गजेन्द्र गुरुङ
खजुरा, मङ्सिर २ गते । बाँकेको खजुरा गाउँपालिका वडा –३ बिगाउँ वागमतीनगरका किसान हरिप्रसाद उपाध्यायले विगत आठ वर्षदेखि व्यावसायिक रुपमा केरा खेती गर्दै आउनुभएको छ ।
“पहिला १० बिघा क्षेत्रफल जग्गामा केरा खेती गर्दै आउनुभएका उपाध्यायले हाल घटाएर तीन बिघा क्षेत्रफल जग्गामा केरा खेती गर्दै आएको बताउनुभयो । मैले २०७३–७४ सालदेखि व्यावसायिक रुपमा केरा खेती सुरु गरेँ । १० बिघा क्षेत्रफल भएको जग्गा भाडामा लिएर केरा लगाएको थिएँ, सुरु सुरुमा अति नै राम्रो आम्दानी पनि भयो” उहाँले भन्नुभयो ।
कृषक उपाध्यायले भन्नुभयो, “पहिला प्रदेश सरकारले पनि सहयोग गरेको थियो, पछि अन्य ठाउँबाट सहयोग नभएपछि अहिले तीन बिघा मात्र केरा खेती गरेको छु ।” लुम्बिनी प्रदेश सरकारले २०७५–७६ मा उत्पादन भएको केरालाई भण्डारण गर्न अनुदानमा भण्डारण गोदाम बनाइदिएको उहाँले बताउनुभयो ।
“उत्पादन भएको केरालाई भण्डारण गर्न प्रदेश सरकारबाट अनुदानमा भण्डारण गोदाम बन्यो, उत्पादन भएको केरालाई भण्डारण गर्न सहज भयो” उहाँले भन्नुभयो, “पछि अन्य ठाउँ कतैबाट पनि प्रोत्साहन हुने गरी सरसहयोग मिलेन, एक्लै सबै कुरा व्यवस्थापन गर्न गाह्राे हुँदै गयो र तीन बिघामा मात्र खेती गर्न थालेँ ।”
उपाध्यायको फार्ममा अहिले १५ सयभन्दा बढी ठुलाे केराका बाेट छन् भने तीन हजार सानो बाेट हुर्कने क्रममा छन् । ठूलो केराका बाेटलाई गत जेठ महिनामा परेको असिनाले धेरै क्षति गरेको उहाँले बताउनुभयो । “तीन हजारजति ठूलो केराको बिरुवा लगाएकोमा अहिले १५ सय जति होलान्, जेठमा आएको असिनाले गर्दा ठूलो क्षति भयो” उहाँले भन्नुभयो, “त्यतिबेलाको क्षति अझै थेग्न गाह्रो भइरहेको छ ।”
उपाध्यायले केही भारतको बारबङ्की र केही नवलपरासीको कावासोतीबाट जी–९ जातको केराको बिरुवा ल्याएर लगाएको बताउनुभयो । “बिरुवा पाउन पनि मुस्किल छ, भारतको बारबङ्की र नवलपरासीको कावासोतीबाट जी–९ जातको बिरुवा ल्याएर लगाएँ ।” उहाँले भन्नुभयो, “भारतबाट बिरुवा ल्याउँदा भन्सार पनि नहुँदो रहेछ स”
बिरुवा रोपेको १५–१६ महिनापछि केराले उत्पादन दिने उहाँले बताउनुभयो । “बिरुवा रोपेको १५–१६ महिनापछि केराले उत्पादन दिन सुरु गर्छ, बाेटमा २१ वटा पात भएपछि पसाउने रहेछ” उहाँले भन्नुभयो, “एउटै केराबाट तीन पटकसम्म फल उत्पादन हुन्छ, केराको घरी काटिसकेपछि त्यसको पनि काट्छौँ, पात काटेको रुख कुहिँदै सड्दै जान्छ, त्यसको फेँदबाट अर्को बिरुवा जन्मिन्छ र त्यसले पनि फल दिन्छ र अर्को पटक समेत यही प्रक्रिया हुन्छ ।”
पहिला पहिला नेपालगन्जस्थित भाटभटनीसँग सम्झौता गरेर केरा दिने गरेको भए पनि अहिले भने सबै उत्पादन भएको केरा स्थानीयस्तरमै खपत भइरहेको उहाँको भनाइ छ । “पहिला भाटभटेनीलाई पनि केरा दिने गरेको थिएँ, अहिले गाउँबाटै उत्पादन भएको सबै केरा खपत भइरहेको छ” उहाँले भन्नुभयो, “गाउँमा पूजाआजा हुँदा मर्दापर्दा, चाडवाडमा केराको माग हुने गरेको छ, सबै केरा यहीँ नै खपत हुन्छ, पाकेको केरा ६० रुपियाँ र काँचो केरा ५० रुपियाँ दर्जनका दरले बिक्री भइरहेको छ ।”
एक जना सम्पूर्ण प्राविधिक ज्ञान भएको कर्मचारी मासिक रुपमा र आवश्यक परेको बेलामा ५–६ जना स्थानीयले दैनिक ज्यालादारीमा काम गर्ने गरेको उहाँले बताउनुभयो । “म, श्रीमती र छोरा यसै व्यवसायमा पूर्णरुपमा खटेका छौँ, एक जना प्राबिधिक ज्ञान भएका मासिक रुपमा हुनुहुन्छ, आवश्यक परेको बेलामा ५–६ जना स्थानीयले दैनिक ज्यालादारीमा काम गर्नुहुन्छ ।”
सुरुमा यस व्यवसायबाट राम्रो आम्दानी हुने गरेको भए पनि पछिल्लो समय त्यति राम्रो नभएको उहाँको भनाइ छ । “मैले खेती सुरु गरिसकेपछि अर्को एक जनाले पनि केरा खेती सुरु गर्नुभयो, पछि उहाँ टिक्न सक्नुभएन । यो गाउँपालिकाभरि म मात्र हुँ एक जना व्यावसायिक केरा खेती गरिरहेको, गाह्राे छ ।” उहाँले भन्नुभयो, “अब म पनि बिस्तारै कम गर्दैछु, पहिला धेरै राम्रो आम्दानी थियो, अहिले पहिलाजस्तो छैन ।”