• २८ पुस २०८१, आइतबार

शहीद क्याम्पसको स्तरोन्नतिका लागि महायज्ञ

blog

महायज्ञबारे छलफलमा सहभागी सरोकारवालाहरु । तस्बिर : इमानसिं राना

इमानसिं राना

रामपुर (पाल्पा), मंसिर २ गते । जिल्लाको रामपुर नगरपालिका–७, किसानबारीस्थित शहीद बहुमुखी क्याम्पसमा महायज्ञ सञ्चालन गरिने भएको छ । क्याम्पसको शैक्षिक तथा भौतिक स्तरोन्नतिका लागि आगामी पुस १६ देखि २३ गतेसम्म श्रीमद् भागवत धन धन्याचल् ज्ञान महायज्ञ गर्ने निर्णय भएको हो । 

कालीगण्डकी उपत्यकाको शैक्षिक धरोहरको रूपमा रहेको क्याम्पसलाई स्थायित्व प्रदानसँगै स्तरोन्नति गर्न सरोकारवालाको बृहत् छलफलले महायज्ञ सञ्चालन गर्ने निर्णय गरेको हो । सञ्चालक समितिका अध्यक्ष नेत्रप्रसाद भट्टराईले क्याम्पसको शैक्षिक तथा भौतिक उन्नयनसँगै क्याम्पस सञ्चालनका लागि स्रोत जुटाउने उद्देश्यसाथ महायज्ञ सञ्चालन गर्ने निर्णय भएको बताउनुभयो । 

उहाँले यज्ञबाट सङ्कलन भएको रकममार्फत कोष स्थापनासँगै टाढाबाट अध्ययनका लागि आउने विद्यार्थीको लागि आवश्यक छात्रवास सञ्चालन गर्ने लक्ष्य रहेको बताउनुभयो । क्याम्पस प्रमुख मुरारीप्रसाद काफ्लेले सामुदायिक क्याम्पसको मुख्य स्रोत विद्यार्थीमा निर्भर रहने भए पनि पछिल्लो समय विद्यार्थी सङ्ख्या घट्दै जाँदा सञ्चालनमा चुनौती देखिएकाले महायज्ञ सञ्चालनको तयारी थालिएको बताउनुभयो । 

उहाँका अनुसार महायज्ञ सञ्चालनका लागि क्याम्पस सञ्चालक समितिका अध्यक्ष भट्टराईको अध्यक्षतामा पाँचसय एक सदस्य मूल आयोजक समिति गठन गरिएको छ । महायज्ञमा वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेलबाट प्रवचन हुनेछ । 

शनिबार भएको बृहत् छलफलमा रामपुर नगरपालिका प्रमुख रमणबहादुर थापाले धर्म, संस्कार संस्कृतिको बारेमा विद्यार्थीलाई जानकारी दिन तथा आर्थिक सहयोग जुटाउन महायज्ञले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पस २०४८ सालमा स्थापना भएको थियो । 

क्याम्पसमा हाल शिक्षा र व्यवस्थापन सङ्कायमा कक्षा ११ देखि स्नातकोत्तरसम्म अध्यापन हुँदैआएको छ । क्याम्पसमा हाल सातसय विद्यार्थी अध्ययनरत रहेको क्याम्पसमा हाल ३० जना प्राध्यापक र १२ जना कर्मचारी कार्यरत छन् ।