• १० मंसिर २०८१, सोमबार

निःसन्तानपनको बढ्दो समस्या

blog

दम्पतीले परिवार नियोजनका कुनै पनि साधन प्रयोग नगरी एक वर्षसम्म प्रयास गर्दा पनि गर्भ रहेन भने त्यसलाई निःसन्तानपन भनिन्छ । नेपालमा पछिल्लो समय विभिन्न कारणले निःसन्तानपनको समस्या बढ्दै गएको पाइन्छ । सामान्यतः हरेक १० दम्पतीमध्ये एक जनामा निःसन्तानपनको समस्या रहेको पाइएको छ । दुई दशकअघि र पछिको तथ्याङ्क तुलना गर्ने हो भने पनि नेपालको कुल प्रजनन दर घट्दो क्रममा छ । जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले कुल प्रजनन दर प्रतिमहिला २.१ रहेको देखाएको थियो, जबकि सन् १९९६ मा यो दर ४.६ थियो । सहरी क्षेत्रमा प्रजनन दर अझ कम छ । सर्वेक्षण अनुसार सहरी क्षेत्रमा प्रतिमहिला दुई छ भने ग्रामीण क्षेत्रमा २.४ छ । विश्वमै पनि प्रजनन दर घटिरहेको छ । सन् २००० मा विश्वको प्रजनन दर प्रतिमहिला २.७ थियो भने अहिले २.३ छ । 

समस्याका कारण 

उमेर, खानपान, जीवनशैलीलगायतका कारण निःसन्तानपनको समस्या बढिरहेको पाइन्छ । आजकाल करिअरलाई प्राथमिकता दिँदा ढिलो बिहे गर्ने चलन बढ्दै गएको छ तर महिलाको उमेर जति बढ्दै जान्छ, प्रजनन क्षमता पनि उति नै घट्दै जान्छ । जसले गर्दा ३५ वर्षभन्दा माथिको उमेरका महिलामा निःसन्तानपन देखिने गरेको छ । यस्तै अस्वस्थकर खानपान, जङ्कफुडको बढी प्रयोग तथा वातावरणीय प्रदूषण पनि निःसन्तानपनको कारक मानिन्छन् । यसले गर्दा पुरुषको शुक्रकीटमा कमी आउने, महिलामा छिटो महिनावारी सुक्ने, अन्डाको सङ्ख्या तथा गुणस्तर घट्ने जस्ता समस्या निम्तिन सक्छन् । 

अर्कोतिर, आजकल महिला हुन् वा पुरुष, धूमपान तथा मद्यपान गर्ने क्रम बढेको छ । त्यसले पनि निःसन्तानपनको समस्या बढाउने गरेको छ । खानपान तथा जीवनशैलीका अतिरिक्त वातावरणीय प्रभाव पनि परिरहेको हुन्छ । आजकल महिलाहरू पनि पुरुषसरह काममा खटिइरहेका र तनावपूर्ण काम गरिरहेका हुन्छन्, जसको प्रभाव प्रजनन क्षमतामा पर्ने सम्भावना हुन्छ । यस्तै पुरुष संलग्न हुने केही पेसाजन्य क्रियाकलापले पनि प्रजनन क्षमतामा असर गरेको हुन्छ । जस्तो विकिरणमा काम गर्ने, कोइला उद्योग तथा तातो ठाउँमा काम गर्ने पुरुषको शुक्रकीटलाई असर गर्ने भएकाले निसन्तानपन उत्पन्न हुन्छ । 

अर्को भनेको पतिपत्नीबिचको दुरी हो । आजकल वैदेशिक रोजगारीको बाध्यताका कारण लामो समय पति पत्नीबिच दुरी रहेको हुन्छ । प्रजननका हिसाबले ऊर्जाशील समय अलग भएर बसेपछि सन्तान उत्पादनमा समेत असर गर्छ । मैले धेरै यस्ता बिरामी भेटेकी छु, जसका पति वर्षौंदेखि घर आएका छैनन् र सन्तान भएको छैन ।

यी त भए बाह्य कारण तर महिला तथा पुरुषको प्रजनन अङ्गमा आउने स्वास्थ्य समस्या पनि निःसन्तापनको कारक बन्छन् । महिलामा दोहोरिएर सङ्व्रmमण भयो भने पाठेघरको नलीमा अवरोध उत्पन्न हुन्छ भने महिनावारी पीडायुक्त हुने, पाठेघरमा सिस्टहरू पलाउने जस्ता कारणले निःसन्तानपन हुन्छ । यस्तै, कसै–कसैमा जन्मजात पाठेघर सानो हुन्छ भने जन्मजात नै अन्डाको गुणस्तर र सङ्ख्या नै कम हुने हुन्छ । पुरुषमा शुक्रकीटको उत्पादन कम हुने, लिङ्ग नै उत्तेजित नहुने, वीर्य नै नझर्ने, यौन सम्पर्क नै गर्न मन नलाग्ने जस्ता समस्याले प्रजनन क्षमतामा असर गरिरहेको हुन्छ । अर्को भनेको हाइपरटेन्सन, मधुमेह, दम जस्ता दीर्घरोगका लामो समय खाइने औषधीले पनि निःसन्तानको समस्या निम्तन्छ । 

आइभिएफ (इनभिट्रो फर्टिलाइजेसन) 

महिलाको अन्डा र पुरुषको शुक्रकीटलाई प्रयोगशालामा निषेचनमार्फत भ्रुणको विकास गरी पाठेघरमा राख्ने प्रक्रिया नै आइभिएफ हो । निःसन्तानपनको समस्या हुनेबित्तिकै सबैलाई आइभिएफ नै चाहिन्छ भन्ने जरुरी छैन । पहिले प्राकृतिक रूपमै गर्भधारण गर्न सक्ने गरी विभिन्न उपचार प्रक्रिया गरिन्छ तर जसको पाठेघरको दुवै पट्टिको नली अवरुद्ध छ वा दुई सन्तान भएपछि बन्ध्याकरण गरेका तर पुनः सन्तान जन्माउने इच्छा भएकाहरूलाई आइभिएफ गरिन्छ । पाठेघर तथा अन्डामा सिस्ट भएको र प्राकृतिक रूपमा गर्भधारणको प्रयास नै गर्न मिलेन भने आइभिएफ प्रक्रियामा जानु पर्छ । यस्तै, पुरुषमा शुक्रकीटको कमी छ भने आइभिएफ गरिन्छ । सामान्यतः ५० लाखभन्दा कम शुक्रकीट छ भने आइभिएफको सल्लाह दिइन्छ । महिलामा महिनावारी सुकेको छ भने दाताबाट अन्डा लिएर पनि आइभिएफ गर्न मिल्छ । 

आइभिएफ गर्ने तरिका 

सबैभन्दा पहिले महिला महिनावारी भएको दोस्रो दिनमा अन्डा बढाउनका लागि इन्जेक्सन दिइन्छ । अन्डा बढाउने प्रव्रिmयाका लागि कसैलाई १० र कसैलाई १२ दिनसम्म लाग्छ । इन्जेक्सन दिएपछि अन्डा बढिरहेको छ कि छैन भनेर नियमित परीक्षण गरिन्छ । १८ मिलिमिटरभन्दा ठुलो अन्डा भयो भने त्यसलाई परिपक्व बनाउन इन्जेक्सन दिइन्छ तर इन्जेक्सन दिएको अन्डा ३६ घन्टापछि फु्ट्छ । अन्डा नफु्ट्दै ३४ देखि ३६ घण्टाभित्र अर्थात् डेढ दिनभित्रमा बिरामीलाई बेहोस पारेर योनिबाट अल्ट्रासाउन्डमार्फत सिरिन्ज छिराएर अन्डा झिकिन्छ । यस बेला इम्ब्रोइलोजिस्ट, एनेस्थेसिस्ट, गाइनोकोलोजिस्ट तथा सहायकहरूको टिम नै चाहिन्छ । 

अन्डा झिकेपछि इम्ब्रोइलोजिस्टहरूलाई दिइन्छ । उनीहरूले त्यो अन्डाबाट फ्लुड निकाल्छन् । फोलिक नामको उक्त फ्लुड बच्चा बनाउन महत्वपूर्ण मानिन्छ । फोलिक तीन प्रकारका हुन्छन्–एम टु, एम वान र जिबी । बच्चा बनाउन काम लाग्ने भनेको एम टु मात्र हो, जसलाई म्याचुअर्ड फोलिकल भनिन्छ । अनि माइक्रोस्कोपमा एकातर्फ अन्डा र अर्कोतिर शुक्रकीट स्थिर बनाएर राखिन्छ र अण्डामा शुक्रकीट निषेचन गरिन्छ । यो प्रविधिलाई इक्सी अर्थात् इन्ट्रासाइटोप्लाज्मिक स्पर्म इन्जेक्सन भनिन्छ । त्यसपछि आमाको पेटमा हुने वातावरण तयार गरिएको इन्क्युबेटरमा राखिन्छ । भ्रुण राम्रो छ भने पाँच दिन र ठिकै छ भने पाँच दिनमा निकालेर पाठेघरमा राखिन्छ तर यसरी निषेचन गरिँदा भ्रुण बन्छ नै भनेर निश्चित हुँदैन । जस्तै १० वटा अन्डामा शुक्रकीट निषेचन गरियो भने कहिलेकाहीँ १० वटा नै भ्रुण बन्छ भने कसैको सात वटा, कसैको दुई वटा भ्रुण बन्छ । भ्रुण बन्ने कुरा अन्डा र शुक्रकीटको गुणस्तर कस्तो छ भन्नेमा भर पर्छ । अनि, प्रयोगशाला कस्तो छ, इम्ब्रोइलोजिस्ट कस्ता छन्, इन्क्युबेटर कस्तो छ जस्ता कुराले निर्धारण गर्छन् । 

भ्रूणलाई पाठेघरमा प्रत्यारोपण गर्ने तरिका पनि दुई प्रकारको हुन्छ । एउटा अन्डा झिकेको तीन दिन या पाँच दिनमा राख्ने । यसलाई फ्रेस एम्ब्राओ ट्रान्सफर भनिन्छ । अर्को भनेको फ्रोजन टान्सफर हो तर हामी फ्रेसभन्दा फ्रोजनमा जोड दिन्छौँ । त्यसका लागि तीनदेखि पाँच दिनमा बनेको भू्रणलाई माइनस १२० डिग्रीको तापक्रममा फ्रिज गरिन्छ । बिरामीलाई महिनावारी गराइन्छ । मुखबाट खाने औषधी पनि दिइन्छ र अबचाहिँ उपयुक्त छ भन्ने यकिन भएपछि फ्रोजन भ्रूण प्रत्यारोपण गरिन्छ । यो सबै प्रक्रिया गर्दा १७–१८ दिन लाग्छ । भ्रूण प्रत्यारोपणको १२ दिनपछि प्रेगनेन्सी टेस्ट गरिन्छ । अनि मात्र थाहा हुन्छ आइभिएफ सफल भयो कि भएन  भनेर । 

त्यसपछि बिरामीलाई घर पठाइन्छ तर हामी पूर्णतया बेड रेस्टभन्दा पनि घरको सानोतिनो काम गर्न नै सल्लाह दिन्छौँ तर गह्रौँ खालका काम गर्न मिल्दैन र धेरै कफी नखान पनि सल्लाह दिन्छौँ । यदि कुनै परिवारमा दीर्घरोग छ भने तयार भएको भ्रुणबाट सानो टुक्रा लिएर परीक्षण गरिन्छ, जसलाई प्रि–जेनेटिक टेस्टिङ अर्थात् पिजिटी भनिन्छ । यो परीक्षणबाट वंशाणुगत समस्या पत्ता लगाइयो भने समयमै त्यसको निदान गरेर स्वस्थ शिशु जन्म दिन सकिन्छ तर यो अलि महँगो हुने भएकाले सबैमा पिजिटी परीक्षण गरिँदैन । परीक्षण आवश्यक देखिएका र दम्पत्तिको अनुरोधमा मात्र गरिन्छ । विदेशमा भने आइभिएफका क्रममा पिजिटी परीक्षण अनिवार्य छ । तर, हामी बिरामीलाई आउनेबित्तिकै आइभिएफ गराउन बल गर्दैनौँ । सकभर प्राकृतिक रूपमै गर्भधारणका लागि उपाय अपनाइन्छ । अरू कुनै उपाय नभएको अवस्थामा मात्र आइभिएफको प्रक्रिया अगाडि बढाइन्छ । 

आइभिएफको सफलता चाहिँ महिलाको अन्डा, पुरुषको शुक्रकीट आदिमा भर पर्छ । समग्रमा सफलता दर ५० देखि ६० प्रतिशत हुन्छ । त्यसमा पनि शिशु जन्मने दर भनेको ३० प्रतिशत ४० प्रतिशत मात्र हो । बाँकी गर्भधारण र सन्तानलाई जन्म दिने प्रक्रियाका क्रममा केही समस्या आउन सक्छन् । आजकल ढिलो बिहे गर्ने, ढिला सन्तान जन्माउन चाहना राख्ने या पहिले करिअरलाई प्राथमिकता दिनेहरूले अन्डा र शुक्रकीट फ्रिज गरेर राख्ने चलन पनि बढेको छ । यसो गर्दा जुन उमेर छँदा अन्डा र शुक्रकीट फ्रिज गरेको हो, पछिसम्म पनि त्यही उमेर अनुसारकै रहन्छ र आवश्यक परेका बेला आइभिएफमार्फत शिशु जन्माउन सकिन्छ । 

Author

डा. ज्योति अग्रवाल