• १८ पुस २०८१, बिहिबार

रणनीतिक योजना अगाडि बढाउनुपर्छ : सभापति देउवा

blog

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा बसेको जिल्ला कार्यसमिति डडेलधुराको बैठक । तस्बिर : पुष्कर भण्डारी

पुस्कर भण्डारी

डडेल्धुरा, कात्तिक २९ गते । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रणनीतिक योजना अघि बढाउनुपर्ने बताउनुभएको छ । सभापति देउवाको प्रमुख आतिथ्यमा बिहीबार नेपाली कांग्रेस जिल्ला कार्य समितिको बैठकमा उहाँले डडेलधुरालगायत सुदूरपश्चिम प्रदेश विकासका लागि सरकारले सुरु गरेका रणनीतिक योजना तत्काल अघि बढाउनु पर्ने बताउनुभएको हो । 

पश्चिमसेती जलविद्युत योजना, डडेल्धुरामा हवाई मैदान, दैजी–लिप्ना–जोगबुडा–चिर्किट्टे–बझाङ जोड्ने सडक, डडेलधुरा मेडिकल कलेज लगायतका योजना अगाडि बढाउन सबैले लाग्नुपर्ने बताउनुभयो । 

सरकारका रणनीतिक योजनामा कांग्रेसले सघाउनु पर्ने भन्दै उहाँले नेता कार्यकर्तालाई निर्देशन दिनुभएको कांग्रेस जिल्ला कार्य समिति डडेलधुराका सचिव हेमराज चटौतले जानकारी दिनुभयो । उहाँका अनुसार कञ्चनपुरको दोधारा चाँदनीमा निर्माणाधीन सुक्खा बन्दरगाहको कामले पूर्णता पाउने गरी सरकारले काम गरिरहेको बताउनुभएको थियो । 

बैठकमा कांग्रेसको सय दिने सङ्कल्प यात्राबारे चर्चा भएको थियो । सभापति देउवाले सङ्कल्प यात्राको उद्देश्यअनुसार काम गर्न नेता कार्यकर्तालाई निर्देशनसमेत दिनुभएको उहाँले बताउनुभयो । कांग्रेस पार्टीको नेतृत्वमा देशमा प्रजातन्त्र आएको उल्लेख गर्दै उहाँले लोकतन्त्र र सङ्घीयताको रक्षाका लागि कांग्रेस नेता कार्यकर्ताले अहम् भूमिका खेल्नुपर्ने बताउनुभयो ।  

कात्तिक २६ गते गृह जिल्ला डडेलधुरा पुग्नुभएका देउवा विभिन्न देवीदेवताको पूजाआजा दर्शनसँगै कार्यकर्ता भेटघाटमा व्यस्त रहनुभएको छ । यहाँका स्थानीय तहका जनप्रतिनिधि, कार्यकर्ता एवं विभिन्न राजनैतिक दलहरूले जनताका सहजताका लागि विभिन्न माग राख्दै योजनाहरू निर्माण गर्न मागपत्र बुझाउनु भएको छ । 

बिहीबार कांग्रेस जिल्ला कार्यसमितिको बैठकपछि सभापति देउवा अजयमेरु गाउँपालिका –१ पुइलेक र २ को चमडामा पुगी कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको उहाँका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार सभापति देउवा जन्मथलो गन्यापधुरा गाउँपालिका –१ रुवाखोलामा रहेको असियु देवताको पूजाआजा गर्ने कार्यक्रम रहेको छ ।