काठमाडौँ, मंसिर २ गते। कीर्तिपुर नगरपालिकाका कार्यवाहक प्रमुख शुभलक्ष्मी शाक्यको कार्यकक्षमा तोडफोड भएको छ।कीर्तिपुर नगरपालिकाका कार्यकारी अधिकृतलाई भेट्न जानुभएका वडा नम्बर ३ का वडाध्यक्ष सुवीन्द्र महर्जनले धेरै समय कुर्नु परेको भन्दै कार्यकक्षमा तोडफोड गर्नुभएको हो।
कीर्तिपुर नगरपालिकाका सम्पर्क शाखा अधिकृत सुजीन्द्र महर्जनका अनुसार कार्यवाहक नगर प्रमुखको कार्यकक्षमा सामान्य तोडफोड भएको हो।तोडफोड हुँदा एउटा टेबलमा क्षति पुगेको छ ।
शाखा प्रमुखको बैठकमा प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकाल व्यस्त हुँदा वडाध्यक्षले केही समय कुर्नु परेपछि आक्रोश व्यक्त गर्नुभएको थियो।‘उहाँले कर्मचारीलाई जनप्रतिनिधिले भेट्न नपाउने भन्दै कार्यवाहक नगर प्रमुखको कार्यकक्षमा तोडफोड गर्नुभएको हो’, सम्पर्क शाखा अधिकृत महर्जनले भन्नुभयो ।
कीर्तिपुरका नगर प्रमुख राजकुमार नकर्मीको निधन भएपछि शुभलक्ष्मी कार्यवाहक प्रमुख हुनुहुन्छ। मङ्सिर १६ गते कीर्तिपुरमा हुने मतदानका लागि आइतबार मनोनयन दर्ता हुँदैछ।