काठमाडौँ, मङ्सिर २ गते । ललित स्मृति एन्फा यु–१८ फुटबल लिगको शीर्षस्थानमा रहेको विभागीय टोली नेपाल पुलिस क्लबलाई एनआरटी क्लबको नमिठो झट्का लागेको छ ।
ललितपुरको सातदोवाटो स्थित एन्फा मैदानमा आइतबार भएको खेलमा एनआरटीले पुलिसलाई ४–२ गोलले हरायो । एनआरटीको जितमा इशान शाहले दुई गोल गर्नुभयो । सन्तोष गोङ्बा र विज्ञान खड्काले एक एक गोल थप्नुभयो । पुलिसका लागि दुवै गोल साजनराज गौतमले गर्नुभयो ।
जितसँगै १० खेलबाट १९ अङ्क बनाएको एनआरटी दोस्रो स्थानमा उक्लिएको छ । हारेपनि शीर्षस्थानमा रहेको पुलिसको समान खेलबाट २३ अङ्क छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा सञ्चालित लिगमा १२ टोलीको सहभागिता रहेको छ । लिगका खेलहरू डबल राउन्ड रोविनका आधारमा खेलाइएको छ ।