• १२ पुस २०८१, शुक्रबार

पाकेको धानमा फौजी किराको आक्रमण, किसान चिन्तित

blog

लोकल फौजीले काटेको धानको बाल टिप्दै किसान । तस्बिर: बाबुराम कार्की

बाबुराम कार्की 

वराहक्षेत्र, मङ्सिर ८ गते । पाकेको धान काट्न सुरु गरेका किसानहरू धानको बाला टुक्रिएर बारीभरि धान भएपछि सुनसरीका किसानहरू चिन्तित बनेका छन् । धान बालीमा लोकल फौजीको आक्रमण भएपछि धानको बाला टुक्रिएर बारीभरि भएपछि किसानहरू चिन्तित बनेका हुन् । 

लोकल फौजीले बालामा आक्रमण गर्दा धान काटेर पाँजा सुकाएको बाला समेत टुक्रिएर बारीभरि भएको वराहक्षेत्र ९ की किसान सावित्री चन्द्रवंशीले बताउनु भयो । उहाँले भन्नुभयो “पाकेको धान भित्राउने बेलामा धानका दानाहरू टुक्रिएर बारी भरी छरपस्ट भएको छ । धान थन्क्याउने बेलामा फौजी किराले झारेको धान बारीमा टिप्नु परेको छ । बढी मात्रमा रञ्जित धानमा यो समस्या देखिएको छ । 

बाला खेतभरि झरेको हुनाले किसानहरू धान काट्नको लागि हँसियाका साथै बोरा र खरेटो बोकेर जानु परेको स्थानीय हरिन्द्र राई बताउनु हुन्छ ।  कित्ता कित्तामै फौजीको आक्रमण सुरु भएपछि किसानहरू चिन्तित बन्न थालेका छन् । अन्नको भण्डार मानिने तराईका जिल्लाहरू मध्ये सुनसरीमा रैथाने किराको प्रकोप पाकेको धानमा भएपछि धान उत्पादनमा कमी हुने देखिएको छ । 

नेपालमै रैथाने कीरा मानिने फौजी किरा पछिल्ला केही वर्षदेखि विषादीको प्रयोग बढ्दा किराको प्रकोप फैलिएको कृषि ज्ञान केन्द्र सुनसरीका सूचना अधिकृत प्रवीणलाल श्रेष्ठले बताउनु भयो । उहाँले भन्नुभयो “विषादीको प्रयोगपछि बालीनालीका शत्रु मानिने फौजी किराहरूमा विष पचाउन सक्ने क्षमताको विकास हुँदा बालीनालीमा क्षति पुर्‍याउँदै आएको छ । 

धान पाक्न लाग्दा पात सुक्ने भएकाले फौजीले बाला काट्ने गर्छ । यो किराले समूहमा झुन्ड झुन्ड भएर धान बालीमा नोक्सान पुर्‍याउँदै आएको वराहक्षेत्र नगर कृषि शाखाका कृषि प्राविधिक नीरबहादुर राईले बताउनु भयो । बढी मात्रमा यो किराले धान मन पराउने हुँदा धान बालीमा बढी क्षति पुर्‍याउने गरेको छ । यसको व्यवस्थापनको लागि धानमा बाला लाग्न सुरु अगावै जैविक विषादी न्युक्लियर पोलिहेड्रोसिस भाइरस र वेसियल थुरिन्जेन्सिस जस्ता विषादीको प्रयोग गर्नुपर्ने प्राविधिक राई बताउनु हुन्छ । यो किराले धान पसाउने र पाकेको धानमा क्षति पुर्‍याउने गरेको छ । 

धान काटेपछि पनि किराले बाला काट्दा किसानहरू थप चिन्तित बनेका छन् । फौजी किरा भदौदेखि मङ्सिरसम्म बढी सक्रिय हुने गरेको छ । रातिको समयमा मात्रै चर्ने भएकाले फौजीले दिउँसोभन्दा राति क्षति पुर्‍याउने गरेको किसानहरू बताउँछन् । 

वराहक्षेत्र १० प्रकाशपुरका किसानले लगाएको धान बालीमा पनि लोकल फौजी किराको प्रकोप देखिएको छ । किराले पाकेको धानको बाला काटेर भुईँमा झार्न थालेपछि किसानहरू चिन्तित बनेका हुन् ।

प्रकाशपुर विष्ट टोलका किसान यज्ञ कटुवालले १० कट्ठामा लगाएको रञ्जित जातको धानमा फौजी किराले बाला काट्दा बाला भुईँमा झर्दै गएको छ । कटुवालले किरा नियन्त्रणको लागि विषादी स्प्रे गरे पनि पूर्ण रूपमा नियन्त्रण नभएको बताउनु भयो । 

‘यस वर्ष समय समयमै पानी परिराखेकाले धान अरू वर्ष भन्दा राम्रो फस्टाएर बाला लागेको थियो । यो किराको प्रकोपले सिद्ध्याउने भयो, कृषक यज्ञ कटुवालले भन्नु भयो ।  

प्रकाशपुरकै कृषक ज्ञान बहादुर बुढाथोकीले लगाएको एक विघाह क्षेत्रफलको धान बालीमा किराले बाला काटेको छ । ‘पाकी सकेको धान बालीमा बाला काट्दा बारीमा धान बढारेर उठाउँदै आएको बुढाथोकीले बताउनु भयो ।   लोकल फौजी किरा दिनभर धानको बोटको फेदमा लुकेर बस्ने र राति भएपछि धानको बाला काट्ने गरेको छ ।