• २३ मंसिर २०८१, आइतबार

सरुमारानीमा आँखा उपचार केन्द्र स्थापना

blog

सलिम मियाँ

बिजुवार, कात्तिक २९ गते । प्युठानको सरुमारानी गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना गरिएको छ । तिलगङ्गा आँखा प्रतिस्ठानको साझेदारीमा आँखाका रोगीलाई लक्षित गरी केन्द्र स्थापना गरिएको पालिकाका पदाधिकारीको भनाइ छ । 

पालिका उपाअध्यक्ष वसन्ता खड्काले औपचारिक रुपमा आँखा उपचार केन्द्रको उद्घाटन गर्नुभयो । केन्द्रको उद्घाटन गर्दै पालिका उपाध्यक्ष खड्काले नजिकै उपचार केन्द्र  सञ्चालन भएपछि आँखाको जाँच गराउन सुविधाको उपभोग गर्न सबैलाई अनुरोध गर्नुभयो ।

सरुमारानी –२ मा स्थापना गरिएको केन्द्रमा पालिकाका ६ वटै वडा, माण्डिब र ऐरावती गाउँपालिका तथा अर्घाखाँचीको शितगंगा नगरपालिका क्षेत्रका आँखाको समस्या भएका बिरामीले उपचार लिन सक्ने बुझिएको छ । 

यसअघि सामान्य आँखाको उपचार गर्न महँगो रकम खर्चेर दाङको भालुबाङ पुग्नुपर्ने बाध्यता थियो । कित वर्षको एक पटक हुने आँखा शिविरको प्रतीक्षा गर्नुपर्थ्याे । टाढा गएर उपचार गराउन आर्थिक अवस्थाले नभ्याउने भएकाले नागरिकको स्वास्थ्य उपचारका लागि पालिकामै आँखा उपचार केन्द्र सञ्चालन गरेको उपाध्यक्ष खड्काको भनाइ छ ।

अहिले केन्द्रमा १ जना नेत्र सहायक र १ जना कार्यालय सहयोगीले सेवा प्रदान गर्ने र आवश्यकताअनुसार जनशक्ति थप गर्दै लैजाने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले बताउनुभयो । उहाँका अनुसार पालिकाले आँखा उपचार केन्द्र सञ्चालन कार्यविधि बनाएको छ । 

केन्द्रमा आँखा रोग विशेषज्ञको व्यवस्थापन पालिकाले गरेको छ । औजार उपकरण र अन्य प्राविधिक सहयोग  तिलगङ्गा आँखा प्रतिस्ठानले गरेको छ । केन्द्रमा आँखाको दैनिक जाँच, चश्माको जाँच तथा बिक्री वितरण यहीँबाट हुनेछ । यसअघि जिल्लाको स्वर्गद्वारी नगरपालिका र गौमुखी गाउँपालिकाले समेत आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएका छन् ।