• २८ पुस २०८१, आइतबार

युवालाई उद्यमसँग जोड्न सुझाव

blog

बुटवलको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सङ्कल्प यात्राको टोलीसहित नेता कार्यकर्ता ।

सिद्धार्थनगर समाचारदाता 

सिद्धार्थनगर, मङ्सिर २ गते । पूर्वको मेचीनगरबाट सुरु भएको नेपाली कांग्रेसको युवा सङ्कल्प यात्राको टोलीले शुक्रबार बुटवल मैनाबगरस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा नेता कार्यकर्तासँग भेटघाट गरेको छ । 

युवा सङ्कल्प यात्राका संयोजक कांग्रेसका युवा नेता भूपेन्द्रजङ्ग शाहीले विभिन्न १० वटा एजेन्डालाई केन्द्रमा राखेर यात्रा गरिएको बताउनुभयो । उहाँका अनुसार युवालाई देशभित्रै रोजगारी, भ्रष्टाचार निवारण, सुशासन, महँगी र मूल्य वृद्धि नियन्त्रण, युवा उद्यमशिलता विकास, सहकारीमा भएका अपचलनको छानबिन गरी दोषीलाई कारबाही गर्नका लागि दबाब दिन पूर्वपश्चिमको यात्रा गरिएको हो । 

देशमा रोजगारी अभावका कारण वैदेशिक रोजगारीका लागि युवा पलायन भइरहेको भन्दै उहाँले युवा जोसजाँगरलाई स्वदेशमै उपयोग गर्ने गरी देशभित्रै रोजगारीको सुनिश्चितता गर्नुपर्ने र रोजगारी उपलब्ध गराउन सकिँदैन भने युवालाई उद्यमसँग जोड्ने कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो ।

त्यसका लागि नेपाली कांग्रेसले पनि योजना बनाउनुपर्ने र सरकारमा पैरवी गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले युवा सङ्कल्प यात्रामा पार्टीका नेता कार्यकर्तासँगै युवा, विद्यार्थी, किसान, मजदुर सबैखाले व्यक्तिसँग भेटघाट गरी आफ्ना कुरा पनि राख्ने र उनीहरूसँग पनि सुझाव सल्लाह लिइने यात्राका संयोजक शाहीले बताउनुभयो । 

यसरी प्राप्त सुझावलाई लिपिबद्ध गरेर प्रतिवेदन बनाइने र पार्टीलाई र सरकारलाई बुझाइने संयोजक शाहीले बताउनुभयो । त्यस अवसरमा नेपाली कांग्रेस बुटवल उपमहानगर सभापति तथा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले आफ्नो नेतृत्वको स्थानीय सरकार बुटवल उपमहानगरपालिकाले युवालाई सिपसँग जोड्न र स्वरोजगार बनाउन विभिन्न प्रकारका सिपयुक्त तालिम प्रदान गरिएको, परम्परागत पेसा व्यवसायलाई स्तरोन्नति गर्न अनुदान प्रदान गरिएको जानकारी गराउनुभयो । 

यही कात्तिक २३ गते पूर्वको मेचीनगरबाट सुरु भएको युवा सङ्कल्प अभियान मङ्सिर ४ गते पश्चिमको महेन्द्रनगरमा पुगेर समापन गरिने अभियानकी सदस्य प्रमिका रानाले बताउनुभयो ।