अविनाश चौधरी
धनगढी, मंसिर २ गते । जिल्ला समन्वय समिति कैलालीको प्रमुखका लागि दुई जनाको उम्मेदवारी परेको छ । नेपाली कांग्रेसबाट टीका चौधरी भुल र नागरिक उन्मुक्ति पार्टीबाट रुक्मती चौधरीको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
कांग्रेसकी भुलले सत्तारुढ दल नेकपा (एमाले) को समर्थनमा जिसस प्रमुखको लागि उम्मेदवारी दिनुभएको छ । उहाँको प्रस्तावकमा नेपाली कांग्रेसका नेता एवम् कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरी र समर्थकमा नेकपा (एमाले) का नेतृ एवम् धनगढी उपमहानगरपालिकाका नगर उपप्रमुख कन्दकला राना रहनु भएको छ ।
नागरिक उन्मुक्ति पार्टी भने एक्लै चुनावी मैदानमा उत्रेको छ । नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दिनु भएकी चौधरीको प्रस्तावकमा सोही पार्टीका नेतृ एवम् जोशीपुर गाउँपालिकाका उपाध्यक्ष रेखादेवी कठरिया रहनु भएको छ । यसैगरी, समर्थकमा भजनी नगरपालिकाका उपप्रमुख राजुदेवी तिरुवा रहनु भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
तत्कालीन जिल्ला समन्वय समिति प्रमुख पदम कलेलको निधन भएपछि कैलालीमा सो पद्का लागि उपनिर्वाचन हुन लागेको हो । आगामी मङ्सिर १६ गते उपनिर्वाचन तय भएको छ ।