• १० मंसिर २०८१, सोमबार

चीन भ्रमण सम्पन्न गरी मुख्यमन्त्री आचार्य स्वदेश फिर्ता

blog

गणेश खनाल 

अर्घाखाँची, कात्तिक २९ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री स्वदेश फर्किनु भएको छ । चीनको सिचुआन प्रदेश सरकारले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएर मुख्यमन्त्री चेतनारायण आचार्य बिहीवार स्वदेश फर्किनु भएको हो । 

कार्तिक २६ गते मुख्यमन्त्री सोमवार त्यसतर्फ जानु भएको थियो । सिचुआन प्रदेशका वैदेशिक विभागका उपमहानिर्देशक पाङग्वाङ ल्याङले तियान्फु विमानस्थल पुगेर मुख्यमन्त्री आचार्यसहितको प्रतिनिधि मण्डलको विदाइ गर्नु भएको थियो । स्वदेश फर्कनु भएका मुख्यमन्त्री आचार्यले सम्मेलनमार्फत लुम्बिनी प्रदेशको समृद्धि र विकासका एजेण्डाहरु स्थापित गर्न सफल भएको बताउनुभयो । 

‘सम्मेलन मार्फत लुम्बिनी प्रदेशको विकासको एजेण्डा र भावी योजनाको बारेमा ध्यानाकर्षण गराउन सफल भयौं’ उहाँले भन्नुभयो, ‘लुम्बिनीमा हुने लगानी सम्मेलनको वातावरण निर्माणदेखि विदेशी लगानीकर्तालाई आकर्षीत गर्ने सवालमा यो भ्रमण ऐतिहासिक रह्यो ।’ 

सिचुआन प्रदेश र लुम्बिनी प्रदेशको विचमा भएको मितेरी सम्वन्ध पुनरताजगी भएको, भ्रमणले लुम्बिनीमा लगानी भित्र्याउन वातावरण निर्माण गर्न सफल भएको, नवीन पर्यटनमैत्री योजना र पूर्वाधार निर्माण तथा सिचुआनको देयाङ नगरसँग लुम्बिनीका नगरपालिकाको मितेरी सम्वन्ध स्थापना गर्नेबारेमा योजना बनाउन सफल भएको भ्रमण दलमा सहभागी मुख्यमन्त्रीका स्वकीय सचिव कुशल भुसालले जानकारी दिनुभयो । 

नवलपरासी पश्चिम र कपिलवस्तु जिल्लालाई बुद्ध सर्किटसँग जोड्ने योजनालाई कार्यान्वयनमा ल्याउन मोनोरेल सञ्चालनबारे अध्ययनका लागि विदेशी लगानीकर्ता समक्ष योजना अघि सार्नु भएको थियो । प्रदेश राजधानी शहर निर्माण आयोजना, भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी र प्रदेश राजधानी शहर राप्ती देउखुरी जोडन आवस्यक पर्ने सुरुङमार्ग निर्माण, बुद्ध सर्किटमा पर्ने बिभिन्न स्थलमा पर्यटन भौतिक पूर्वाधार निर्माण र मोनोरेल, लुम्बिनी प्राबिधिक बिश्वबिद्यालयका लागि चिनिया प्राविधिक बिश्वबिद्यालयको आवस्यक सहयोग, चिनिया बिधायन पद्धति र सिकाइका आधारमा लुम्बिनी प्रदेश सभाका सभासदहरुको क्षमता अभिवृद्धिका लागि आवस्यक सहयोग बिषयमा ध्यानाकर्षण गराइएको थियो । 

सम्मेलनमा मुख्यमन्त्री आचार्यसहित आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव महादेव पन्थ, मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार डा. रामबहादुर राउत, स्वकीय सचिव कुशल भुसाल, विज्ञ सल्लाहकार डा. सागर न्यौपाने र मुख्यमन्त्रीकी श्रीमती दिपा आचार्य सहभागी हुनुहुन्थ्यो । 

विसं २०७६ सालमा प्रदेश सरकार र सिचुआन प्रान्तविच भगेनी सम्वन्ध कायम गरिएको थियो । तत्कालीन मुख्यमन्त्री शंकर पोख्रेलले सिचुआन प्रान्तविच भगेनी सम्वन्ध कायम गर्नुभएको थियो । कृषि, उद्योग, पर्यटन लगायतका क्षेत्रमा लुम्बिनी प्रदेश सरकार र सिचुआन प्रान्तविच सहयोग आदानप्रदान गर्ने समझदारी भएको थियो ।