बोमलाल गिरी
नवलपुर, मङ्सिर ९ गते । काठमाडौँबाट अर्घाखाँची जाँदै गरेको बस गए राती पौने ३ बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको विनत्री त्रिवेणी गाउँपालिका १ होङ्सी गेट नजिकै दुर्घटना भएको छ । लु २ ख २१४१ नं. को बस चालकले नियन्त्रण गुमाई दुर्घटना हुँदा ४ जना घाइते भएका नवलपुर प्रहरीले जनाएको छ ।
दुर्घटनामा अर्घाखाँची मालारानी ४ का ६३ वर्षीय शोभाखर खनाल तथा ७ का ३१ वर्षीय वसन्त घिमिरे, मदाने ८ का ६४ वर्षीया सरिता घिमिरे र सन्धिखर्क ८ का ६६ वर्षीया सुनीतादेवी भुसाल घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जेसी शाहले जानकारी दिनुभयो ।
घाइतेहरूको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसमा ३४ जना यात्रु सवार थिए । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अन्य यात्रुलाई अर्को सवारी साधनको व्यवस्था गरी गन्तव्यतर्फ पठाएको छ ।
यस्तै विवाहका लागि कपिलवस्तुबाट काठमाडौं जाँदै गरेको लु २ ख ४३७५ नं.को बसले सोही दिशामा गुडिरहेको ना ४ ख ६४२२ नं. को बसलाई बिहान कावासोती ८ खरकट्टा जङ्गलमा ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।
दुर्घटनामा कावासोती ५ पश्चिम टोल बस्ने ५२ वर्षीया कालीमाया सोमै र देवचुली ५ केउरेनीका ४४ वर्षीया गोमा सुवेदी घाइते हुनुभएको छ । घाइते दुबै जनाको नवलपुर अस्पताल कावासोतीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।