• ४ मंसिर २०८१, मङ्गलबार

मन्त्रालयले काम गर्न कानुनमा सुधार आवश्यक छ : खानेपानीमन्त्री यादव

blog

खानेपानी तथा ढल व्यवस्थापन विभागको ५३ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै खानेपानीमन्त्री प्रदीप यादव। तस्बिर : विमल प्रकाश विष्ट

काठमाडौँ, मङ्सिर ४ गते। खानेपानीमन्त्री प्रदीप यादवले मन्त्रालयले काम गर्न कानुनमा सुधार आवश्यक रहेको बताउनुभएको छ। मङ्गलबार खाने पानी तथा ढल व्यवस्थापन विभागको ५३ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री यादवले यस्तो बताउनुभएको हो। 

‘‘म ऐन हेरेर हैरान छु। मन्त्रालयले काम गर्न कानुनमा सुधार गर्नु आवश्यक छ। मन्त्रालय विभाजन गर्दा खानेपानी मन्त्रालयलाई कम शक्ति दिइयो। अहिले खानेपानी मन्त्रालयलाई शक्तिशाली बनाउने प्रयासमा छु’’ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री यादवले भन्नुभयो।  उहाँले खानेपानी मन्त्रालयलाई खानेपानी र सरसफाइ मन्त्रालय बनाउन सकेमा मन्त्रालय शक्तिशाली हुने उल्लेख गर्नुभयो। 

उहाँले भन्नुभयो, ‘‘मन्त्रालयलाई मजबुत गराउनु नै मेरो दायित्त्व र धर्म हो। मेरो अबको कदम तथा सरसफाइलाई कसरी ल्याउने ?  म त्यसमा लागिपरेको छु। त्यो आयो भने त्यसको धेरै शक्ति यसमा आउँछ। बाहिर गएको शक्तिलाई कसरी फर्काउने भन्नेमा म लागिरहेको छु।  त्यो फिर्ता नल्याएसम्म हामी चाहेअनुसार मन्त्रालय चलाउन सक्दैनौँ। मन्त्रालयमा मन्त्रीहरु आउनै मान्दैनन्। खानेपानी मन्त्रालयको जिम्मेवारी पाएपछि पहिल्यै नाक खुम्च्याउँछन्। तर म रमाइरहेको छु।’’ कर्मचारी र राजनीतिज्ञ मिलेर मन्त्रालयलाई राम्रो बनाउनुपर्नेमा उहाँको जोड छ। 

विभागको कार्यालय पानीपोखरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री यादवले विभागको पाँच दशकको योगदानको सम्मान गर्नुभयो। उहाँले मन्त्रालयको भन्दा विभागको इतिहास गौरवमय भएको उल्लेख गर्नुभयो।


मन्त्री यादवले शौचालय र खानेपानीको महत्त्व उल्लेख गर्नुहुँदै खानेपानीमा प्रविधिको प्रयोग आवश्यक रहेकोमा जोड दिनुभएको छ। ग्रामीण क्षेत्रको खानेपानीको समस्या सरकारको प्राथमिकतामा पर्नुपर्ने उहाँको भनाइ छ। मन्त्रालयका लागि छुट्याएको बजेट हात्तीका मुखमा जिरा भएको भन्दै अब बजेट बढाउनुपर्नेमा उहाँको जोड छ। बजेट बढाउन अर्थमन्त्रीसँग छलफल भइरहेको जानकारी गराउनुभएको छ।

मन्त्री यादवले निजी क्षेत्रले मुहानको पानी सजिलै प्राप्त गर्ने तर सरकारले लिन खोज्दा कानुन छैन भनेर रोक्ने प्रवृत्ति रहेकाले त्यसको अन्त्य गर्नुपर्ने बताउनुभयो। ‘‘यहाँ निजी कम्पनीको ग्याङले सजिलै मूलको पानी ट्याङ्करमा पाउँछ तर प्रक्रियागत रुपमा काम गर्न अगाडि बढ्दा समस्या छ। यो विषय प्रधानमन्त्रीसमक्ष राखेको छु’’, मन्त्रालयको प्रक्रियागत समस्याबाट जानकारी दिँदै उहाँले भन्नुभयो। 

उहाँले खानेपानी  तथा ढल विभागको स्थापना दिवसको अवसरमा कर्मचारीलाई शुभकामना दिनुहुँदै विपदमा कर्मचारीले गरेको कामको प्रशंसासमेत गर्नुभयो। ‘‘विपदमा तपाईंहरु कर्मचारीको खटाइले हाम्रो शिर ठाडो भएको छ। विपद्को पूर्व तयारी नभए पनि सकेको काम हामीले गरेका छौँ’’, उहाँले थप भन्नुभयो। 

जलवायु परिवर्तन र चुरे दोहनले खानेपानीको समस्या 

मन्त्री यादवले जलवायु परिवर्तन र चुरे दोहनले तराईंमा खानेपानीको समस्या बढ्दै गएको उल्लेख गर्नुभयो। उहाँले चुरे दोहनमा सक्रिय माफियाको शक्ति मन्त्रीको भन्दा बढी हुँदै जाँदा सङ्कट आइपरेको खुलासा गर्नुभयो। यसअघि वन मन्त्रालयको नेतृत्वमा हुँदा माफियाले कसरी काम गर्छन् भन्ने कुरा थाहा पाएको उहाँले उल्लेख गर्नुभयो। 

‘‘केही वर्षअघिसम्म तराईमा ८०–९० फिटमा पानी आउने भए पनि अहिले ३५० फिट तल मात्र पानी आउँछ। बोरिङका लागि पाँच सय फिट गाड्नुपर्छ। तराईंमा जलवायु परिवर्तन र चुरो दोहन प्रमुख समस्या बनेर आएका छन्’’, मन्त्री यादवले भन्नुभयो। उहाँले मन्त्रालयमा चुनौती धेरै र बजेट थोरै हुँदा काम गर्न समस्या भएको उल्लेख गर्नुभएको छ। 


मन्त्री यादवले खुला दिसामुक्त घोषणा गर्ने तर अनुगमन नगर्ने प्रवृत्तिले यो कार्यक्रम सफल नभएको भन्दै अझै चेतानाको अभाव रहेको बताउनुभएको छ। अनुगमनमा तीन तहका सरकारको समन्वयमा कमजोरी भएको उहाँको भनाइ छ। 

कार्यक्रमलाई मन्त्रालयका सचिव प्रमिलादेवि शाक्य बज्राचार्यले सम्बोधन गर्नुभयो। विभागका महानिर्देशक रामकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभागका महाशाखा र शाखा प्रमुखसँगै कर्मचारीको उपस्थिति थियो। कार्यक्रममा विभागमा लामो समयदेखि योगदान गर्ने कर्मचारीलाई मन्त्री यादवले सम्मान गर्नुभयो।