• १३ वैशाख २०८१, बिहिबार

स्थगित भएका निर्वाचन केन्द्रमा आज पनि मतदान हुँदै

blog

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ ३ गते । विभिन्न कारणले स्थगित भएको निर्वाचन केन्द्रमा आज पनि मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन शान्तिपूर्ण रुपमा भइरहेको आयोगको भनाइ छ ।

आयोगका अनुसार बागमतीको काभ्रेस्थित पाँचखाल नगरपालिकाको १३ नम्बर वडामा निर्वाचन जारी छ । त्यस्तै, सुदूरपश्चिमको कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिकाको वडा १० मा निर्वाचन भइरहेको छ । त्यस्तै, बाजुराको बुढीनन्दा नगरपालिकाको वडा नम्बर ८ मा पनि मतदान जारी छ ।

सोहीअनुसार अछामको पञ्चदेवल विनायक नगरपालिकाको वडा नम्बर ५ मा आज मतदान भइरहेको छ । त्यस्तै, सिराहा गोलबजारको वडा ११ मा पनि मतदान जारी छ । सोहीअनुसार सर्लाही बरहथवाको वडा नम्बर १७ मा मतदान भइरहेको छ । 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलकाअनुसार दाङको तुलसीपुर उपमहानगरपालिकाको वडा नं. १७ मा पनि आज मतदान जारी छ । त्यस्तै कपिलवस्तुको महाराजगञ्जका सबै वडामा आज निर्वाचन भइरहेको छ । अहिलेसम्म प्राप्त जानकारीअनुसार सबै ठाउँमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको आयोगले जनाएको छ । निर्वाचन हुन नसकेका केही निर्वाचन केन्द्रको मिति अझै तय हुन बाँकी छ ।