• १२ पुस २०८१, शुक्रबार

पृथ्वीराजमार्गको पूर्वीखण्डको म्याद थप

blog

दमौली बजारमा सडक विस्तारको काम गरिँँदै । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, मङ्सिर ११ गते ।
विस्तारका क्रममा रहेको पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वीखण्डको म्याद पाँच महिना थप भएको छ । निर्धारित समय समाप्त भएपछि म्याद थप गर्नका लागि निर्माण कम्पनीले आग्रह गरे बमोजिम दोस्रो पटक समय थप गरिएको हो । यस अघि पाँच महिना म्याद थप भएको थियो ।

सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन कठिन हुनु, निर्माण आरम्भमा ढिलाइ गर्नु, कोभिडको महामारीले काम गर्न समस्या हुनु, रुख कटान आदेश ढिलो गरी प्राप्त हुनु, विद्युत् लाइन, खानेपानीका पाइप सार्न समस्या हुनु लगायतले काम प्रभावित भएको थियो । आयोजनाका पूर्वीखण्डका सूचना अधिकारी इन्जिनियर विष्णुप्रसाद पाण्डले पाँच महिना म्याद थप भएको जानकारी दिनुभयो ।

हालसम्म समग्र भौतिक प्रगति ६८ प्रतिशत पुगेको उहाँले जानकारी दिनुभयो । पाण्डेले भन्नुभयो, ‘‘दोस्रो पटक गरी फागुन १ गते सम्मको म्याद थपिएको छ, निर्धारित समयमा पुरा गर्न कामलाई तीव्रता दिएका छौं ।’’

सदरमुकाम दमौलीमा सडक सीमाभित्र रहेका घर भत्काउन ढिलाइ भएकाले पनि काम प्रभावित भएकाले म्याद थप्नु परेको आयोजनाले जनाएको छ । गत वैशाखमा म्याद समाप्त भएपछि पाँच महिनाका लागि थपिएको थियो भने त्यसपछि पुनः थपिएको हो ।

पूर्वीखण्डको कामका लागि २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डमा धेरै भाग कालोपत्रे भइसकेको छ । दमौली र डुम्रेको सहरी खण्डमा बाहेक अब सबैतिरको सडक कालोपत्रे भइसकेको छ । ढल, नालाको काम पनि करिब अन्तिम चरणमा छ । दमौली र डुम्रेमा गरि जम्मा ७ किलोमिटर मात्र अहिले धुले सडकमा यात्रा गर्नुपर्छ । त्यसबाहेक अन्यत्र कतैपनि अहिले यात्रा अहसज छैन । डुम्रे नजिकैको चुनपहराको करिब तीन सय मिटरको काम बाँकी छ । विवाद भएकाले चुनपहराको काम प्रभवित भएको पाण्डेले जानकारी दिनुभयो । चुनपहराको बिबाद समाधान गरी काम सुरु गर्ने तयारी भइरहेको उहाँले  बताउनुभयो ।

आयोजनाका अनुसार ४१.४५ किमी यस खण्डमा तीन ठुला र चार साना पुल निर्माण गरिने छ । पूर्वीखण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । २०२६ सालमा रेखाङ्कन गरिएको यो सडकमा सवारी चाप बढेसँगै एसियाली विकास बैंक (एडीबी) को सहुलियत ब्याजको ऋण सहयोगमा पोखरा–आँबुखैरेनीसम्मको दुईलेन सडकलाई विस्तार गरी फराकिलो र स्तरीय बनाउन थालिएको हो ।

पूर्वीखण्डको छ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपियाँमा र पश्चिमखण्डको सात अर्ब ४० करोड ४६ लाखमा ठेक्का लागेको छ । यो रकम सडक विस्तारका लागि मात्र हो । त्यसबाहेक तनहुँको दमौलीस्थित मादीनदीमाथि पुल बनाउन एक अर्ब २० करोड र पोखरामा सेतीनदीमाथि पुल बनाउन थप एक अर्ब रुपियाँ लाग्नेछ । यसरी १५ अर्ब रुपियाँभन्दा बढी रकम राजमार्ग विस्तारमा खर्च हुँदैछ । सडक विस्तार गर्दा सडक सीमा दुईतर्फी २५–२५ मिटर हुने छ भने सहरी क्षेत्र बाक्लो बस्ती भएको स्थानमा ४१ मिटर चौडाइको सडक बन्ने छ । सडकको डिजाइन अनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक हुने छ ।  

पश्चिम खण्डमा एक तिहाई काम पूरा
यसैबिच पश्चिम खण्डमा एकतिहाई काम सकिएको छ । पश्चिम खण्डका लागि एकवर्ष म्याद थप्ने तयारी छ । पहिलो पटकको म्याद सकिएपछि दोस्रो पटकका लागि म्याद थप गर्न लागिएको हो ।

पश्चिमखण्ड (जामुने–पोखरा ३९ किलोमिटर) पनि अहिले विस्तार भइरहेको छ । पश्चिम खण्डमा भने २०२४ डिसेम्बर ६ सम्म ठेकेदारको नियमित समय बाँकी छ । तर ठेकेदार कम्पनिले २०२५ को डिसेम्बरसम्म म्याद थप्नका लागि प्रस्ताव गरेको पश्चिम खण्डका प्रमुख इन्जिनियर राजेश पौडेलले जानकारी दिनुभयो ।

पौडेलका अनुसार यस खण्डमा भौतिक प्रगति ३३ प्रतिशत छ । पश्चिम खण्डको ३९ किलोमिटर मध्ये २२ किलोमिटर एकतर्फी खण्ड कालोपत्रे भइसकेको छ ।  पश्चिमखण्डअन्तर्गत जामुनेबाट पोखरासम्म २०७८ जेठ २ गते सम्झौता भई भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यस खण्ड निर्माणको ठेक्का चिनियाँ कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ ।