• ९ मंसिर २०८१, आइतबार

मृत्युपछि मानवअङ्ग दान गर्नेको परिवारलाई दुई लाख दिने निर्णय

blog

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल । फाइल तस्बिर

 काठमाडौँ, मङ्सिर ९ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मृत्यु पश्चात मानव अङ्ग दान गर्न चाहने दाताका परिवारलाई दुई लाख सहयोग गर्ने निर्णय गर्नुभएको छ। 

यसअघि मानवअङ्ग दान गर्न चाहने त्यस्ता परिवारलाई एक लाख रुपियाँ दिने गरिएको थियो । भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमार्फत एक लाख रुपियाँ दिने गरिएकामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दाताका परिवारलाई १ लाख थप गर्ने निर्णय मन्त्री पौडेलले गर्नुभएको हो ।

मन्त्री पौडेलको निर्णय कार्यान्वयनमा अर्थ मन्त्रालयले आन्तरिक स्राेतबाट व्यवस्थापन गर्ने गरी सहमति दिएको छ । मन्त्रालयको आन्तरिक स्राेतबाटै आवश्यक रकम व्यवस्थापन गर्ने गरी निर्णय गरिएको मन्त्री पौडेलले बताउनुभयो ।

अङ्ग दानमा सघाउने अस्पताललाई यसअघि दिने गरिएको ५० हजार रुपियाँमा मन्त्रालयले २५ हजार रुपियाँ थप गरेर ७५ हजार रुपियाँ पुर्याएको छ । 

‘‘आफ्नो मृत्युपछि अरुको जीवन बचाउन चाहनेलाई प्रोत्साहन गर्न खोजेका हौं’, मन्त्री पौडेलले भन्नुभयो, ‘‘एउटाको जीवनपछि अरुको जीवन बचाउने कार्यमा यस निर्णयले व्यापकता पाउने आशा गरेका छौं ।’’

मन्त्री पौडेल स्वयंले यसअघि नै अङ्गदान गर्ने घोषणा गरिसक्नुभएको छ । देशभर हरेक वर्ष मिर्गौला प्राप्तिका लागि एक हजार र कलेजो प्राप्तिका लागि ५५ जनाले मानव अङ्ग प्रत्यारोपण केन्द्रमा नाम लेखाउने गरेका छन् । 

विद्यमान कानुनी व्यवस्थाअनुसार जीवित रगतको नाता पर्नेबाहेकले अङ्गदान गर्न पाउँदैनन् । तर, मृत्युपश्चात् दान दिने गरी अङ्गदान गर्न पाउने व्यवस्था छ । मृत्यु भएको २४ घण्टाभित्र दिन सकिने अङ्ग अरु जीवितलाई प्रत्यारोपण गर्न सकिन्छ । 

हाल नेपालमा मिर्गौला र कलेजो मात्र प्रत्यारोपण गर्ने गरिए पनि अब फोक्सो र मुटुका लागि समेत प्रत्यारोपण गर्ने गरी क्षमता विकास गर्ने तयारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरिरहेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।