अमृतप्रसाद पौडेल
म्याग्दी, मङ्सिर ९ गते । दशौं राष्ट्रिय उद्योग दिवसको अवसर पारेर म्याग्दीका विभिन्न क्षेत्रका तीन जना उद्यमीलाई सम्मान गरिएको छ । उद्यमशील संस्कृति राष्ट्रको समृद्धि भन्ने मूल नारा साथ आयोजित कार्यक्रममा म्याग्दीमा विभिन्न फरक क्षेत्रको व्यवसाय सञ्चालन गर्दै आएका तीन उद्यमीलाई एक कार्यक्रमका बीच सम्मान गरिएको हो ।
मेनुका सिलाइ कटाइ तथा प्रशिक्षण केन्द्रको सञ्चालक मेककुमारी पुन, बेदना सु–सेन्टरको सञ्चालक सुकलाल किसान, शर्मा कृषि तथा पशुपंक्षी फर्मका सञ्चालक कृष्णप्रसाद शर्मालाई सम्मान गरिएको थियो । पुनले सिलाइ कटाइबाट सुरु गरेर हाल आएर सिलाइ कटाइ प्रशिक्षण केन्द्र सञ्चालन गर्दै आएकोले उहाँको योगदानको कदर गर्दै सम्मान गरिएको उद्योग तथा पर्यटन प्रवर्धन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले बताउनुभयो ।
त्यस्तै पुर्खादेखि नै पशुपालन तथा कृषि क्षेत्र अँगाल्दै आएकोमा त्यसलाई व्यावसायिक तबरले कृषि तथा पशुपालनमा सक्रिय शर्मालाई सम्मान गरिएको थियो । परम्परागत रुपमा छालाजुत्ताको काम गर्दै आउनुभएका सुकलाल किसानले हाल आएर आफूसँगै परिवार र अन्यका लागि समेत रोजगारी सृजना गरेर उद्योगको क्षेत्रमा योगदान दिएको कारणले सम्मान गरिएको जनाइएको छ ।
पर्यटन तथा उद्योग कार्यालय म्याग्दीको आयोजना तथा जिल्ला समन्वय समिति, म्याग्दी उद्योग वाणिज्य सङ्घ र घरेलु उद्योग महासङ्घ म्याग्दीको समन्वयमा दशौं उद्योग दिवस तथा उद्यमी सम्मान कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका गण्डकी प्रदेश सभा सदस्य एवम् पूर्व मन्त्री रेशमबहादुर जुगजालीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुँदाको बखत यातायात क्षेत्रमा रहेको सिण्डीकेट(एकाधिकार) हटाउने काम गरे पनि त्यही क्षेत्रबाट आफै ठगिएको बताउनुभयो । उहाँले गण्डकी प्रदेशभित्रै ट्याक्सीको बढीमा दुई जिल्ला मात्रै परमिट रहने व्यवस्था हटाएर गण्डकी प्रदेशभरको परमिटको व्यवस्था गरेर व्यवसायीलाई सहज बनाइदिएको भए पनि तिनै व्यवसायीले गत महिना आफैंलाई ट्याक्सी भाडा पोखरा बेनी रुटमा पाँच हजार लिएको सुनाउनुभयो । चाडबाड तथा अन्य समयमा व्यवसायीले सर्वसाधारणलाई अप्ठ्यारो पर्ने गरी भाडा असुल्ने गरेको उहाँको कथन थियो ।
उहाँले भन्नुभयो, ‘हामी कुनै हालतमा सुध्रने कामै गर्दैनौं भने अरुलाई दोष दिएर अर्थ छैन, अप्ठेरो परिरहेका व्यवसायीहरुलाई सहज बनाइदिएको भए पनि उनीहरुको बानि सुधार नभएको उहाँले तर्क गर्नुभयो ।’
कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख सुरत केसीले स्थानीयलाई व्यावसायिक बनाउने खालका तालिमहरुमा सहभागिता कम हुने र विदेश जाने र उतै प्रयोग गर्ने खालका तालिमहरुको माग उच्च हुने सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘प्लाष्टिक झोला विस्थापित गर्ने हेतुले सपिङ ब्याग बनाउने तालिमका लागि आवेदन माग गर्दा न्यून निवेदन परे पनि ब्युटी पार्लरका लागि भने थेगिनसक्ने खालको माग आउने गरेको छ ।’ उद्योग दिवस मनाउँदै गर्दा प्रयोग हुने दोसल्ला तथा खादा यहीँ उत्पादित प्रयोग गर्न पाएको भए निकै राम्रो हुने उहाँले सुनाउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, पर्यटन तथा उद्योग कार्यालयका प्रमुख पोसनाथ शर्मा, म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठलगायतले बोल्नुभएको थियो ।