• १५ पुस २०८१, सोमबार

लैङ्गिक हिंसामा परेका अधिकांशमा मानसिक समस्या

blog

एकद्वार सङ्कट व्यवस्थापन केन्द (ओसिएमसी) को साङ्केतिक स्केच ।

काठमाडौं, मङ्सिर ६ गते । यौन हिंसा लगायत लैङ्गिक हिंसामा परेका अधिकांशमा मनोसामाजिक समस्या देखिने गरेको छ । मानसिक अस्पतालका निर्देशक तथा मानसिक रोग विशेषज्ञ डा. अनन्त अधिकारीका अनुसार अस्पतालमा आउने अधिकांश यौन तथा लैङ्गिक हिंसामा परेकामा मनोसामाजिक समस्या देखिने गर्छ । 

उहाँका अनुसार लैङ्गिक हिंसाबाट पीडितमा मानसिक समस्या आउने सम्भावना सामान्य जीवनयापन गर्ने मानिसमाभन्दा बढी हुने गर्छ । ५० प्रतिशत लैङ्गिक हिंसाका घटना मानसिक स्वास्थ्य समस्यासँग जोडिएको हुने डा. अधिकारी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हिंसामा परेकालाई कानुनी न्यायसँगै मनोसामाजिक उपचारको आवश्यक पर्छ । मानसिक स्वास्थ्य समस्याबाट विक्षिप्त भएका र लैङ्गिक हिंसाबाट पीडितहरुको अवस्था उस्तै हुन्छ ।”

 हिंसामा परेका मानिसमा चिडचिड हुने, छटपटी हुने, तनाव हुने, निद्रा नलाग्ने, खान मन नलाग्ने, रिसाउने, फोबिया हुने, एन्जाइटी हुने, तनाव हुने, नकारात्मक सोच बारम्बार आउनेजस्ता मानसिक समस्या लिएर अस्पतालमा आउने गरेको डा. अधिकारी बताउनुहुन्छ । एक महिनाभन्दा बढी यस्ता समस्या रहिरहेमा कडा खालको मानसिक समस्या निम्तिने सम्भावना बढ्ने डा. अधिकारीको भनाइ छ । 

मानसिक रोग विशेषज्ञ डा. पशुपति महतका अनुसार यौन हिंसासहितका लैंगिक हिंसा परेका धेरैलाई सुरुवाती चरणमा नै मानसिक परार्मशको आवश्यक पर्छ । हिंसामा परेकामा थकित हुने, डराउने समस्या उत्पन्न हुने र यसलाई बेलेमा व्यवस्था नगर्ने हो भने पछि गएर मानसिक आघात हुने सम्भावना बढ्छ ।  

एक महिनाभन्दा बढी यस्ता समस्या रहिरहेमा कडा खालको मानसिक समस्या निम्तिने सम्भावना बढ्ने डा. अधिकारीको भनाइ छ । 

एनडिएचए सर्भे सन् २०१९ का अनुसार नेपालमा १५ देखि ४९ उमेर समुहका पाँचमध्ये एक महिलाले १५ वर्षको उमेरदेखिनै शारीरिक हिंसा भोगेका छन् भने चारमध्ये एक विवाहित महिलाले शारीरिक यौनिक वा भावनात्मक हिंसा भोग्ने गरेको देखाएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लैङ्गिक हिंसापीडित वा प्रभावित व्यक्तिलाई स्वास्थ्य उपचारलगायत अन्य आवश्यक सेवा एकद्वारबाट पूर्ण रूपमा निःशुल्क उपलब्ध गराउने उद्देश्यले एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) बाट स्थापना गरेको छ । 

 २०६८ मा ७ वटा संस्थाबाट शुरु भएको सेवा हाल ९२ अस्पतालमा विस्तारित भएको छ । जसमध्ये सङ्घमा १६,  प्रदेशमा ६९ र स्थानीय तहमा सात वटा संस्थाले सेवा दिइरहेका छन् । हिंसामा परेका अधिकांशलाई मानसिक परामर्श आवश्यक पर्ने हुँदा ओसिएमसीमा आएका मानसिक परामर्शको लागि पठाइने गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी उपसचिव रोशनीदेवी कार्कीले जानकारी दिनुभयो । 

११ हजारभन्दा बढीले लिए सेवा 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी उपसचिव रोशनीदेवी कार्कीका अनुसार ७९ वटा केन्द्रबाट आर्थिक वर्ष २०८०÷८१ मा ११ हजार ३९ जना हिंसा पीडितले एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबाट सेवा लिएका हुन् । 

बलात्कार,यौन दुर्व्यवहार,शारीरिक दुर्व्यवहार,स्रोत अधिकारबाट वञ्चित,मानसिक दुर्व्यवहार, बालविवाह,रुढीवादी परम्परा जस्ता हिंसाबाट पीडितले सेवा लिएको मन्त्रालयले जनाएको छ । सेवा लिनेमा १९ देखि ४९ उमेर समूहका सबैभन्दा बढी छन् ।

सोही उमेर समूहका ६१.४० प्रतिशत छन् । त्यसैगरी, १० देखि १८ वर्ष उमेर समूहका २७ प्रतिशत, ५० वर्ष देखि ६० वर्ष उमेरका ४.३० प्रतिशले सेवा लिएका छन् । त्यसैगरी, १० वर्षमुनि उमेरका ३.७० प्रतिशत र ६० वर्षभन्दा माथि उमेरका ३.६० प्रतिशतले सेवा लिएको कार्कीले जानकारी दिनुभयो । 

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।