काठमाडौं, मङ्सिर ९ गते । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहसँग भेटवार्ता गरेको छ । उक्त कार्यक्रममा समूहका नवनिर्वाचित कार्यसमितिका सदस्यहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।
आइतबार संस्थाका अध्यक्ष प्रदीपराज वन्त नेतृत्वको १३ सदस्यीय टोलीले सिंहदरबारमा मन्त्री सिंहलाई नौ बुँदे ध्यानाकर्षणपत्र बुझाएको हो ।
ध्यानाकर्षणपत्रमा नेपालमा विभिन्न सञ्चार गृहहरूमा फोटो पत्रकारिता गर्ने फोटो पत्रकारहरूको हकहितका लागि सरकारका तर्फबाट आवश्यक सहयोग र फोटो सङ्ग्रहालयका लागि आवश्यक पहल गराइदिन उपप्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।
त्यस्तै, फोटो पत्रकारिताको माध्यमबाट जीविकोपार्जन गर्ने सम्पूर्ण फोटो पत्रकारहरूको बिमा तथा स्वास्थ्य सुरक्षा, फोटो पत्रकारहरूलाई व्यावसायिक तालिम दिन वार्षिक रूपमा बजेट नियमित र समय अनुसार अपडेट रहन फोटो पत्रकारहरूलाई आवश्यक क्यामेरा खरिद गर्न सहुलियत दरमा ऋण उपलब्ध गराउन पहल गरिदिन पनि ध्यानाकर्षण गराएको छ ।
नवनिर्वाचित राष्ट्रिय फोटो पत्रकार समूहको कार्यसमितिलाई सम्मान गर्दै मन्त्री सिंहले पत्रकारितामा फोटोको महत्त्व धेरै नै रहेको र फोटो पत्रकारहरूका लागि आफ्नो तर्फबाट सक्दो सहयोगका लागि पहल गर्ने बताउनुभयो ।