• ४ मंसिर २०८१, मङ्गलबार

निर्वाचन क्षेत्रका बिरामीलाई निःशुल्क उपचार

blog

निःशुल्क उपचाररत सुशान राई । तस्बिर : हरि कोइराला

हरि कोइराला
उर्लाबारी ,मङ्सिर ४ गते ।
मोरङ–३ का प्रतिनिधिसभा सदस्य डा. सुनीलकुमार शर्माले दुबै मिर्गाैलामा समस्या भएर जीवन मरणको अवस्थामा पुग्नुभएका बेलबारी ३ का १९ वर्षीय सुशान राईको निःशुल्क उपचार गरिदिनुभएको छ ।

आर्थिक अवस्था कमजोर भएका कारण उपचार गर्न नसकेर घरमै थलिनुभएका सुशानलाई बेलबारी वडा नं. ३ का कांग्रेस सभापति रिक्तबहादुर गुरुङले काठमाडौँ मेडिकल कलेज (केएमसी)मा भर्ना गर्नुभएको थियो ।

त्यहाँ सांसद शर्मासँगको भेटघाटपछि केएमसीले सुशानको उपचार निःशुल्क गरिदिने प्रबन्ध गरिदिएको थियो । बिरामी सुशान सांसद शर्माकै निर्वाचन क्षेत्रका व्यक्ति हुन् ।

शर्माले चुनावताका नै आफ्नो निर्वाचन क्षेत्रका बिरामी पैसा अभाव भएकै कारण मर्न नदिने प्रतिबद्धता जनाउनुभएको थियो । सोही प्रतिबद्धता अनुसार सांसद शर्माले विराटनगरस्थित नोबेल अस्पतालमा मोरङ क्षेत्र नं.३ का मतदाताका लागि उपचारमा ५० प्रतिशत छुट तथा विपन्न परिवारका लागि निःशुल्क उपचारसहित ५० बेडको क्याबिन निःशुल्क गरिदिनुभएको छ ।

त्यस्तै, मोरङ–३ का बिरामीहरूका लागि खाना र आवाससहित निःशुल्क ३० बेडको व्यवस्था गरिदिनुभएको छ । यसैगरी, काठमाडौँस्थित काठमाडौँ मेडिकल कलेजमा समेत आफ्नो क्षेत्रका बासिन्दाका लागि निःशुल्क उपचारको व्यवस्थासहित १५ शय्याको कक्ष उपलब्ध गराइएको छ । सांसद शर्माले भन्नुभयो, ‘‘चुनाव कांग्रेसबाट जितेको हुँ । तर निःशुल्क उपचारका लागि कांग्रेस भइरहनुपर्दैन । मात्र मोरङ–३ को बसोवास प्रमाणित भए पुग्छ । उहाँले विकास निर्माणसँगै उपचार पनि प्रतिनिधि विषय भएको बताउनुभयो ।