाट पश्चिमतर्फ जाने मदन भण्डारी राजमार्गको हुलाके, धनार्जी, फूलबारी र घमिरका खहरेखोलामा पुल नबन्दा सानाठुला सवारीसाधन र पैदलयात्रुलाई समेत आवतजावत गर्न समस्या परेको थियो । 

पक्की पुलमध्ये हुलाके र फूलबारी खोलाको पुल सञ्चालनमा आइसकेका छन् । अरू दुई वटा पुल पनि केही समयमै सञ्चालनमा आउने तयारीमा छन् । जसले गर्दा सानाठुला सवारीसाधनलाई आउजाउ गर्न सहज भएको मालिका–६ का स्थानीय शोभाखर गिरीले बताउनुभयो ।    

चार वटा पुलमध्ये फूलबारी र घमिरखोलामा पुल निर्माणका लागि पन्त निर्माण सेवाले निर्माण कार्य गर्दै आएको छ । हुलाके र धनार्जी खोलामा पुल निर्माणका लागि सुनील समीर निर्माण सेवा प्रालि तम्घास, गुल्मीले निर्माण कार्य गर्दै आएको छ । पुल निर्माणमा निर्माण व्यवसायीले पटक पटक म्याद थपेर भए पनि यस पटक निर्माण कार्य अन्तिम चरणमा पुगेका छन् । 

चार वटै पुलको मुख्य निर्माण कार्य अन्तिम चरणमा पुगेको मदन भण्डारी राजमार्ग तम्घास कार्यालयका सूचना अधिकारी इन्जिनियर हुमानाथ पौडेलले जानकारी दिनुभयो । दुई वटा पुलको एप्रोज रोड र रिभर्टेजिङ काम धमाधम भइरहेको पौडेलले बताउनुभयो । घमिरखोलामा १५ मिटर लम्बाइको पुल निर्माणका लागि तीन करोड १३ लाख ८४ हजारको लागत रहेको छ । फूलबारी खोलामा २० मिटर लम्बाइको पुल निर्माणका लागि तीन करोड ३२ लाख ६८ हजार लागत रहेको छ । 

घमिरखोलाको ६५ प्रतिशत भौतिक प्रगति रहेको छ । फूलबारी खोलाको ९० प्रतिशत भौतिक प्रगति रहेको छ । धनार्जी रोधीखोलामा बन्ने ३५ मिटर लम्बाइको पुल निर्माणका लागि सात करोड ४८ हजार र हुलाकेखोलामा २५ मिटर लम्बाइको पुल निर्माणका लागि पाँच करोड ७९ लाख ५३ हजारको लागत रहेको छ । 

धनार्जीमा बन्ने पुलको भौतिक प्रगति ७० प्रतिशत रहेको छ । हुलाकेखोलाको पुलको ९० प्रतिशत भौतिक प्रगति रहेको छ । राजमार्गका चार वटा पक्की पुलको कुल लागत १९ करोड २६ लाख ५३ हजार रहेको छ । राजमार्ग भएर गुल्मी जिल्लाका पश्चिम भेगसँगै छिमेकी जिल्ला प्युठानसम्म पुग्ने सवारीसाधन आउजाउ गर्छन् ।