• ४ पुस २०८१, बिहिबार

च्याउबाट वार्षिक ३० लाख कमाई गर्दै देवेन्द्र

blog

हरिप्रसाद कोइराला 

उर्लाबारी, कात्तिक ३० गते । मोरङको उर्लाबारी –७ का ४२ वर्षीय देवेन्द्र बस्नेत च्याउको व्यावसायिक उत्पादनमा लाग्नु भएपछि वार्षिक ३० लाख बढी कमाइ गर्दै आउनुभएको छ । 

अहिले बाह्रै महिना च्याउ खेती गर्न सकिने प्रविधि भित्रिएको छ । स्थानीय ६० जनालाई रोजगार दिएर दैनिक एक हजार दुई सय किलो च्याउ उत्पादन गरिरहनुभएका बस्नेत वार्षिक खर्च कटाएर ३० लाख रुपियाँ आम्दानी हुने गरेको बताउनुहुन्छ । कुनै कुनै वर्ष घाटा हुन्छ । मौसम प्रतिकूल हुँदा लगातार दुई वर्ष १५ लाख र २५ लाख घाटा भएको बस्नेतको भनाइ छ । 

बस्नेतको आधुनिक च्याउ उद्योगले हाल उर्लाबारी बाहेक मोरङकै टाँडी,बेलबारी र गछियामा पनि च्याउ उत्पादन गरिरहेको छ । अहिले च्याउ मात्र होइन । च्याउको बीउ पनि उत्पादनमा लाग्नुभएका बस्नेतले कोशी प्रदेशका १० जिल्ला र मधेसका केही जिल्लामा बीउ बिक्री गरिरहनुभएको छ । विगतमा भारतबाट बीउ आउने गर्थ्याे । हाल नेपाली उत्पादनले नपुग्दा मात्र भारतीय बीउ आउने गरेको उद्योगका व्यवस्थापक भूमिका बस्नेतले बताउनुभयो । बस्नेतका अनुसार हाल उद्योगले २ सय ग्रामका ५ सय पोका बीउ उत्पादन गरिरहेको छ । 

भूमिकाले भन्नुभयो – १० पोका च्याउ उत्पादनबाट व्यवसाय सुरु गर्नुभएको रहेछ । हाल २ करोड रुपियाँ उद्योगमा लगानी भइसकेको छ । उद्योगले आफ्नो उत्पादन मात्र होइन , आफूसँग बीउ खरिद गरेर व्यावसायिक उत्पादन गर्ने किसानको उत्पादन पनि खरिद गरिदिने गरेको छ । 

बस्नेतसँग ५ वटा गाडी छन् । झापाका विभिन्न गाउँ र मोरङमा आफूले उत्पादन गरेको च्याउ सङ्कलन र बजारीकरणका उहाँले ती गाडी प्रयोग गर्नुहुन्छ । हाल च्याउ उत्पादनको मुख्य सिजन हो । यति बेला किसानको बारीमा तरकारी पनि प्रशस्त उत्पादन हुन्छ । त्यसैले हाल च्याउको मूल्य घटेको छ । व्यवस्थापक बस्नेतले भन्नुभयो –तेस्रो र चौथो पटक टिपेको च्याउ प्रति केजी सय रुपियाँमा बिक्री गर्दा पनि घाटा लाग्दैन । सबैतिरका किसानको सङ्कलन गर्दा दैनिक ३ हजार देखि ३५ सय किलो च्याउ उद्योगमा जम्मा हुन्छ ।   

बस्नेतको संयुक्त परिवारमा १२ जना हुनुहुन्छ । ६ जना छोराछोरी बाहेक सबै च्याउ, उत्पादन, बजारीकरण र प्रवर्द्धनमा जुट्नु भएको छ । सञ्चालक देवेन्द्र बस्नेतले भन्नुभयो – हाम्रो सबै थोक यही हो । यसैमा भविष्य देखेर ठुलो लगानी गरिसक्यौँ । अब पछाडि फर्कने अवस्था छैन ।

कोशी प्रदेशमा पहिलो पटक  बोयल प्रविधिबाट उत्पादन सुरु गर्नु भएका बस्नेतले  एकै पटकमा ६ वटा ड्रममा पराल बोयल गर्नु हुन्छ ।यो प्रविधिबाट ७० प्रतिशतसम्म इन्धन बचत गर्न सकिने देवेन्द्रको भनाइ छ । आफ्नै देशमा केही गरौँ भन्ने उद्देश्यले विगत १८ वर्षदेखि च्याउ खेती गर्दै आउनुभएका देवेन्द्रलाई  ४ वर्ष साउदी अरब बसेर आएका भाइ गोपालले पनि भरपुर साथ दिनुभएको छ । 

व्यावसायिक सफलता हात लागेपछि बस्नेतलाई कृषि ज्ञान केन्द्र मोरङले १५ लाख रुपियाँ अनुदान पनि दिएको छ । त्यसयता बस्नेतले व्यवसायबाट मान,सान र दाम बटुलिरहनुभएको छ । 

२०५३ सालमा झापा बाहुनडाँगीका हिरन्य भट्टराईसँग च्याउ खेतीका बारेमा औपचारिक प्रशिक्षण लिनुभएका देवेन्द्र सफल च्याउ किसानका रूपमा पूर्वमा कहलिनुभएको छ ।उहाँले उत्पादन गरेको च्याउ कोशी प्रदेशभरि र मधेश प्रदेशसम्म पुग्ने गरेको छ ।  बढी उत्पादन हुँदा च्याउलाई ड्राई (सुकुटी) बनाउने प्रविधि ल्याउन सके च्याउ कुहिएर नाश हुने थिएन , बस्नेतले भन्नुभयो ।