विश्व समाज अहिले प्रविधिको युगमा छ । मानिसको जीवनलाई सरल र सहज बनाउन प्रविधिले ठुलो भूमिका खेलिरहेको छ । द्रुत गतिमा बढेको प्रविधि द्रुत गतिमा नै दुरुपयोगमा फसेको छ । प्रविधिको विकाससँगै, साइबर आक्रमणको आवृत्ति र परिष्कार डरलाग्दो दरमा बढ्दै गएको छ । विश्वका ठुला ठुला देशलाई पनि साइबर आक्रमणले गिज्याइरहेको छ । त्यस कारण साइबर सुरक्षा बहसको चुचुरोमा पुगेको छ भने नेपाल पनि अहिले यही समस्यासँग जुधिरहेको छ ।
कुनै समय एक ठाउँबाट अर्को ठाउँ सन्देश पठाउँदा हप्तौँदेखि महिनौँसम्म लाग्ने गर्थ्यो । चिठीको माध्यमबाट सन्देश पठाउने र प्राप्त गर्ने ती समयलाई छिचोल्दै आज एकै सेकेन्डमा एक ठाउँदेखि अर्को ठाउँसम्म सन्देश पुग्ने युगमा हामी बाँचिरहेका छौँ । बढ्दो प्रविधि र यसभित्र भइरहेको दुरुपयोगले अहिले विज्ञान अभिसाप हो कि वरदान हो भन्ने कुरामा आममानिसको आआफ्नै तर्क आइरहेको पाइन्छ ।
विश्व साइबर आक्रमण इतिहासलाई नियाल्दा प्राविधिक रूपमा पहिलो साइबर आक्रमण फ्रान्समा इन्टरनेटको आविष्कार हुनुभन्दाअघि नै सन् १८३४ मा भएको थियो । आक्रमणकारीहरूले फ्रान्सेली टेलिग्राफ प्रणालीमा पहुँच गरेर वित्तीय बजारको जानकारी चोरेका थिए । यसै गरी सन् १९८८ मा इन्टरनेट पहिलो ठुलो साइबर आक्रमण कर्नेल स्नातक विद्यार्थी रोबर्ट मोरिसबाट भएको पाइन्छ । ‘मोरिस वर्म’ वल्र्ड वाइड वेब डेब्यु हुनुअघिको वर्षमा प्रहार भयो, जब इन्टरनेट मुख्य रूपमा शैक्षिक अनुसन्धानकर्ताको डोमेन थियो । यसले स्ट्यानफोर्ड, प्रिन्सटन, जोन्स हप्किन्स, नासा, लरेन्स लिभरमोर ल्याब्स र युसी बर्कलेलगायतका अन्य संस्थामा कम्प्युटर प्रणाली सङ्क्रमित ग¥यो ।
नेपालको सन्दर्भमा उक्लिँदै गर्दा गत एक दशकमा नेपालमा साइबर अपराध उल्लेख्य रूपमा बढेका छन् । जनवरी २०१७ मा नेपालको सरकारी कम्प्युटर प्रणालीको सबैभन्दा ठुलो साइबर आक्रमणमा प¥यो । जसमा ‘प्याराडक्स साइबरघोस्ट’ नामक समूहले ५८ वटा सरकारी वेबसाइट ह्याक गरेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पनि बेला बेला साइबर आक्रमणको सिकारमा पर्ने गर्छ, जसले गर्दा उडानलाई असर गरी हजारौँ यात्रु मर्कामा परेको खबर हामी बेला बेला सुनिरहेका हुन्छौँ ।
बढ्दो साइबर आक्रमणको नयाँ रूपले चिन्ता थपेको छ । नेपालको सन्दर्भमा व्यक्ति, संस्था र राष्ट्रलाई साइबर खतराबाट जोगाउन साइबर सुरक्षाको बारेमा चेतना जगाउनु आवश्यक छ तर वर्तमान परिवेशमा साइबर सुरक्षा र साइबर आक्रमणका लागि जनचेतनाको अभाव देखिएको हामी विभिन्न घटना र परिदृश्यबाट पाउन सक्छौँ । कतिपय पहुँचकर्तालाई सामान्य साइबर सुरक्षाको ज्ञानसमेत नहुने भएकाले यसले थप जोखिम निम्त्याएको देखिन्छ । दैनिक रूपमा विभिन्न प्रकृतिको साइबर अपराध फेला पर्ने गर्छ, जसले चुनौती थपेको छ । फार्मिङ आक्रमण, भिसिङ, रान्सम वेयर, मालवेयर, फिसिङ स्क्याम यी सबै अहिले नयाँ रूपमा देखा परेको विश्वव्यापी साइबर अपराध हो, जसले विश्वका ठुला ठुला मुलुकलाई पनि गिज्याइरहेको छ ।
साइबर ब्युरोको अनुसार गत आर्थिक वर्षमा मात्र ब्युरोमा कुल २२ करोड रुपियाँ बराबरको अनलाइन ठगीसम्बन्धी उजुरी परेको तथ्याङ्क सार्वजनिक गरेको छ । त्यसमध्ये सबैभन्दा धेरै अनलाइनबाट लगानी वा अनलाइन जागिरसँग सम्बन्धित छन् । त्यस्ता कुल ५०८ वटा उजुरी परेका छन् । गत आवमा अनलाइन सपिङसँग सम्बन्धित कुल ४१२ वटा उजुरी परेका थिए भने त्यस्ता गतिविधिबाट करिब ९० लाख रुपियाँ ठगिएको पाइएको छ । त्यस्तै व्यक्तिगत सामाजिक सञ्जाल खाता ह्याक गरेर ठगी गरिएको विषयमा ब्युरोमा गत वर्ष कुल १२६ वटा उजुरी परेका छन् । त्यस्तो कार्यबाट दुई करोड १३ लाख रुपियाँभन्दा बढी ठगी भएको छ ।
यी तथ्याङ्कलाई हेर्दा नेपाललाई साइबर आक्रमणले गिज्याइरहेको छ । सरकारले पनि साइबर आक्रमण र साइबर सुरक्षाका लागि आवश्यक कानुनको परिमार्जन गर्नुपर्ने देखिन्छ । हाल सरकारले विभिन्न कानुन र नीति निर्माण गरी साइबर अपराध नियन्त्रण गर्ने कदम नचालेको भने होइन । विभिन्न कालखण्डमा समय अनुरूप कानुन परिमार्जन भएको पाइन्छ । जस्तै विद्युतीय कारोबार ऐन, २०६३ । साइबर अपराध र अनलाइन ठगीलाई सम्बोधन गर्न यो नेपालको पहिलो महत्वपूर्ण प्रयास थियो । यसले विद्युतीय लेनदेन, डिजिटल हस्ताक्षर र अन्य साइबर सम्बन्धित मुद्दाका लागि कानुनी आधार प्रदान गर्छ ।
साइबर अपराध ऐन, २०१६ राष्ट्रिय साइबर सुरक्षा रणनीतिको फराकिलो ढाँचामा समावेश गरिएको छ, यसको उद्देश्य ह्याकिङ, पहिचान चोरी, र जालसाजी जस्ता साइबर अपराधलाई परिभाषित र सजाय दिने हो । यसले व्यक्ति र व्यवसाय दुवैका लागि साइबर सुरक्षा प्रोटोकलहरू लागु गर्न सहज बनाउँछ । सूचना तथा सञ्चार प्रविधि नीति २०७२ ले डाटा सुरक्षित गर्ने, सार्वजनिक र निजी क्षेत्रको आइटी प्रणालीहरूको सुरक्षा बढाउन र डिजिटल सूचनाको गोपनीयता सुनिश्चित गर्ने दिशानिर्देश प्रदान गर्छ । साइबर सुरक्षा भनेको व्यक्तिगत गोपनीयताको सुरक्षा मात्र नभई एक राष्ट्रिय सुरक्षाको विषय हो । यस कारण यसलाई व्यवस्था गर्न सरकारले गहकिलो कदम चाल्नुपर्ने देखिन्छ । बढ्दै गएको साइबर अपराधको सन्दर्भमा नेपाल प्रहरीको साइबर अपराध अनुसन्धान प्रणाली तथा डिजिटल फोरेन्सिक ल्याबलाई थप मजबुत र विस्तार गर्नुपर्ने आवश्यकता देखिन्छ ।
साइबर अपराधबाट बच्न सबैभन्दा पहिले नागरिक आफैँ सचेत हुनु पर्छ । साइबर अपराधलाई पराजय गर्ने सबैभन्दा महत्वपूर्ण उपकरण भनेको जनचेतना हो । आफू कुन सफ्टवेयर चलाउँदै छु, यसको दुरुपयोगले के कस्ता समस्या आइलाग्छ भन्ने कुराको ज्ञान हुने हो भने धेरै हदसम्म साइबर अपराधको सिकार हुनबाट बच्न सकिन्छ । सरकारले पनि विभिन्न साइबर सुरक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने देखिन्छ । नेपालमा हजारौँ अवैध वेबसाइट सिर्जना भएका छन् । ती वेबसाइटलाई बन्द गरी नागरिकको पहुँचबाट टाढा राख्नु पर्छ ।
नेपाल दूरसञ्चार प्राधिकरणलगायतका सञ्चार क्षेत्रसँग समन्वय गरी नागरिकसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा साइबर अपराध, साइबर सुरक्षाका बारेमा विभिन्न शैक्षिक कार्यक्रम गरी सचेत गराउन सकियो भने धेरै मात्रामा साइबर सुरक्षासम्बन्धी ज्ञानबाट नागरिक साक्षर हुन सक्छन् । अन्तर्राष्ट्रिय अभ्यासलाई नियाल्ने हो भने संयुक्त राज्य अमेरिकामा ‘राष्ट्रिय साइबर सुरक्षा जागरूकता महिना’ एक प्रमुख पहल हो । जसले नागरिकलाई साइबर सुरक्षा जोखिमबारे शिक्षित गर्ने र सुरक्षित अनलाइन अभ्यास प्रवर्धन गर्ने उद्देश्य राख्छ । यस महिना लामो अभियानमा विभिन्न सरोकारवाला एकजुट भएर राष्ट्रको साइबर सुरक्षा लचिलोपनमा चेतना जगाउन र वृद्धि गर्न सामेल छन् ।
तेस्तै संयुक्त अधिराज्यमा ‘नेसनल साइबर सेक्युरिटी सेन्टर’ ले व्यक्ति र व्यवसायलाई साइबर खतराबाट जोगाउन मार्गदर्शन र स्रोतहरू उपलब्ध गराउन ‘साइबर अवेयर’ जस्ता अभियान सञ्चालन गरेको पाइन्छ । अस्ट्रेलियाको सरकारले अस्ट्रेलियाली साइबर सेक्युरिटी सेन्टरमार्फत जनचेतना अभियान सञ्चालन गर्छ र आफ्ना नागरिकलाई साइबर सुरक्षाको बारेमा शिक्षित गर्न अनलाइन स्रोतहरू उपलब्ध गराउँछ । ‘स्टे स्मार्ट अनलाइन’ जस्ता पहलले अनलाइन सुरक्षित रहन सल्लाह दिन्छन् र व्यक्ति र संस्थाले सामना गरिरहेका साइबर खतराबारे सचेतना जगाइरहेको पाइन्छ ।
अन्त्यमा अहिले विश्वव्यापी रूपमा साइबर अपराध र साइबर सुरक्षा चुनौतीको विषय बन्न पुगेको छ । करोडौँ मानिस इन्टरनेटको पहुँचमा पुगिसकेका छन् । यो वृद्धि सेवाको बढ्दो डिजिटलाइजेसन, देशभर इन्टरनेट पहुँचको विस्तार र जनतामा साइबर सुरक्षाबारे जनचेतनाको आवश्यकता देखिन्छ । विद्यालयमा विद्यार्थी, समाजमा रहेका नागरिक, वित्तीय संस्थामा आबद्ध कर्मचारी र सरकार सबै मिलि साइबर अपराधबाट सचेत हुन सकिने खालका विभिन्न पहल तथा कार्यक्रम गरी साइबर अपराधलाई समाज र देशबाट न्यून गर्नु पर्छ ।