हरिकृष्ण गौतम
मुक्तिनाथ (मुस्ताङ), मङ्सिर २२ गते । आँखैमा निलगिरि र तिलिचो हिमाल, ढुम्बा तालसहितको आकर्षक दृष्यहरू ठोकिन्छ । गाउँको शिरानमा धार्मिक गुम्बा र ऐतिहासिक प्राकृतिक गुफाहरू लस्करै छन् । माटोका छाना भएका परम्परागत घरहरू । अल्पसङ्ख्यक थकाली समुदायको भाषा, संस्कृति, रहनसहनका साथै कृषि तथा पशुपालनको ग्रामीण जीवनशैली ।
पर्यटकीय जिल्ला मुस्ताङको सदरमुकाम नजिकै रहेको घरपझोङ गाउँपालिका–३ स्थित स्याङ गाउँमा रहेको व्यवस्थित घरबासले पर्यटकलाई आकर्षित गर्ने गरेको छ । ठुला र भिडभाड हुने होटल तथा रेष्टुरेन्टबाट अलग्गै शान्त तथा ग्रामीण वातारणमा रमाउन चाहने स्वदेशी तथा विदेशी पर्यटकलाई थकाली समुदाय स्वागत सत्कार र मिठो खानाका परिकार पाइन्छ ।
धार्मिक तथा पर्यटकलाई लक्षित गरी आधा दशकदेखि सञ्चालित सामुदायिक रुपमा सञ्चालन गरिएको घरबासमा पर्यटकको चहलपहल विस्तारै बढ्न थालेको छ । स्थानीय घरबास सञ्चालक उमा थकालीेले पर्यटकलाई आयातित नभई अर्गानिक कृषि उपजको स्वाद दिलाउने गरेकाले नियमित सञ्चालन गर्न सकिएको बताउनुभयो ।
स्थानीय उद्यमी थकालीले भन्नुभयो, ‘‘घरबासमा आउने पर्यटक सन्तुष्ट भएर फर्किनुभएको छ, थकाली खानाको परिकार चखाएर पठाउँछौ ।’’ स्याङ गाउँमा आउने पर्यटकलाई आसपासका क्षेत्रमा दिनभरी घुम्ने पर्यटकीय तथा धार्मिकस्थल समेत रहेकाले बसाई लम्बाउने योजनामा समेत स्थानीय रहेको उद्यमी थकालीले बताउनुभयो । घरबासमा आउनेलाई स्वागत तथा मौलिक कला र संस्कृतिको प्रर्दशनीका साथै स्थानीय स्याउ लगायतका विभिन्न उत्पादन उपहार तथा बिक्री समेत गर्ने गरिएको छ ।
आठ वटा घरमा रहेको घरबास हाल उमा लगायत केही उद्यमीले निरन्तरता दिएपनि पर्यटकको चाप हुदाँ स्थानीयको सहकार्यमा ब्यवस्थापन गर्ने गरिएको छ । करिब एक सय ६० घरधुरी रहेको स्याङ गाउँमा स्थानीयको मुख्य आम्दानीको स्रोत रातो र पहेँलो स्याउ, बौद्ध धर्मगुरु रिम्पोचेको सालिक र जङ्गली जनावर नाउरको प्रतिमासहित पार्क समेत रहेको छ । स्याङ गाउँबाट पैदलयात्रामार्फत जोमसोम जान सकिने छोटो दूरीको पदमार्गसहितको पूर्वाधार बनेकाले समेत पर्यटकलाई थप आकर्षित गरेको गरिएको गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले बताउनुभयो । गाउँपालिका अध्यक्ष लालचनले भन्नुभयो, ‘‘ग्रामीण सभ्यता झल्किने बस्तीलाई घरबाससँग जोड्ने प्रयासमा छौँ, समुदायको आम्दानीसँगै कला र संस्कृतिको पनि प्रचारप्रसारमा सघाइरहेको छ ।’’
टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले मुस्ताङका ग्रामीण बस्तीको मौलिकता, स्थानीयका दैनिकी तथा १५ औँ सताब्दी अगाडिका धार्मिक तथा परम्परागत जिवनशैलीको प्रत्यक्ष अवलोकन गर्न सकिने बस्तीलाई घरबाससँग जोड्न सकेमा विदेशी पर्यटकलाई थप आर्कषित गर्न सकिने बताउनुभयो । घरबास कार्यक्रम भएका स्थानहरुको भ्रमण, परिकार बनाउने तालिम तथा विभिन्न स्थानमा रहेका घरबासको अवलोकनसहितका योजनामा समेत स्थानीय तहले सघाउन सकेमा दीर्घकालीन रुपमा सञ्चालन गर्न सकिने टान पोखराका अध्यक्ष आचार्यको भनाइ छ ।
गण्डकी प्रदेशमा सरकारी बजेटबाट सञ्चालनमा आएका घरबास पर्यटकको आगमन नहुदाँ धमाधम बन्द समेत भइरहेको अवस्थामा प्रदेश सरकारको समेत चासो जान सकेको छैन । मुस्ताङमा स्याङ घरबाससँगै मुस्ताङको घरपझोङ–५ ठिनी र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ मराङ र लोमान्थाङ गाउँपालिकाको चुमजुङ लगायतका बस्तीमा घरबास रहेको छ ।