• ६ पुस २०८१, शनिबार

डिपो स्थानान्तरणमा ढिलाइ

blog

काठमाडौँ, मङ्सिर ४ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र सिनामङ्गलमा रहेको हवाई इन्धन डिपो स्थानान्तरणमा ढिलाइ भएको छ । मन्त्रीपरिषद्को गत साउन २८ गते बसेको बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिक सिनामङ्गलमा रहेको नेपाल आयल निगमको इन्धन भण्डारण डिपोलाई सुरक्षित र सुविधायुक्त स्थानमा स्थानान्तरण गर्ने निर्णय भएको थियो ।

एक वर्षभित्रमा डिपो स्थानान्तरण गर्ने सीमा निर्धारण गरिएको भए पनि तीन महिना पुग्दा पनि काम अगाडि बढ्न सकेको छैन । नेपाल आयल निगम र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को ढिलाइका कारण डिपो स्थानान्तरण गर्ने प्रक्रिया अगाडि बढ्न नसकेको हो । आयल निगम र प्राधिकरणबिच डिपो निर्माण अगाडि बढाउने विषयमा सम्झौता नहुँदा डिपो स्थानान्तरणको प्रक्रिया अगाडि बढ्न सकेको छैन । 

प्राधिकरणको गुरुयोजनामा गुहेश्वरीमा रहेको ७० रोपनी जग्गामा डिपो सार्न उपयुक्त देखाएको छ । क्यानले जग्गा उपलब्ध गराउन मौखिक सहमति दिए पनि लिखित सम्झौता नहुँदा निर्माण प्रक्रिया अगाडि बढाउन नसकेको निगमको हवाई इन्धन डिपो कार्यालयले सिनामङ्गलले जनाएको छ । हवाई इन्धन डिपो कार्यालयले प्राधिकरणले निर्माण कार्य अगाडि बढाउन कात्तिक ६ गते लिखित सम्झौता गर्न पत्र पठाएको थियो । तर अहिलेसम्म सम्झौता नहुँदा निर्माण कार्य अगाडि बढाउन नसकेको कार्यालयका प्रमुख प्रदीपकुमार यादवले जानकारी दिनुभयो । 

“अन्तर्राष्ट्रिय विमानस्थलनजिक रहेको डिपो उच्च जोखिममा रहेकाले सार्न तयार छौँ तर निगम उच्च व्यवस्थापनको निर्णय कुरिरहेकाले निर्णय हुँदासाथ निर्माण प्रक्रिया अगाडि बढाउँछौँ,’’ यादवले भन्नुभयो । 

प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेले गुरुयोजनाबमोजिम डिपो सार्न उपयुक्त जग्गा तोकिसकेकाले निर्माण कार्य अगाडि बढाउन सम्झौता गर्न तयार भए पनि निगमबाट अग्रसरता नदेखिएको बताउनुभयो । 

निगमको तर्फबाट जग्गा अपायक पर्‍यो भनेर प्राविधिक कारण देखाइएको जानकारी दिँदै उहाँले भन्नुभयो, “हामीले पनि छिटो काम अगाडि बढाउनुपर्‍यो भनेर निगमलाई अनुरोध गरिहका छौँ ।” निगमका कार्यकारी निर्देशक डा. चण्डिका भट्टले भने डिपो स्थानान्तरणका प्रक्रियामा रहेको बताउनुभयो । डिपो सार्नका लागि जग्गा निश्चित भएको भए पनि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्दै गरेको उहाँले जानकारी दिनुभयो । डिपिआर तयार भएपछि डिपो निर्माण गर्न लाग्ने लागतबारे यकिन हुने निगमले जनाएको छ ।

हवाई इन्धनको आपूर्ति व्यवस्था सहज पार्न सिनामङ्गलमा डिपो स्थापना गरिएको थियो । तर डिपो विमानस्थलनजिक रहेकाले विमान दुर्घटनाको उच्च जोखिम देखिएको छ ।

प्राधिकरणले तयार गरेको विमानस्थलको गुरुयोजना अनुसार विमानस्थलको उत्तरतर्फ नेपाली सेनाको गल्फ कोर्सनजिकै रहेको गुह्येश्वरीतर्फको ७० रोपनी जग्गा इन्धन भण्डार स्थानान्तरणका लागि उपयुक्त देखाएको छ ।

गत साउन ९ गते सौर्य एयरलाइन्सको विमान विमानस्थल परिसरमै दुर्घटना भएपछि डिपो स्थानान्तरण गर्ने विषयले प्राथमिकता पाएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलको धावन मार्गनजिक रहेको असुरक्षित डिपो अन्यत्र स्थानान्तरण गर्न साउन १८ गते उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई निर्देशन दिनुभएको थियो । सौर्य एयरलाइन्सको विमान साउन ९ गते विमानस्थल परिसरमै दुर्घटना भएपछि असुरक्षित डिपोका कारण अझ ठुलो सम्भावित दुर्घटना रोक्न तत्काल डिपो सार्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको थियो । प्रतिनिधि सभाको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता समितिले इन्धन डिपो स्थानान्तरण गर्न आवश्यक रहेकाले सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको थियो । 

निगमले हवाई इन्धन डिपोमा सुरक्षाका मापदण्ड अपनाए पनि विमान वा अन्य सम्भावित दुर्घटनामा जुनसुकै बेला गम्भीर क्षति गर्न सक्ने उच्च सम्भावना छ । यो डिपो अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डविपरीत छ । त्यही भएर आइकाओले डिपो त्यहाँबाट हटाउन नागरिक उड्डयन प्राधिकरणमार्फत नेपाल आयल निगमलाई दुई वर्षअघि नै पत्राचार गरेको थियो तर निगम व्यवस्थापनले भने डिपो सार्ने प्रक्रिया अगाडि बढाएको छैन । प्राधिकरणका अनुसार आइकाओको मापदण्ड अनुसार धावनमार्गबाट कम्तीमा ९० मिटर टाढा इन्धन भण्डारण हुनुपर्ने हो तर हाल रहेको भण्डारण धावनमार्गबाट ८० मिटरभित्रै छ ।