• ९ पुस २०८१, मङ्गलबार

विकासप्रतिको बुझाइ

blog

सक्रिय भई उन्नति प्रगति गरी जीवनयापनलाई समृद्ध बनाउनु विकासको बुझाइ हो । अरूले अवलम्बन गरेका रूपान्तरणकारी कार्यको अनुकरण गर्न तत्परता देखाउनु विकासको सिकाइको रूपमा लिनु पर्छ । जङ्गली जीवनबाट रूपान्तरण हुँदै आधुनिक जीवनसम्म आउनु विकासका चरणहरू हुन । मानिस आफैँ पनि हिजोभन्दा आज र भोलिको उन्नत जीवनका लागि प्रयासरत हुन्छ । प्रविधिको उपयोगको अवसरले पनि विकासको सिकाइ र बुझाइमा प्रभाव पारिरहेको छ । सामूहिक रूपमा रूपान्तरणकारी सोचसहित सहज जीवन जिउन प्रयासरत हुनु पनि गतिशील विकासको चरण हो । जीवनयापनलाई उन्नत बनाउन सक्रिय भई परिवेश अनुसार योजना र कार्यक्रमको कुशल व्यवस्थापन गरी लाभान्वित हुन विकासको अभियानमा जोडिनु पर्छ । पहुँच र सहभागिताको आधारमा रूपान्तरणकारी अनुभूति गर्न मिसनसहित दुरदृष्टिमा पुग्ने अपेक्षा गर्नु विकासको प्रभावकारी कदमको रूपमा लिनु पर्छ । समग्र क्षेत्रको प्राथमिकीकरण गरी स्रोतसाधनको परिचालनबाट अपेक्षित नतिजा प्राप्त गर्नु विकासप्रतिको सिकाइ र बुझाइलाई प्रष्ट्याउँछ । 

नेपालको परिवेशमा विकासको बुझाइ पूर्वाधारमा मात्र सीमित छ भने अर्कोतिर विकास सरकारले मात्र गर्ने हो भन्ने भाष्य पनि छ । हाम्रो जस्तो मुलुकका लागि पूर्वाधार विकास महत्वपूर्ण छ तर पूर्वाधारको अवसरलाई अन्य क्रियाकलापमा जोड्न नसक्दा प्रतिफल प्राप्त गर्न सकिएको छैन । विकासको बुझाइ र सकाइको कमजोर अवस्थाका कारण जनता पूर्ण लाभग्राही हुन सकेका छैनन् । शासकीय सुधारसँगै समाजिक र आर्थिक विकासका लागि जनजागृति र जनलहरको अभियान कमजोर हुँदा समग्रतामा आशा जगाउन वा उत्साह ल्याउन सकिएको छैन । जनता आफैँ रूपान्तरणकारी क्रियाकलापमा सक्रिय नहुँदा विकासप्रतिको सिकाइ र बुझाइ कमजोर भई लाभ र प्रतिफल प्राप्त गर्न अवरोधहरू देखिएको छ ।

विकासको सम्बन्धमा विश्वले १७ वटा दिगो विकास लक्ष्य लिएको, १६९ परिणामत्मक लक्ष्य तोकिएका छन् । यी लक्ष्य प्राप्त गर्न मापनका लागि २३२ वटा सूचक बनाइएको छ । विश्व समुदायले विकासको लाभ लिन तोकिएका लक्ष्य प्राप्त हुने गरी आफ्नो सक्रियता हुनु पर्ने देखिएको छ । पूर्वाधार मात्र विकास हो भन्ने मान्यतामा दिगो विकास लक्ष्यले स्पष्ट पारेको छ । विकसित देशका लागि भन्दा विकासशील र अल्प विकसित देशको विकासमा विश्व समुदाय जागृत र सक्रिय हुनुपर्ने दबाब देखिएको छ भने विकसित देशको अन्य देशको विकासको व्यवस्थापनमा सहभागिता र साझेदारी हुनुपर्ने दबाब रहेको छ । दियो विकास लक्ष्यमा विश्वका सबै राष्ट्रमा सहभागितामूलक, अधिकारमुखी र समतामूलक विकास गरी गरिबी र भोकमरीको अन्त्य गर्ने, सबैलाई शिक्षा र स्वास्थ्य पु¥याउने, लैङ्गिक समानता, सबैका लागि स्वच्छ पानी, ऊर्जाको पहुँच, रोजगारीको प्रवर्धन, आर्थिक वृद्धि, उद्योग पूर्वाधार विकास दिगो सहरीकरणका लागि सामाजिक आर्थिक र पर्यावरणीय क्षेत्रमा दिगो हुने गरी विकास गर्न निर्देशित गरेको छ । उक्त लक्ष्य सन् २०३० मा पूरा गर्ने समयसीमा तोकिएकाले अब मात्र पाँच वर्ष र केही महिना मात्र बाँकी भएको अवस्था छ । दिगो विकास लक्ष्यमा द्वन्द्व व्यवस्थापन, विपत् नियन्त्रण, सामाजिक न्याय र हक अधिकार जस्ता विषयलाई उजागर नहुँदा विश्व समुदायमा प्रतिकूल अवस्था पनि देखिएका छन् । अहिलेको विश्वमा यी समस्याको समाधान नहुँदासम्म दिगो विकासको लक्ष्य पूरा हुन अवरोध रहने अनुमान गर्न लागिएको छ । 

नेपालको औपचारिक रूपमा विकासको थालनी विसं २०१३ देखि भएको पाइए तापनि नीतिगत रूपमा मुलुकी ऐन बन्नु, सति प्रथा अन्त्य गर्नु, कमरा कमारी प्रथा उन्मुलन गर्नु मुख्य समाज रूपान्तरणका विषय थिए भने विद्युत् उत्पादन, विद्यालय स्थापना, स्वास्थ्य संस्थाको व्यवस्था जस्ता रूपान्तरणकारी काम भए तापनि उक्त कार्यको लाभ शासकीय नेतृत्वका परिवारले मात्र उपयोग गर्ने गेरको बुझाइ छ । सडक निर्माण, उद्योग र वित्तीय संस्थाको स्थापना सुरुवात पनि राणा शासन काल मै भएको थियो तर विकासको प्रतिफल आमजनताले पाएको अनुभूति नभएसम्म विकासप्रतिको सिकाइ र बुझाइ अपुरो हुन्छ ।

विकासको पहिलो सर्तमा नागरिक सन्तुष्टिलाई लिनु पर्छ । नागरिकले अपेक्षा गरेका विषयमा शासन व्यवस्था सक्रिय रह्यो र विकासको व्यवस्थापन गर्न सक्यो भने सन्तुष्टिको अनुभूति गर्न सकिन्छ । अहिले जनताको खुसी मापन गरी सन्तुष्टिको अवस्था सङ्ख्याङ्कन गर्ने गरिएको छ । जहाँका मानिस खुसीको अनुभूति बढी गर्छन् त्यहाँ शासन व्यवस्था असल र जनमैत्री भएको मानिन्छ । खुसीसँग विकासका समग्र पक्ष जोडिएका हुन्छन् र सबै पक्षको सकारात्मक नतिजाले खुसीपछि सन्तुष्टिको अवस्था प्राप्त हुन्छ ।

जीवन यापन समुन्नत हुनुपर्ने विकासको दोस्रो सर्तमा लिन सकिन्छ । समुन्नत जीवनका लागि आधारभूत आवश्यकताको गुणस्तरीय आपूर्ति, जनजीविका र व्यवसायका लागि सहज अवस्था, नवपरिवर्तनीय सोच र प्रविधिको उच्चतम उपयोग, नागरिक परिचालन र सक्रियता, प्रभावकारी सेवा प्रवाह, विश्व समुदायसँगको असल सम्बन्ध, समाजिक न्याय र हक अधिकारको प्रत्याभूति, द्वन्द्वको व्यवस्थापन र विपत्को प्रतिकार्यमा कुशलता जस्ता महìवपूर्ण विषयमा शासन व्यवस्था प्रभावकारी भए मात्र समुन्नत जीवन यापनले विकासको प्रतिफलको अनुभूति हुन्छ । 

प्राकृतिक स्रोतको दियो उपयोग र प्रयावरणीय संरक्षण विकासको तेस्रो सर्तमा लिन सकिन्छ । हामीले उपयोग गर्ने प्रकृतिको स्रोतका अधिकार भावी पुस्तासम्म रहन्छ । प्रकृतिलाई आर्थिक पक्षसँग जोड्दा दिगो हुने गरी उपयोग गर्नुपर्ने हुन्छ । कतिपय स्रोतको संरक्षण गर्न सकिएन भने लोप भई पर्यावरणीय असन्तुलन वा सङ्कट पनि आउन सक्छ । त्यसैले दिगो विकास गर्न पर्यावरणीय संरक्षणमा ध्यान दिन सके जलवायु परिवर्तनबाट प्रभावित हुने जस्ता घटना कम गर्न सकिन्छ । स्रोतको दिगो उपयोगसँगै विपत्का सम्भावनाको समयमै व्यवस्थापन गर्न पनि विकास र पर्यावरणबिच सन्तुलित संयोजन हुन आवश्यक छ ।

आर्थिक अवसरमा सबैको पहुँच हुनु विकासको चौथो सर्तमा लिन सकिन्छ । आर्थिक पक्षमा हुने नहुने बिचको अन्तर कम गर्ने, आर्थिक लाभ प्राप्त गर्न सबैको पहुँच हुनु, लागत कम गरी उत्पादनमा कुशलता बढाइ गुणस्तरीय बस्तु वा सेवाको आपूर्ति सहज बनाउन, उपभोक्तामैत्री आपूर्ति सञ्जालमा ध्यान दिने, विश्व बजारमा प्रतिस्पर्धा गर्न तुलनात्मक लाभको अवसरमा उत्पादनलाई जोड्ने, आर्थिक क्रियाकलापमा राज्यको सबै संयन्त्रलाई प्रभावकारी बनाउने जस्ता विषयले विकासको अनुभूति गर्न सकिन्छ । 

सामाजिक न्याय र हक अधिकारको प्रत्याभूति पनि विकाससँग जोडिने हुँदा विकासको पाँचाैँ सर्तमा लिन सकिन्छ । समाजमा रहेका उपेक्षित र अपहेलित वर्गको उत्थान नहुँदासम्म विकासको मोडल प्रभावकारी हुँदैन । राज्यले निर्देशित गरेका हक अधिकारको उपयोग हुन सकेन भने पनि विकासका चरणहरू प्रभावित हुन्छन् । भूगोलको सन्तुलन हुने गरी अवसरको वितरण, आधारभूत आवश्यकताको पूर्णता र कमजोर वर्ग विशेषको जीवनस्तरमा सुधार गरी सक्षमता नहुँदासम्म विकासको अनुभूति गराउन र मानवका नैसर्गिक हक अधिकारप्रति सचेत भई रूपान्तरणकारी अभियान सफल बनाउन सकिन्छ ।

निजी क्षेत्रको सक्रियता विकासका लागि छैटौँ सर्तमा लिन सकिन्छ । विकासको कुरा गर्दा राज्य र सरकारको मात्र जिम्मेवारी हो भन्ने बुझाइ छ । निजी क्षेत्रको व्यावसायिकमूलक कार्यले पनि विकासका प्रयत्न भइरहेका हुन्छन् । लगानी गरी औद्योगिकीकरणबाट उत्पादकत्व बढाइ रोजगारी सिर्जना गर्ने काममा निजी क्षेत्रको भूमिका महìवपूर्ण छ । जोखिम बहन गरी नाफा मूलक अवधारणामा निजी क्षेत्र रहने तर सामाजिक उत्तरदायित्वका कार्य र आयआर्जनपछि राज्यको कोषमा सहभागिता जस्ता विषय महत्वपूर्ण छन् । निजी क्षेत्रको सक्रियताबिना विकासको प्रभाकारिता अपुरो र अधुरो रहन्छ । 

विकासको गतिविधिमा सबै पक्षको प्रभाव रहेको हुन्छ । उन्नत जीवन जिउन रूपान्तरणकारी क्रियाकलापको प्रतिबद्धतासहित कुशल व्यवस्थापन गर्नुपर्ने हुन्छ । नागरिकको क्षमताको विकाससँगै समग्र विकासको बुझाइ हुन सके विकासको अनुभूति चाँडै गर्न सकिन्छ । विकासप्रतिको बुझाइ, सिकाइ र उपयोगमा ध्यान दिन सकिएन भने प्रतिफल र लाभ प्राप्त गर्न पछाडि परिन्छ । समग्रतामा उन्नत जीवनयापन गर्न सबै पक्ष सव्रिmय भए मात्र विकासको लाभ लिई समृद्ध र सुखी हुन सकिन्छ । 

 

Author

भरत गौतम