• १२ पुस २०८१, शुक्रबार

खेर गएको विद्युत् प्राधिकरणले किन्ने

blog

राष्ट्रिय प्रसारण लाइनमा जोडिएको विद्युत । तस्बिरः रेखीराम राना

रेखीराम राना

तानसेन, मङसिर ९ गते । उपभोक्ताले सञ्चालन गर्दैआएको झुम्साखोला लघु जलविद्युत् तेस्रो आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । उपभोक्ताको लगानीमा दश वर्ष अघिदेखि सञ्चालित लघु जलविद्युत् आयोजनाको उत्पादन राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । 

उपभोक्ताले करोडौँ लगानी गरेर उत्पादन गरेको विद्युत् शक्ति राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि उपभोक्ता खुसी भएका छन् । हाल ६८ किलोवाट विद्युत् उत्पादन भइरहेको छ । खेर गएको विद्युत् सम्झौताअनुसार विद्युत् प्राधिकरणले खरिद गरेको हो । 

यहाँका उपभोक्ताले हिउँद र वर्षातमा करिब ३५ किलोवाट मात्र प्रयोग गर्दैआएका छन् । बाँकी ३५ किलोवाट विद्युत खेर गइरहेको अवस्थामा राष्ट्रिय प्रसारण लाइनमा जडान भएपछि उपभोक्तालाई फाइदा हुने समितिका अध्यक्ष वीरबहादुर बाह्रघरेले बताउनुभयो । 

उहाँका अनुसार वर्षातमा चार रुपियाँ ८० पैसा र हिउँदमा आठ रुपियाँ ४० पैसामा प्रतियुनिट विद्युत् खरिद गर्ने सम्झौता भएको छ । यो सम्झौतासँगै उपभोक्ता, तत्कालीन जिविसको करोडौँ लगानी डुब्नबाट जोगिएको प्रतिनिधिसभाका सदस्य नारायण आचार्यले बताउनुभयो । 

दश वर्षअघि माथागढी गाउँपालिकाको वडा ५ र ६ का ५१७ घरधुरी उपभोक्ताले लघु जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रयोग गर्दैआएका थिए । पछिल्लो समय आयोजना स्थलमा बाढी पहिरोजस्ता घटनाले क्षति गरेपछि मर्मतसुधार गर्दा उपभोक्ता हैरान भएका थिए । 

प्राधिकरणले विद्युत् खरिद गरेपछि वार्षिक १५ देखि २० लाख रुपियाँ उपभोक्ताको बचत हुने संस्थाका पूर्व सचिव खेमान सारुले बताउनुभयो ।