धेरै भाषिक समुदायमा विभक्त हाम्रो देशमा युग अनुसार शिक्षाको विकास हुन नितान्त आवश्यक छ । शिक्षाले नै परस्परमा समझदारीपूर्ण भावनाको अङ्कुरण गर्न ठुलो सहयोग पुर्याउँछ । शिक्षाको चेतनाबाट समाजमा साक्षरता वृद्धि हुनुका साथै शान्ति स्थापनामा विशेष भूमिका खेल्छ । शान्तिपूर्ण वातावरणमा मानवले नयाँ नयाँ ज्ञानमय कुराहरू सोच्न सक्ने क्षमताको विकास र समृद्धिका भावनाहरू पलाउने भएकाले समाजको विकासमा शान्तिपूर्ण वातावरण अनिवार्य चाहिन्छ । यस्तो वातावरण तयार गर्न समाजमा भाषिक ज्ञानको आवश्यकता पर्छ । भाषाकै माध्यमबाट हामीले आफ्ना विचार सम्प्रेषण गर्ने गर्दछौँ ।
भाषा, साहित्य, कला, संस्कृति एकअर्काका परिपूरक हु्न् । भाषा समाजको ऐना हो । कुनै पनि समाज कस्तो छ भन्ने कुरा त्यस समाजको भाषाले बताउँछ । विकसित र सम्पन्न समुदायमा बोलिने भाषा र अविकसित र विपन्न समुदायमा बोलिने भाषामा गहिरो अन्तर रहेको पाइन्छ । कुनै पनि देश वा समाजमा भाषाको विकास भयो भने भाषा सँगसँगै त्यहाँको कला, साहित्य, संस्कृति, दर्शन, सिर्जनशीलता, मौलिकता, वैज्ञानिक खोज, आविष्कार जस्ता कुराहरू निखारिएर जाने गर्छन् । भाषा समाज विकासको पहिलो सर्त हो । हाम्रो देश नेपालमा विभिन्न जातजाति, भाषाभाषी एकआपसमा मिलेर बसेका छन् । सबै भाषाका आफ्नै संस्कार, संस्कृति, सभ्यता, सामाजिक मूल्यमान्यता रहेका छन् । भाषाबिना हामी आफ्नो भनाइ अभिव्यक्त गर्न सक्दैनौँ । हामीले पढेलेखेका, जानेबुझेका, सिकेका, अध्ययन अनुसन्धान गरेका ज्ञानका कुरालाई भाषाकै माध्यमबाट सम्प्रेषण गर्ने गर्दछौँ ।
हाम्रो जस्तो बहुभाषिक संरचना भएको मुलुकमा एउटै समुदायमा बसोबास गर्ने एउटा व्यक्तिले अर्को व्यक्तिसँग, एउटा परिवारले अर्को परिवारसँग, एउटा जातिले अर्को जातिसँग विचार विनियम गर्ने साधन नै सम्पर्क भाषा हो । हामी सबै नेपालीको सम्पर्क भाषा नेपाली भए पनि जाति अनुसार सबै मानिसका फरक फरक भाषा रहेका छन् ।
राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालमा १२४ भाषा बोल्ने मानिसहरूको बसोबास रहेको पाइन्छ । ती सबै भाषालाई राष्ट्रि«य भाषाको मान्यता दिइएको छ । ठाउँ अनुसार शेर्पा, मगर, गुरुङ, राई, लिम्बू, जिरेल, थारू, सुरेल आदि विभिन्न भाषा पहिचानका रूपमा रहेका छन् । आफूले घरमा बोल्ने भाषामा पठनपाठन भयो भने विद्यार्थी विद्यालयमा घरको वातावरण अनुभव गर्छन् । उनीहरूमा डर, सङ्कोचको भावना हट्न गई आत्मविश्वास बढ्छ । भाषिक समस्याका कारणले विद्यालय छोड्ने सङ्ख्यामा कमी आउँछ । बहुभाषिकताले जानेको भाषा, विषयवस्तु तथा परिवेशबाट नयाँ भाषा विषयवस्तु तथा सन्दर्भ चिनाउन र बुझाउन सजिलो हुन्छ ।
भाषा मरे संस्कृति मर्छ, संस्कृति मरे पहिचान त पहिचान मरे दर्शन मर्छ । सन् २००० फेब्रुअरी २१ देखि भाषिक तथा सांस्कृतिक विविधता र बहुभाषिकताको संरक्षण र विकास गर्न अन्तर्राष्ट्रि«य स्तरमासमेत मातृभाषाको संरक्षण, विकास र प्रयोगमा वकालत भइरहेको छ तर मुखमा रामराम बगलीमा छुरा पारामा भाषा तथा संस्कृति संरक्षण एवं विकासको नारा मात्र लगाएर भाषिक समुदायबिचको सद्भाव कमजोर बनाउन खोज्नु हुँदैन ।
बालबालिकाले आआफ्नै मातृभाषाका माध्यमबाट पाउने शिक्षालाई बहुभाषिक शिक्षा भनिन्छ । सरकारी तहमा स्थानीय मातृभाषामा दिइने शिक्षा बहुभाषिक शिक्षा हो । बहुभाषिक शिक्षा भन्नाले विद्यालयमा दुईभन्दा धेरै फरक फरक भाषाका माध्यमका रूपमा अध्ययन हुने स्थितिलाई बुझाउँछ । नेपाल सरकारले मातृभाषामा शिक्षाका बारेमा सात वटा प्रमुख आधिकारिक दस्ताबेजमा उल्लेख गरेको छ । ती हुन : नेपालको अन्तरिम संविधान २०६३, शिक्षा ऐन २०३८, स्थानीय स्वायत्त शासन ऐन, २०५५ र २०५६, राष्ट्रि«य पाठ्यक्रम प्रारूप २०६३, विद्यालय क्षेत्र सुधार कार्यक्रम २०६४, सबैका लागि शिक्षा राष्ट्रि«य कार्ययोजना नेपाल सन् २००२–२०२५ र तीन वर्षीय कार्ययोजना २०६४/०६५–२०६६/६७ रहेका छन् ।
नेपालको अन्तरिम संविधान २०६३ को धारा धारा १७ को उपधारा १ मा मातृभाषामा शिक्षा पाउने हक हुने छ भन्ने उल्लेख छ भने शिक्षा ऐन २०२८ को दफा ७.२ (ख) मा प्राथमिक तहसम्म शिक्षा मातृभाषामा दिन सकिने छ भनी व्यवस्था गरिएको छ । राष्ट्रि«य पाठ्यक्रम प्रारूप २०६३ मा आधारभूत शिक्षाको माध्यम मातृभाषामा प्राथमिक शिक्षा पाउने अधिकारको सुनिश्चितताका लागि मागको आधारमा कार्यक्रम विस्तार गर्दै लगिने छ भन्ने उल्लेख छ । स्थानीय स्वायत्त शासन ऐन (२०५५) र नियमावली २०५६ मा गाउँ विकास क्षेत्रभित्र मातृभाषामा प्राथमिक तहको शिक्षा उपलब्ध गराउन सहयोग गर्ने भन्ने उल्लेख छ । विद्यालय क्षेत्र सुधार कार्यव्रmम (२०६४) अनुसार स्थानीय रूपमा प्राप्त मानव स्रोतसाधनलाई प्राथमिक कक्षाहरूमा मातृभाषामा शिक्षण कार्यमा बृहत् रूपमा प्रयोग गरिने कुरा उल्लेख छ । मातृभाषा वा द्विभाषिक शिक्षणका लागि सरकारले प्राविधिक, आर्थिक र मानव स्रोतसाधन विकासको जिम्मा लिने छ भनिएको छ । सबैका लागि शिक्षा सन् २००१–२०१५ ले आदिवासी, जनजाति र भाषिक अल्पसङ्ख्यकलाई जीवनोपयोगी सिप र संस्कृति अनुरूप मातृभाषाको माध्यममा प्राथमिक तहका सबै विषयको शैक्षिक पाठ्यक्रम तयार गर्ने र चरणबद्ध रूपमा क्रमैसँग लागु गर्दै जाने उल्लेख छ ।
पाठ्यक्रम विकास केन्द्र (२०५१), बहुभाषिक कार्यक्रम (२०६३), शैक्षिक जनशक्ति विकास केन्द्र जस्ता विभिन्न सरकारी निकायले बहुभाषी पाठ्यक्रम एवं पाठ्यपुस्तक निर्माण गर्दै आएका छन् । २०७२ साल असोज ३ गते जारी भएको नेपालको संविधान लागु भएपछि स्थानीय तहले संविधानबमोजिम १०० पूर्णाङ्कको आफ्नै स्थानीय पाठ्यक्रम निर्माण गरेर आधारभूत तहमा अध्ययन गराउँदै आएका छन् । यसले बहुभाषी शिक्षाको विकासमा फड्को मारेको पाइन्छ । यस्ता संवैधानिक आधार प्राप्त गरिसकेको भाषिक आधारले हामी सबैको मौलिक सभ्यतालाई विकास गर्न सक्नु पर्छ । हाम्रा सांस्कृतिक मान्यतालाई वैज्ञानिक ढङ्गबाट पुष्टि गरी संसारसामु पस्किएर सबैको ध्यान खिच्न सक्नु पर्छ । हाम्रा सामाजिक मूल्यमान्यतासँग संसारलाई लोभ्याउन सक्ने ताकत रहेको छ । आफ्नो सभ्यताको विकास गरेर देशलाई आर्थिक रूपमा सम्पन्न बनाउनुका साथै हाम्रो पहिचान विश्वभर पु¥याउन सकिन्छ ।
विविध जाति समुदाय आपसमा मिलेर बस्नु, जाति, भाषा, धर्म, भूगोल आदिको साँघुरो घेराबाट माथि उठेर परस्परमा सहयोग गर्नु नै पारस्परिक समझदारी हो । यसो गर्दा समाजमा माया, ममता, स्नेह, दया, करुणा, प्रेम, सद्भाव जस्ता भावना जागृत हुन पुग्छन् । यसले भाषिक विकासमा टेवा पु¥याउँछ । सुख–दुःख, हर्ष, विस्मात, रिस आदि मनोभावले नबिथोलिएको मानसिक स्थिति, शान्त वा स्थिर अवस्था नै शान्ति हो । शान्ति नभएसम्म मानिसले सोचेको र चाहेको जस्तो विकास, प्रगति एवं उन्नति सम्भव हुँदैन । बाँच र बचाऊँ, सर्वे भवन्तु सुखिनः, विश्व बन्धुत्वको भावना जस्ता आदर्श मूल्यहरूको मर्म बुझेर सबैसँग सुमधुर सम्बन्ध कायम गर्नु, कसैसँग रिसराग नगर्नु शान्तिको परिचायक हो । सहिष्णु रहनु, कर्मशील बन्नु, परोपकारी हुनु, धर्मो रक्षति रक्षतः जस्ता भावना अनुसरण गर्नु मानवीय असल कार्य हो । यस्ता तमाम भावनाको विकास गर्न सर्वप्रथम भाषाको विकास हुनु पर्छ ।
भाषिक, सांस्कृतिक विविधतामा विभक्त समुदायलाई एकतामा बाँध्ने काम भाषाले नै गर्छ । भाषा शान्ति र समृद्धि एक आपसमा निर्भर रहन्छन् । जसलाई सन्तुलनमा राख्न राजनीतिले विशेष भूमिका खेलेको हुन्छ । दिगो विकासका लक्ष्यहरू पूरा गर्न भाषिक विविधता र बहुभाषिकताको भूमिका महत्वपूर्ण हुने भएकाले शिक्षामार्फत भिन्न भाषिक सांस्कृतिक समुदायबिच असल सम्बन्ध, सद्भाव र सहकार्यको वातावरण तयार पार्नु पर्छ । कुनै पनि भाषालाई दोस्रो भाषाको रूपमा सोझै ग्रहण गर्नु पर्दा विद्यार्थीमा सम्प्रेषणीयताको अभाव हुनु वा शिक्षकले कक्षामा भाषा प्रयोग गर्दा कसैका लागि अति सरल र कसैका लागि अति कठिन हुनाले मातृभाषा प्रयोगमा समस्या देखा परेको छ । जसको लागि बहुभाषिक कक्षा सञ्चालन गर्न भाषिक परीक्षण हुनु पर्छ । बहुभाषा शिक्षण परीक्षण गर्न र मूल्याङ्कन व्यवस्थित गर्न प्रश्न निर्माणमा ध्यान दिनु पर्छ । कक्षाकार्य गृहकार्यमा विशेष ख्याल गर्नु पर्छ । निरन्तर प्रेरणा, हौसला, पृष्ठपोषण, प्रदान गर्दै विभिन्न विधि अपनाएर शिक्षण गर्दा सिकाइ उपलब्धि राम्रो बनाउन सकिन्छ ।
देशभित्र नेपाली भाषालाई संरक्षण, संवर्धन र विकासमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्यक्रम तयार गरेर अझ विकसित र सम्पन्न बनाउनु पर्छ । देशभर छरिएर रहेका अरू राष्ट्रिय भाषाको विकासमा पनि त्यत्तिकै ध्यान दिई पाठ्यक्रम, पाठ्यपुस्तक निर्माण गरी प्रयोगमा ल्याउनु पर्छ । भाषाको विकाससँगसँगै कला, संस्कृति एवं सभ्यताको विकास हुनै पर्छ । प्राकृतिक एवं सांस्कृतिक रूपमा दुलही झैँ सिँगारिएको हाम्रो देशलाई भाषिक रूपमा विज्ञान र प्रविधिसँग जोडेर विकास गर्न सकेमा हाम्रो देश समृद्ध बन्न धेरै समय लाग्दैन । भाषा मानव विकासको मुख्य आधार हो । भाषामा सिप विकास गरी सिपलाई आधुनिक प्रविधिमैत्री बनाई वैज्ञानिक ढङ्गबाट प्रमाणित गरेर अगाडि बढ्नु पर्ने कुरामा हामी सबैको ध्यान केन्द्रित हुन अत्यन्त जरुरी छ ।