• १२ पुस २०८१, शुक्रबार

पञ्चकन्यालाई दोस्रो राष्ट्रपति रनिङ शिल्ड उपाधि

blog

रनिङ शिल्ड तथा बृहत् खेलकुद महोत्सवको उपाधि प्राप्त खेलाडी । तस्विरः अर्जुन काफ्ले

अर्जुन काफ्ले 

स्याङ्जा, मङसिर ९ गते । पञ्चकन्या माविले दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा बृहत् खेलकुद महोत्सवको उपाधि जितेको छ । अर्जुन चौपारी वडा –१ को पञ्चकन्याले २२ स्वर्ण, आठ रजत र चार काँस्य पदकका लगातार दोस्रो पटक रनिङ सिल्ड जितेको हो । 

५० स्वर्ण, ५० रजत र ५० काँस्य पदकमा भएको प्रतिस्पर्धामा घण्टे माविले नौ स्वर्ण, नौ रजत र पाँच कास्य पदक ल्याएर दोस्रो बनेको प्रमुख प्रशासकीय अधिकृत कौशल पाण्डेले जानाकारी दिनुभयो । 

महोत्सवमा तेस्रो बनेको अर्जुन चौपारी चिल्ड्रेन एकाडेमीले चार स्वर्ण, सात रजत र चार काँस्य पदक जितेको छ । अमरज्योतिले चार स्वर्ण, चार रजत र १० काँस्य पदक जितेको छ । 

महोत्सवमा पालिकाभित्र सबै नतिजामा सर्वोत्कृष्ट घण्टे माविलाई एक लाख, उत्कृष्ट जनमाविलाई ५० हजार प्रदान गरिएको थियो । यस्तै, कक्षा –१ देखि ५ सम्म उत्कृष्ट गणेश मावि र गाउँफर्क माविलाई ५०–५० हजार तथा कक्षा –१ देखि ३ सम्म उत्कृष्ट सूर्योदय आधारभूत विद्यालयलाई ५० हजार रुपियाँ र सम्मानपत्रले सम्मान गरिएको छ । 

मङ्सिर ६ गतेबाट सुरु भएको रनिङ शिल्ड तथा खेलकुद महोत्सवमा गाउँपालिकाका ३३ विद्यालयका नौ सय विद्यार्थीको सहभागिता थियो । 

कक्षा –१ देखि १२ कक्षाका विद्यार्थीको सहभागिता रहेको प्रतियोगितामा चम्चा दौड, म्युजिकल चियर, एकल नृत्य, दौड, हाइजम्प, लङजम्प, त्रिपलजम्प, भलिबल, कबड्डी, डोरी तान्ने खेल भएको थियो । 

खेलकुद महोत्सवमा विजयीलाई सङ्घीय सासद राजु थापाले पुरस्कार वितरण गर्नुभएको थियो । पुरस्कार वितरणमा सांसद थापाले खेलकुद र खेलाडी देशको गहना भएको बताउँदै सबैले यसमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा शैलेन्द्र घिमीरे, पालिका अध्यक्ष प्रकाश तिवारी, उपाध्यक्ष सपना गुरुङ, वडा –१ का वडा अध्यक्ष रणबहादुर थापा, वडा –२ का अध्यक्ष धनबहादुर गुरुङ, शिक्षक लाल केसीलगायतले मन्तव्य राख्नुभएको थियो ।