दिपकप्रसाद गौतम
वीरगञ्ज, मङ्सिर २ गते । वीरगन्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो चार महिनामा १६ अर्ब ५५ करोड २६ लाख ९९ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ । वीरगन्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१-८२ को साउन भदौ असोज र कात्तिक महिनामा १६ अर्ब ५५ करोड २६ लाख ९९ हजार रुपियाँ राजस्व सङ्कलन गरेको हो ।
सुक्खा बन्दरगाह भन्सार कार्यालयको तथ्याङ्कका आधारमा भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१-८२ को साउन महिनामा तीन अर्ब ७५ करोड २२ लाख ११ हजार रुपियाँ, भदौमा चार अर्ब ६४ करोड ३० लाख २७ हजार रुपियाँ, असोजमा चार अर्ब ३६ करोड ४५ लाख २५ हजार रुपियाँ र कात्तिकमा तीन अर्ब ७९ करोड २९ लाख ३६ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ ।
भन्सार विभागले दिएको १९ अर्ब ५८ करोड ९७ लाख ८२ हजार रुपियाँ राजस्व सङ्कलनको लक्ष्यमा कार्यालयले ३ अर्ब ३ करोड ७० लाख ८३ हजार रुपियाँ कम राजश्व असुली गरी १६ अर्ब ५५ करोड २६ लाख ९९ हजार रुपियाँ राजस्व सङ्कलन गर्न सफल भएको हो ।
गत आर्थिक वर्ष २०८०-८१ को पहिलो चार महिनामा कार्यालयले १६ अर्ब ७५ करोड ३१ लाख ५५ हजार रुपियाँ राजस्व सङ्कलन गरेको थियो ।
गत आर्थिक वर्ष २०८०-८१ को पहिलो चार महिनामा सङ्कलित राजश्वभन्दा २० करोड ४ लाख ५६ हजार रुपियाँ कम राजश्व यस चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो चार महिनामा सङ्कलन भएको हो । सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले विदेशी मुलुकबाट वस्तु तथा सामान आयात घट्दा राजस्व सङ्कलनमा कमी आएको बताउनुभयो ।
उहाँले चाडपर्वको समयमा धेरै बिदा भएकाले पनि पछिल्ला महिनामा विदेशबाट वस्तु तथा सामानको आयात घटेकाकाले राजस्व सङ्कलन पनि घटेको बताउनुभयो । सुक्खा बन्दरगाह भन्सार कार्यालयले चार महिनाको अवधिमा कुल वार्षिक लक्ष्य ६० अर्ब ४ करोड ८७ लाख ९७ हजार रुपियाँको २७ दशमलव ५७ प्रतिशत राजस्व सङ्कलन गरेको हो ।