• ४ मंसिर २०८१, मङ्गलबार

चिकित्सक सम्मेलन मङ्सिर २८ र २९ गते

blog

नेपाल चिकित्सक संघको चौथो राष्ट्रिय स्वास्थ्य सम्मेलनबारे जानकारी दिन आयोजित कार्यक्रम।

काठमाडौँ, मंसिर ४ गते। नेपाल चिकित्सक सङ्घको चौथो राष्ट्रिय स्वास्थ्य सम्मेलन मङ्सिर २८ र २९ गते  हुने भएको छ। 

मंगलबार कार्यक्रम गर्दै सङ्घका महासचिव डा. सञ्जीव तिवारीले सङ्घले चौथो राष्ट्रिय स्वास्थ्य सम्मेलन मङ्सिर २८ र २९ गते गर्न लागेको जानकारी दिनुभयो। 

यो सम्मेलनको मुख्य नारा हेल्थ वियोण्द हेल्थ (स्वास्थ्य भन्दा बाहिर स्वास्थ्य) भन्ने रहेको छ। सम्मेलनले नेपालको स्वास्थ्य प्रणालीलाई समृद्ध र दिगो बनाउन नीतिगत सुझाव प्रस्तुत गर्न मुख्य भूमिका खेल्ने डा. तिवारीको विश्वास छ। 

स्वास्थ्यलाई शिक्षा, आवास, रोजगारी र वातावरण संरक्षण जस्ता सबै क्षेत्रसँग जोडेर एकीकृत नीतिका रूपमा प्रस्तुत गर्दै सम्मेलनले नेपालको वर्तमान स्वास्थ्य असमतालाई सम्बोधन गर्ने, स्वास्थ्य प्रणालीलाई सबल बनाउने र भविष्यका स्वास्थ्यसम्बन्धी  आवश्यकताको तयारी गर्ने लक्ष्य राखेको छ। 

सम्मेलनमा  विभिन्न विज्ञको सुझावको आधारमा सम्मेलनले नेपालको बदलिँदो स्वास्थ्य आवश्यकता  अनुरूप दिगो स्वास्थ्य प्रणालीको लागि एक अग्रगामी नीति तथा योजना तयार गर्ने उहाँले बताउनुभयो।