• ११ पुस २०८१, बिहिबार

उद्यमीहरूका लागि लगानीमैत्री वातावरण बनाइने

blog

रुख रोपेर दशौं राष्ट्रिय उद्योग दिवसको उद्घाटन गर्दे उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारी । तस्बिर : नवीन सुवेदी

नवीन सुवेदी

सुर्खेत, मङ्सिर ९ गते । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले उद्यमीहरूका लागि कर्णालीमा लगानीमैत्री वातावरण बनाउन सरकार लागि परेको बताउनुभएको छ । आइतबार दसौँ राष्ट्रिय उद्योग दिवसको अवसरमा सुर्खेतमा आयोजित मूल समारोहमा बोल्दै मन्त्री अधिकारीले यहाँको उत्पादनमा वृद्धि र रोजगारी सिर्जना गर्न लगानीको खाँचो रहेको बताउनुभयो। 

उहाँले यसका लागि अब बैङ्क तथा वित्तीय संस्थाहरूलाई बोलाएर छलफल चलाउने बताउनुभयो । उहाँले कानुनी जटिलतालाई हटाएर एकीकृत कानन निर्माण गर्ने उल्लेख गर्नुभयो । 

लघु औद्योगिक ग्राम सुर्खेतका अध्यक्ष उदिराम डाँगीले कर्णालीमा लगानी, पूर्वाधार र प्रविधिको अभाव भएको बताउनुभयो । उहाँले विद्युतको पावरले काम नगर्दा लघु तथा साना घरेलु उद्योगहरू सञ्चालनमा समस्या परेको भन्दै यसलाई समाधान गर्न सरकारको बैलेमा ध्यान जानुपर्ने उल्लेख गर्नुभयो । डाँगीले सर्टिफिकेट भएका मान्छेसँग सीप नभएको तर सर्टिफिकेट नभएका मान्छेहरूको सीप उपयोग गर्ने वातावरण नभएकोले कर्णालीको उत्पादनमा वृद्धि ल्याउन उद्यमी मैत्री लगानीमा ध्यान दिनुपर्ने बताउनुभयो ।

सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मण कँडेलले उद्यमशीलता कुनै पनि देशको आर्थिक विकासको मेरुदण्ड भएको बताउनुभयो । कर्णाली लघु तथा घरेलु उद्योगको ठुलो सम्भावना क्षेत्र भएको बताउँदै उहाँले उद्यमशीलताबाट मात्र श्रम, रोजगारी र उत्पादन बढ्ने जनाउनुभयो । 

उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतका निर्देशक पदम लामिछानेले कर्णालीका विभिन्न प्रकृतिका ४१ हजार उद्योग भएको जनाउँदै उद्यमशील संस्कृति आजको अपरिहार्य आवश्यकता भएको बताउनुभयो । उक्त कार्यक्रममा उद्योग क्षेत्रबाट कर्णालीको उद्यमशील संस्कृति र राष्ट्रको समृद्धिमा योगदान पुर्‍याउने उद्यमीहरूलाई सम्मान गरिएको थियो । वीरेन्द्रनगरको मंगलगडी चौकबाट र्‍याली लिकालेर बजार हुँदै उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको परिसरमा कार्यक्रम सम्पन्न भएको थियो ।