• २२ मङ्सिर २०८२, सोमबार

गाउँपालिकामा अराजकता, अपारदर्शिता र मनपरी निर्णय रोक्न स्थानीयको माग

blog

प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र बुझाउँदै जेनजी लगायतका स्थानीय । तस्बिर : सिराज खान

सिराज खान    
नेपालगन्ज, मङ्सिर २२ गते । 
बाँकेको नरैनापुर गाउँपालिकामा बढ्दो प्रशासनिक अराजकता, अपारदर्शिता र मनपरी निर्णय रोक्न स्थानीय नागरिक समाज, जेनजी युवाहरू तथा सरोकारवालाले प्रमुख प्रशासकीय अधिकृत नवराज वलीलाई ज्ञापन–पत्र बुझाएका छन् ।

ज्ञापन पत्रमा पालिकाभित्र देखिएका विभिन्न प्रकारका बेथितिहरुमा तत्काल सुधारको माग गरिएको छ ।

नागरिक समाजका अगुवा गुफरान अली शाहका अनुसार विकास, प्रशासनिक सेवा र सामाजिक क्षेत्रका गतिविधिमा देखिएको अस्वाभाविक ढिलासुस्ती, फाइल रोक्ने प्रवृत्ति, गैर–कानुनी चलखेल, बजेट दुरुपयोग तथा कर्मचारीबीचको निरन्तर विवादले सेवा–प्रवाह नै बिग्रिएको हुँदा सुधार गर्न माग गरिएको हो ।

उहाँले विशेषतः गाडी भाडा, इन्धन कुपन, मर्मत खर्च, खाजा–नास्ता तथा जिन्सी सामग्री वितरण जस्तो विषयमा मनपरी र अपारदर्शी खर्च भएको देखिएको बताउनुभयो ।

स्थायी कर्मचारीलाई जिम्मेवारीविहीन राख्दै अनावश्यक करार नियुक्ति गर्ने, आफन्तलाई प्राथमिकता दिने र कार्यालय समयमै जनसेवा उपेक्षा गर्ने प्रवृत्तिबाट जनआक्रोश बढिरहेको शाहको भनाइ छ ।

ज्ञापनपत्रमा विद्यालय व्यवस्थापन समिति नबन्नु, विषयगत शिक्षक अभाव, शिक्षकहरूको सामाजिक सञ्जालमार्फत राजनीतिक क्रियाकलाप, विद्यार्थीलाई व्यक्तिगत स्वार्थमा प्रयोग गर्ने गतिविधि तथा अनुगमन कमजोर हुनुले शिक्षाको गुणस्तर खस्किँदै गएको जनाइएको छ ।

ज्ञापनपत्रमार्फत उठाइएमा मागहरु सम्बोधन नभए मङ्सिर २४ र २५ गते कालोपट्टीसहित २ घण्टा शान्तिपूर्ण धर्ना दिने तथा सोही म्यादभित्र प्रतिक्रिया नआए मङ्सिर २६ गतेबाट गाउँपालिका र वडा कार्यालय ‘कब्जा’ गर्ने जनाइएको छ ।

ज्ञापनपत्र बुझदै प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले जेनजी पुस्ताले उठाएका मागहरू नागरिक–मैत्री रहेको जनाउँदै केही मुद्दाहरू पहिले नै समाधान भइसके पनि सूचना नपुगेको देखिएको बताउनुभयो ।

उहाँले आफ्नो स्तरबाट तत्काल सम्हालिने मागहरू कार्यान्वयन गर्ने तथा बाँकी विषय कार्यपालिकाको बैठकबाट छिट्टै निर्णय गरिने प्रतिवद्धता जनाउनुभयो ।

सो अवसरमा लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री कृष्ण केसी, गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाह, वडा अध्यक्ष अजय मिश्र, प्रेम मौर्यलगायतको उपस्थिति रहेको थियो ।