• २८ पुस २०८१, आइतबार

टिपरको ठक्करबाट दुई जनाको मृत्यु

blog

हरि कोइराला 

उर्लाबारी ,मङ्सिर १ गते।  पूर्व पश्चिम राजमार्ग  अन्तरगत मोरङको पथरी शनिश्चरे २ मा शनिबार दिउँसो टिपरको ठक्करबाट  दुई जनाको मृत्यु भएको छ।

 इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायव उपरीक्षक मोहनविक्रम दाहालका अनुसार पथरीशनिश्चरे–२ सुनझोडा पुलमा दिउँसो साढे २ बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २९२८ नम्बरको टिपरले पूर्वतर्फ जाँदै गरेको को २० प ६०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकलमा सवार दुबैजनाको  मृत्यु भएको हो। 

मोटरसाइकल चालक पथरीशनिश्चरे–७ का १८ वर्षीय निश्चल आङदाम्बे र पछाडि सवार पथरीशनिश्चरे–२ का ४८ वर्षीय प्रितम गौतमको मृत्यु भएको दाहालले बताउनुभयो। दुर्घटनामा परेर गम्भीर घाइते भएका दुबैजनालाई उपचारका लागि उर्लाबारीको मदन भण्डारी अस्पताल एवम ट्रमा सेन्टर लगिएको थियो। शरीरका विभिन्न भागमा चोट लागेका दुवै जनाको उपचारका क्रममा ३ः२० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ। दुबै जनाको शव पोष्टमार्टमका लागि अस्पताल मै राखिएको छ।

दुर्घटना लगत्तै प्रहरीले टिपर र चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–६ का ३५ वर्षीय सुरेश राईलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ। क्षतिग्रस्त मोटरसाइकल पनि प्रहरीकै नियन्त्रणमा छ।

उक्त टिपर निर्माणाधीन पूर्व–पश्चिम राजमार्गमा निर्माण सामग्री ओसारपसारका लागि प्रयोग भइरहेको  प्रहरीले जनाएको छ। साँघुरो सडकमा टिपर तीव्र गति गुड्ने गरेकाछन्। जसले दैनिक जसो दुर्घटना हुने गरेका प्रहरीको भनाइ छ।